बाइबलले गवाही दिएको माता परमेश्वर :
उत्पत्तिदेखि प्रकाशसम्म

53533भ्यु

माता परमेश्वरचाहिँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जसले पिता परमेश्वरसँगै स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो । उहाँलाई स्वर्गीय माता वा आत्मिक माता पनि भनिन्छ । बाइबलले परमेश्वरको अस्तित्वलाई पिता र माता भनेर वर्णन गरेको छ । मानव-जातिलाई पिता परमेश्वरबारे लामो समयदेखि नै थाहा थियो, तर अगमवाणीअनुसार अन्त्यका दिनहरूमा माता परमेश्वरबारे थाहा दिइनेछ । त्यसैले मानिसहरूमाझ केवल पिता परमेश्वर मात्र हुनुहुन्छ भन्ने अवधारणा छ । मुक्तिदाताको विषयमा गवाही दिएको एक मात्र पुस्तक बाइबलमा, उत्पत्तिदेखि प्रकाशसम्मै माता परमेश्वरको विषयमा गवाही दिइएको छ ।

एलोहिम र माता परमेश्वर

हिब्रू भाषामा लेखिएको पुरानो करार बाइबलमा परमेश्वर वा ईश्वर भन्ने शब्दलाई एल (אֵל), एलोआ (אֱלוֹהַּ), र एलोहिम (אֱלֹהִים) भनेर प्रयोग गरिएको छ, जसमध्ये सबैभन्दा बढी प्रयोग गरिएको शब्द नै एलोहिम हो । एलोहिमचाहिँ बहुवचन शब्द हो जसलाई ईश्वरहरू वा परमेश्वरहरू भनेर व्याख्या गरिन्छ । यसको अर्थ नै परमेश्वर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने कुरा हो । ‘आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने बाइबलको पहिलो वाक्यंश र पुरानो करारमा समेत करीब २,५०० पटक एलोहिम भन्ने शब्द प्रयोग गरिएको छ । योचाहिँ धेरै प्रयोग हुने अभिव्यक्ति हो । सृष्टिकर्ता परमेश्वरलाई बहुवचनमा अभिलेख गरिएको कारणबारे उत्पत्ति १:२६-२७मा देख्न सकिन्छ ।

अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं … ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत १:२६-२७

परमेश्वरले मानिस बनाउनुहुँदा, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो । यसरी परमेश्वरको स्वरूपमा नर र नारी सृष्टि भए । यसले परमेश्वर नर र नारी दुवै स्वरूपमा हुनुहुन्छ भन्ने यथार्थतालाई स्पष्टसँग जानकारी दिएको छ । यदि पिता परमेश्वर मात्र अस्तित्वमा हुनुभएको भए उहाँले आफूलाई व्यक्त गर्नुहुँदा ‘हामी’ र ‘हाम्रै’ भन्ने बहुवचन शब्द प्रयोग नगर्नुभएर ‘मेरै’ भन्ने एकवचन शब्द प्रयोग गर्नुपर्थ्यो । तर परमेश्वरले लगातार ‘हाम्रै’ भनेर जोड दिनुभएको कारणचाहिँ परमेश्वर दुई जना अर्थात् पिता परमेश्वर र माता परमेश्वर हुनुभएकोले गर्दा हो । नयाँ करारमा पिता परमेश्वरको विषयमा उल्लेख गरिएजस्तै (मत्ती ६:९) माता परमेश्वरको विषयमा पनि सीधै उल्लेख गरिएको छ ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

माथिको यरूशलेम अर्थात् स्वर्गीय मन्दिरले माता परमेश्वरलाई सङ्केत गर्दछ । यहाँ ‘हाम्री’ भन्नाले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ । अन्त्यका दिनहरूमा मुक्तिको आशिष् पाउने सन्तहरूचाहिँ एलोहिम परमेश्वर अर्थात् पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गरी ग्रहण गर्ने परमेश्वरका सन्तानहरू हुन् । बुबा-आमा र सन्तानचाहिँ परिवारका सदस्यहरू हुन् । स्वर्गीय परिवारमा पनि बुबा-आमा र सन्तानहरू हुन्छन् । आमाविना सन्तान जन्मन सक्दैन र सन्तानविना कोहि पनि बुबा बन्न सक्दैन । हामीले परमेश्वरलाई ‘पिता’ भनेर बोलाउनुको कारणचाहिँ माता परमेश्वर अस्तित्वमा हुनुभएकोले गर्दा हो ।

स्वर्गीय विवाह-भोजकी दुलही

२,००० वर्षअघि येशूज्यूले विवाह-भोजको दृष्टान्तद्वारा माता परमेश्वरको अस्तित्वबारे जानकारी दिनुभयो । उहाँले स्वर्गको राज्यलाई विवाह-भोजमा प्रवेश गर्ने कुरासँग दृष्टान्त गर्नुभयो जहाँ विवाह-भोज तयार गर्ने राजाले परमेश्वरलाई, दुलहाले येशूज्यूलाई र निमन्त्रणा पाउनेहरूले चाहिँ सन्तहरूलाई जनाउँछ (मत्ती २२:१-१४) । यहाँ दुलही उल्लेख नगर्नुको कारणचाहिँ उहाँ अस्तित्वमा नहुनुभएकोले होइनकि उहाँ प्रकट हुनुहुने समय नभएकोले गर्दा हो । यदि मुख्य पात्र भएकी दुलहीको अस्तित्व नहुने हो भने विवाह- भोजलाई स्वर्गसँग तुलना गर्न असम्भव हुनेथियो । प्रकाशको पुस्तकमा अगमवाणीको समय र दुलहीको स्वरूपबारे अभिलेख गरिएको छ ।

“किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” . . . अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” प्रका १९:६-९

थुमाकी पत्नी अर्थात् दुलही देखा पर्नुभएपछि विवाह-भोज सम्पन्न हुन्छ । थुमाले येशूज्यूलाई (यूह १:२९) जनाउँछ र त्रिएकअनुसार पिता परमेश्वरलाई पनि जनाउँछ । बाइबलले दुलहीचाहिँ स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम हुनुहुन्छ (प्रका २१:९-१०), र उहाँ नै ‘हाम्री आमा’ हुनुहुन्छ (गला ४:२६) भनेर वर्णन गरेको छ । तसर्थ उचित समयमा देखा पर्नुहुने विवाह-भोजकी दुलही नै माता परमेश्वर हुनुहुन्छ । यो दृष्टान्तलाई बुझेर पिता परमेश्वर र माता परमेश्वरकहाँ आउने मानिसहरूचाहिँ विवाह-भोजमा निमन्त्रणा पाएका आशिषित मानिसहरू हुन् । उनीहरू आशिषित हुनुको कारणचाहिँ उनीहरू स्वर्गमा प्रवेश गर्न र अनन्त जीवन प्राप्त गर्न योग्यका भएकोले हो ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७

बाइबलको अन्त्यमा दुलही हुनुभएकी माता परमेश्वरलाई जीवनको पानी दिनुहुने व्यक्ति भनेर वर्णन गरिएको छ । जीवनको पानीले अनन्त जीवनमा डोऱ्याउने परमेश्वरको वचनलाई जनाउँछ ।

सृष्टिको प्रबन्ध र माता परमेश्वर

यो संसारमा सबै मानिसहरू आमा-बुबाद्वारा जन्मन्छन् । मानिस लगायत अरू प्रजातिहरूको सन्दर्भमा पनि उस्तै हो । आकाशमा उड्ने चरा र पानीमा पौड्ने माछाहरू सबैले आफ्नो आमा-बुबाद्वारा जीवन पाउँछन् । जमिनमा चलहल गर्ने जनावरहरू पनि उस्तै हुन् । विशेष गरी, जीवन जन्माउने कार्यमा आमाले मुख्य भूमिका निर्वाह गर्छिन् । सम्पूर्ण सृष्टिमा यस्तो प्रबन्ध राखिदिनुहुने व्यक्ति नै सम्पूर्ण थोकलाई सृष्टि गर्नुभएका परमेश्वर हुनुहुन्छ ।

“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।” प्रका ४:११

पृथ्वीका थोकहरू, स्वर्गीय थोकका नकल र छाया हुन् (हिब्रू ८:५) । बाइबलमा परमेश्वरको ईश्वरीय स्वभाव सम्पूर्ण सृष्टिको थोकमा छर्लङ्गै देखिएको छ भनेर भनिएको छ ।

परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ । उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन । रोम १:१९-२०

यस पृथ्वीका असंख्य जीवित प्राणीहरूलाई आफ्नो आमा-बुबाद्वारा जीवन पाउने गराउनुमा परमेश्वरको इच्छा के होला ? त्यो नै अनन्त जीवनचाहिँ पिता परमेश्वर र माता परमेश्वरद्वारा दिइन्छ भन्ने कुरा बुझाउनको निम्ति हो । हामीले परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो मानिस आदम र हव्वाको माध्यमद्वारा पनि परमेश्वरको इच्छालाई बुझ्न सक्छौं ।

आदमले आफ्नी पत्नीको नाउँ हव्वा (जीवन) राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । उत ३:२०

हव्वालाई ‘जीवन’ भन्ने नाउँ दिइएजस्तै केवल स्त्रीले मात्र गर्भधारण गरेर जीवन जन्माउन सक्छिन् । आदमले, मानव-जातिलाई मुक्ति दिन अन्त्यका दिनहरूमा आउनुहुने पिता परमेश्वरलाई सङ्केत गर्दछ (रोम ५:१४), र तिनकी पत्नी हव्वाले चाहिँ माता परमेश्वरलाई सङ्केत गर्दछिन् । हव्वालाई ‘जीवन’ नाउँ दिएर तिनी सबै जीवितहरूकी आमा भएको यथार्थताले सम्पूर्ण जीवन, हव्वाको वास्तविकता हुनुभएकी माता परमेश्वरद्वारा दिइन्छ भन्ने कुरा जनाउँछ । आफ्नो कोखबाट जन्मिएको सन्तानलाई आफ्नै जीवनझैँ प्रेम गर्ने संसारका प्रत्येक आमाको प्रेमले स्वर्गीय माताको प्रेमलाई झल्काउँछ ।

आमाको प्रेममा समर्पण, बलिदान र कष्ट समाविष्ट हुन्छ । पुस्तौँदेखि हस्तान्तरण हुँदैआएको आमाको प्रेमको मूल स्रोत नै स्वर्गीय माता हुनुहुन्छ । मानव-जातिले बाइबलद्वारा पिता परमेश्वरलाई खोजेर मुक्तिको आशा लिएजस्तै हामीले पनि उचित समयमा देखा पर्नुहुने माता परमेश्वरलाई खोज्नुपर्छ ।