“माथिका कुराहरूको खोजी गर” भनिएको बाइबलको वचनअनुसार हाम्रा सबै सन्तहरूले आफ्नो मन यस पृथ्वीका कुराहरूभन्दा परमेश्वरका कुरामा बढी लगाइरहेका छन् (कल ३:१) । कठिनाइलाई कठिनाइको रूपमा नलिई पितामा मात्र भरोसा गरेर सुसमाचार पूरा गर्ने कार्यमा आफूलाई समर्पित गर्ने त्यो शक्तिचाहिँ मुक्तिको मूल्य र स्वर्गको मूल्य जानेमा आउँछ । यस पृथ्वीका कुराहरू क्षणिक हुन् र ती सबै केही समयपछि बितेर जान्छन्, तर हाम्रा परमेश्वरमा विश्वास गरेर हामीले प्राप्त गर्ने अनन्त जीवन र स्वर्ग-राज्यचाहिँ अनन्त भएकोले हामीले स्वर्गका कुराहरूको खोजी गरेर त्यसमा आफ्नो मन लगाउनुपर्छ ।
येशूज्यूले निस्तार-चाडको दिनमा रोटी दिनुभएर “यो रोटी मेरो शरीर हो,” अनि कचौरा दिनुभएर “यो नयाँ करारको मेरो रगत हो” भन्नुभई उहाँको देह खाने र रगत पिउने जो कोहीले अनन्त जीवन पाउनेछ भनेर भन्नुभयो (मत्ती २६:१७-२८; यूह ६:५३-५७) । यी वचनद्वारा नै हामीले अनन्त जीवन पायौं । अमरणशील हुनुभएका परमेश्वरको देह र रगत निस्तार-चाडद्वारा खाने र पिउनेहरूले मात्र जीवन पाएर सदाकाल जिउँनेछन् । येशूज्यूले “परमेश्वरलाई आफ्नो सारा हृदय, सारा प्राण र सारा समझले प्रेम गर र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, त्यसो गऱ्यौ भने तिमीले अनन्त जीवन पाउनेछौ” भन्नुभएर असल सामरीको दृष्टान्तबारे जानकारी दिनुभयो । कुनै एक जना मानिस डाँकूहरूको हातमा फेला पऱ्यो र तिनीहरूले त्यसलाई पिटेर अधमरो छोडेर गए । त्यही बाटो भएर गइरहेको पूजाहारीले त्यस मानिसलाई देखेर अर्कोपट्टि तर्केर गयो र लेवी पनि त्यत्तिकै त्यहाँबाट तर्केर गयो । तर एक असल सामरीले भने त्यस मानिसप्रति दया देखायो । यसरी येशूज्यूले यो दृष्टान्तद्वारा, आफ्ना छिमेकीहरूलाई प्रेम गर्नु भनेको डाँकूहरूको हातमा फेला परेर मर्न लागेका ती दयालाग्दा आत्माहरूलाई बचाउनु हो भन्ने शिक्षा दिनुभयो । अनि उहाँले “जाओ तिमी पनि त्यसै गर” भन्नुभयो (लूक १०:२५-३७) ।
यस संसारमा अझै पनि नयाँ करार निस्तार-चाडको छाप नपाएका र जीवन नपाएका मानिसहरू थुप्रै छन् । वर्तमान समयमा घातक विपत्तिहरू, असामान्य मौसम, भूकम्प, युद्ध, आतंक, रोग र दुर्घटनाहरू तथा अन्य विभिन्न विपत्तिहरूका कारण मानिसहरूले मृत्युको सामना गरिरहेका छन् । नयाँ करार निस्तार-चाडको बारेमा घोषणा गरेर मरिरहेका ती मानिसहरूलाई चाँडै बचाऔं । मरिरहेका मानिसहरूप्रति दया देखाउन जान्ने व्यक्ति नै परमेश्वरको सन्तान हो नि, होइन र ? ती मानिसहरूलाई सुसमाचार नसुनाउनु भनेको नै डाँकूहरूको हातमा फेला परेर मर्न लागेको मानिसलाई देखेर पनि यत्तिकै तर्केर जानुसरह हो । मर्न लागेको त्यस मानिसलाई बचाएको सामरीचाहिँ, माथिका कुराहरू अर्थात् स्वर्गका कुराहरूको खोजी गर्ने व्यक्ति हो ।
बाइबलमा हाम्रो जीवनचाहिँ, ‘केही बेरको लागि देखा परेर हराइहाल्ने तुवाँलो’जस्तै हो र यस पृथ्वीमा हामीहरू परदेशी र प्रवासीहरू हौं भनिएको छ (याक ४:१४; २ पत्र २:१७; हिब ११:१३-१६) । हाम्रो वास्तविक गृहनगर, स्वर्ग-राज्यमा कुनै चिन्ता, शोक, पीडा र मृत्यु नै हुनेछैन (प्रका २१:३-४) । पिताले, त्यो अनन्त महिमाको संसारमा हामीहरू राजकीय पूजाहारीगिरीको रूपमा सदासर्वदा राज्य गर्नेछौं भनेर प्रतिज्ञा गर्नुभएको छ (प्रका २२:५)। दुःख र शोक सदाको लागि हराएर जाने र हामीले यस पृथ्वीमा कल्पना नै गर्न नसक्ने अत्यन्तै सुन्दर ठाउँ पिताले हामीलाई स्वर्ग-राज्यको उत्तराधिकारको रूपमा दिनको निम्ति अहिले तयार पार्दैहुनुहुन्छ (१ कोर २:९) ।
स्वर्ग-राज्यमा जानको निम्ति हामीले अनन्त जीवनको रहस्य हुनुभएका ख्रीष्टलाई खोज्नुपर्छ (कल १:२६-२७, २:२-३; १ यूह २:२५) । हामीले अनन्त जीवनको रहस्य भेट्टाएका छौं । पिताले नयाँ नाउँ लिएर आउनुभई हामीलाई अनन्त जीवनको फल खुवाउनुभएर एउटा मिसन सुम्पनुभयो । उहाँले हामीलाई “आफू मात्र बाँच्ने होइनकि गएर सबै जातिहरूलाई यो पालन गर्न सिकाओ, अनि सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी होओ” भन्नुभयो । अनन्त जीवनको यो रहस्य हाम्रा छिमेकीहरूमाझ पनि लगनशीलतापूर्वक बाँडौं । कुनै पनि किसिमको भयावह विपत्ति आइलाग्नु अगावै मानिसहरूलाई बाँच्ने बाटो चाँडै थाहा दिऔं (इज ७:५-७, यशै २४:१-५) ।
धेरै अगमवक्ताहरूले मुक्तिको मूल्य जानेर आफ्नो सारा हृदय र प्रारणले परमेश्वरमाथि विश्वास गरेकाले तिनीहरू सबै अहिले स्वर्गमा छैन् नि, होइन र ? मोशाले यस पृथ्वीमा पापको क्षणिक सुख भोग्नुभन्दा परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न रोजे । तिनले मिश्रको धन-दौलतभन्दा ख्रीष्टको निम्ति निन्दित हुने कुरालाई मूल्यवान् सम्पत्ति ठाने (हिब ११:२४-२६) । प्रेरित पावलले पनि मुक्तिको मूल्य बुझेकाले, सुसमाचार सुनाउने क्रममा तिनले आफ्नो जीवनलाई कुनै मोलको ठानेनन् (प्रे २०:२३-२४) । तिनमा माथिका कुराहरूको निम्ति रोप्ने दृढ संकल्प थियो । तिनले थुप्रै कठिनाइहरूको सामना गरे तापनि वर्तमान समयका कष्टहरू हामीमा प्रकट हुने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने कुरा तिनलाई थाहा थियो (गला ६:७-८; रोम ८:१६-१८) । हामीले स्वर्गका कुराहरूको निम्ति रोप्यौं भने अनन्त जीवनको कटनी गर्नेछौं र अनन्त जीवन पाउने स्वर्गमा गएर हामीले महिमा पनि प्राप्त गर्नेछौं । स्वर्ग-राज्यमा गएर उपभोग गर्ने त्यो महिमाको निम्ति हामीहरू सबै माथिका कुराहरूको निम्ति जिऔं । अनन्त जीवन दिने नयाँ करार निस्तार-चाड र पिता आन साङ होङज्यूको नाउँबारे लगनशीलतापूर्वक सुनाएर धेरै आत्माहरूलाई धार्मिकतामा डोऱ्याऔ । यसरी यहाँहरू सबैको नाउँ स्वर्ग-राज्यमा सदासर्वदाको निम्ति चम्किरहोस् भनी आशा गर्दछु ।