सर्वप्रथम, आजको यो समयसम्म हामीलाई सुरक्षित र शान्त रूपमा परमेश्वरको सुसमाचारको कार्य गर्ने अनुमति दिनुभएका पितालाई धन्यवाद दिन चाहन्छु, अनि हाम्रा परिवारका सदस्यहरू खोज्ने कार्यमा सँगै एकताबद्ध भएका हाम्रा सियोनका सबै सदस्यहरूप्रति पनि म निकै आभारी छु । चिन्ताजनक र खतरनाक परिस्थितिहरू थुप्रै भए तापनि, अहिले पनि संसारमा युद्धका कारण धेरै मानिसहरू मरिरहेका छन् र ठूलो क्षति भोगिरहेका छन् । यी दिनहरूमा भइरहेका घटनाहरूका कारण संसार अस्थिर र अनिश्चितताले भरिएको जस्तो देखिन्छ । तैपनि हाम्रा सियोनका परिवार भने शान्तिमा छन् किनभने हाम्रा परमेश्वर, पिता आन साङ होङज्यूले हामीलाई सधैँ सुरक्षा गर्नुहुन्छ भन्ने कुरा हामी विश्वास गर्छौं ।
पिताले “तिमीहरूको विश्वासअनुसार होस्” भन्ने वचन दिनुभएकाले, यदि हामी साँच्चै स्वर्गको आशा गर्छौं भने हाम्रो विश्वास पनि स्वर्गमा प्रवेश गर्न योग्यको हुनुपर्छ (मत्ती ९:२७-३०) । हिजोको विश्वास र आजको विश्वासमा भिन्नता हुनुपर्छ, र आजको भन्दा भोलिको विश्वास फरक हुनुपर्छ । दिनप्रति दिन उस्तै हुनुभन्दा बरु, दिनप्रति दिन परिवर्तन हुनु अझ राम्रो होइन र ? बाइबलमा, विश्वासविना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ भनिएको छ (हिब्रू ११:६) । पिताको वचनजस्तै हामीहरू सधैं दृढ विश्वास लिऔं । पिताले, रायोको दानाजति विश्वास भयो भने सबै कुरा पूरा गर्न सकिन्छ भनेर भन्नुभएको छ (मत्ती १७:२०) । विश्वास यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा हो । हामीले १०० प्रतिशत विश्वासका साथ कार्य गऱ्यौं भने परमेश्वरको शक्तिद्वारा हासिल गर्न नसकिने कुरा केही पनि छैन । यहाँहरू सबैले विश्वासका साथ कार्य गर्दा र विश्वासविना कार्य गर्दाको भिन्नता अनुभव गर्नुभएको छ होला ।
हाम्रा सबै सन्तहरूले सुसमाचारको निम्ति कडा परिश्रम गरिरहेका छन् । पादरी कर्मचारीको रूपमा कार्य गर्न पाउनु साँच्चै विशेष आशिष् हो, तर पिता स्वयम्ले हिँडुभएको बाटो भएकोले यसमा धेरै बलिदान र धैर्यताको आवश्यक पर्छ । पादरी कर्मचारीहरूले सन्तहरूको हिफाजत गर्छन्, खाँचोमा परेका वा बिरामी भएकाहरूलाई सान्त्वना दिन्छन्, र बुबा-आमाले निरन्तर हेरचाह र समर्पणकासाथ आफ्ना सन्तानलाई हुर्काएजस्तै वचनद्वारा आत्माको हेरचाह गर्छन् । यस्तो कठिन कार्य पनि लगनशीलतापूर्वक गर्नुभएकोमा धन्यवाद । हाम्रा वयस्क पुरुष सदस्यहरूले मण्डली भित्र सधैं अदृश्य ठाउँमा रहेर कार्य गर्नुहुन्छ । दैनिक कार्यको कठिनाइलाई सहँदै आफ्नो व्यस्त तालिकाबाट समय निकालेर मण्डलीमा आई सहयोग गर्नुहुन्छ र अमूल्य फल पनि फलाउनुहुन्छ । वयस्क स्त्री सन्तहरूले आफ्नो छिमेकमा, जागिरे सदस्यहरूले आफ्नो कार्यक्षेत्रमा, विद्यार्थीहरूले विद्यालयमा र सैन्य सदस्यहरूले सेनामा प्रचार गर्छन् । यद्यपि, सुसमाचारको कार्य त्यति सजिलो कार्य होइन, यसमा सधैं कडा परिश्रम र बलिदान समावेश हुन्छ । यसरी फल फलाएको स्वरूप देखेर म यहाँहरूप्रति निकै गौरवान्वित महसुस गर्छु । परमेश्वरको वचनलाई लगनशीलतापूर्वक र सहृदयले पालना गर्नुभएको धन्यवाद ।
यो पृथ्वीको जीवन सजिलो छैन, त्यसैले म सधैँ स्वर्गको बारेमा मात्र सोच्ने गर्छु । कठिन र चुनौतीपूर्ण समयको समना गर्नुपरे तापनि हामीसँग स्वर्गको आशा छ नि, होइन र ? यो संसारका मानिसहरू आफू कहाँ गइरहेको छु भन्ने कुरा थाहै नपाई दैनिक जीवन जिइरहेका छन्, तर हामीहरू हिँडिरहेको यो बाटोले हामीलाई स्वर्गतर्फ डोऱ्याउँछ । हामीले जसरी हेरे पनि बाइबलमा हाम्रो हित हुने पिताको वचन समावेश भएकोले, हामीहरू स्वर्गको आशालाई दृढतापूर्वक पक्रेर लगनशीलतापूर्वक प्रार्थना गरी सक्दो कडा परिश्रम गरेर सुसमाचार प्रचार गरौं । त्यसो गरेमा पिताले निश्चय नै हामी सबैको प्रार्थना सुनिदिनुहुनेछ भनी म विश्वास गर्दछु ।
पिताले हामीलाई निरन्तर प्रार्थना गर्न भन्नुभएर ‘प्रार्थनाले बाहेक अरू कुनै उपयाले पूरा हुँदैन’ भन्ने वचन दिनुभयो (लूक २१:३६; मर्क ९:२८-२९) । प्रार्थनाचाहिँ एक चोटि गरेपछि नगरे पनि हुने कुरा होइन । हामीले, आज मात्र प्रार्थना गरे भइहाल्छ नि भन्ने सोचाइ लिनुहुँदैन । हामीले भोलि, पर्सि गरेर निरन्तर प्रार्थना गरेमा पिताले हाम्रो व्याकुल हृदय हेर्नुभएर ‘कति इमान्दारीतापूर्वक निरन्तर प्रार्थना गरिरहेका छन्, मैले चाँडै उनीहरूको प्रार्थनाको उत्तर दिनुपर्छ’ भनेर सोच्नुहुनेछ । यदि विश्वभरिका परमेश्वरका सन्तहरूले एकै मनका भएर व्यग्रतापूर्वक प्रार्थना गरे भने पिताले हाम्रा आशाहरू निश्चय नै चाँडै पूरा गरिदिनुहुनेछ ।
अगमवाणी गरिएको महाविपत्ति आउनुअघि नै निस्तार-चाडको छाप लगाएर धेरै मानिसहरूलाई मुक्तिमा डोऱ्याउने परमेश्वरका सन्तानहरू होऔं । यो वर्ष पनि, हाम्रा बाँकी रहेका स्वर्गीय परिवारका सदस्यहरूलाई निश्चय नै खोज्नेछौं भन्ने विश्वासका साथ कार्य गरौं । बाइबलमा पनि प्रार्थनाद्वारा आफ्ना आशाहरू पूरा गरेका अगमवक्ताहरू थुप्रै छन् । पिताको वचन एउटा पनि व्यर्थमा भुइँमा खस्दैन भन्ने वचन भएकोले हामीहरू आशाका साथ धेरै प्रार्थना गरौं (यशै ५५:१०-११) । साथै एकता र मेलमिलाप भएको ठाउँमा आशिष् दिइन्छ भन्ने पिताको वचनमा विश्वास गर्दै परिश्रमका साथ एकता र मेलमिलापको फल फलाएर पितालाई खुशी दिलाई स्वर्ग-राज्यमा गएर प्रशस्त इनाम प्राप्त गर्ने सियोनका सन्तहरू हुनुहोस् भन्ने आशा गर्दछु ।