परमेश्वरको प्रेम र अनुग्रहलाई महसुस गरेर आफूलाई सुसमाचारको कार्यमा समर्पण गरेका सियोनका परिवारलाई म सहृदयले धन्यवाद दिन चाहन्छु । यहाँहरू सबैले पवित्र आत्मा प्रशस्त मात्रामा प्राप्त गरेर थुप्रै फल फलाउनुहुनेछ भन्ने आशा गर्दछु ।
सियोनका सन्तहरूले परमेश्वरको इच्छाअनुसार असल कार्यहरूद्वारा परमेश्वरको महिमा प्रकट गरिरहेका छन् । “जाओ र सबै जातिहरूलाई चेला बनाओ, … मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्ने वचनअनुसार परमेश्वर आन साङ होङज्यूको महिमा साहसका साथ चम्काउन उनीहरूलाई सारा संसारमा पठाइन्छ । त्यो ज्योति देखेर परमेश्वरका रत्नजस्ता अमूल्य सन्तानहरू उहाँकहाँ ओइरिएर आइरहेका छन् (मत्ती २८:१८-२०; यशै ६०:१-८) । हामीले परमेश्वरको महिमालाई व्यापक रूपमा प्रकट गऱ्यौं भने स्वभावतः फल पनि प्रचुर मात्रामा फल्नेछ । परमेश्वरको महिमा प्रकट गरेको परिणामस्वरूप धेरै आत्माहरू सत्यताभित्र डोरिरहेका छन्, र ती नयाँ सन्तहरूले पनि पवित्र आत्माले भरिएर सुसमाचार आफूमा मात्र सीमीत नराखी अझ व्यग्रतापूर्वक र स्पष्ट रूपमा परमेश्वरको महिमाको गवाही दिइरहेका छन् ।
नयाँ करारको बाइबलमा देखा परेका विश्वासका अगमवक्ताहरूमध्ये पिताको महिमा धेरै प्रकट गर्ने व्यक्ति प्रेरित पावल हुन् । पावलले आफूमा ख्रीष्टलाई जिउने गराउन आफूलाई क्रूसमा टाँगे । तिनले सांसारिक शक्ति, सम्मान, धन र परमेश्वरको सुसमाचारको निम्ति अयोग्य भएका ती सबै थोकहरूलाई फोहोरसरी ठानेर तिनीहरूलाई त्यागे, र तिनले आफैलाई होच्याएर सक्दो धेरै आत्माहरूलाई बचाउने एकमात्र इच्छाका साथ सहृदयले अरूको सेवा गरे (गला २:२०, १ कोर ९:१९) ।
प्रेरित पावलले जस्तै धार्मिकताको मुकुट प्राप्त गर्न चाहन्छौं भने, पावलले जस्तै सुसमाचारको निम्ति सतावट भोगेर सन्तानहरूको निम्ति बलिदान गरौं (२ तिमो ४:१-८) । यदि हामीमा ‘म’ भन्ने अस्तित्व जीवितै रह्यो भने परमेश्वरको शिक्षा पूर्ण रूपमा ग्रहण गर्न गाह्रो हुनेछ, र सन्तानहरूलाई प्रभावित तुल्याउनुको सट्टा उल्टै मन दुखाउन पुगिन्छ । वर्तमान यो युग एकदमै दुष्ट युग भएकोले, मानिसहरू परमेश्वरको सही शिक्षाभन्दा पनि यस संसारका कुराहरूमा कान लगाउँछन् । त्यसकारण, अहिले हामीलाई दिइएको सुनजस्तै यो बहुमूल्य समयमा व्यर्थका कुराहरूको पछि नलागी उल्टै आफ्नो सारा हृदय, मन, शक्ति र प्राणले परमेश्वरलाई प्रेम गरौं । विपत्ति भोगिरहेका हाम्रा छिमेकीहरूलाई हेरेर यत्तिकै चूपचाप नबसी तिनीहरूलाई पनि परमेश्वरले अनन्त जीवन प्रदान गर्नुभएको निस्तार चाड मनाउन प्रोत्साहित गरौं ।
धार्मिकताको खातिर कष्ट र सतावट भोग्नेहरूले ठूलो इनाम पाउनेछन् (मत्ती ५:१०-१२) । नोआले पनि जहाज बनाउँदा धेरै सतावट र उपहासको सामना गर्नुपरेको थियो । अब्राहामले पनि आफ्नो एकमात्र छोरालाई बलिदानको रूपमा चढाउनू भन्ने परमेश्वरको आज्ञा पालन नगरेसम्म धेरै कठिनाइहरूको सामना गरेका थिए । अनि मोशाले पनि मिश्रको सिंहासनको उत्तराधिकारी हुने स्थितिमा भए तापनि इस्राएलका मानिसहरूसँग दुःख भोग्दै केवल स्वर्गीय इनामको आशा गरे । त्यसै गरी, हामी पनि परमेश्वरलाई खुशी तुल्याउने र उहाँको इनाम प्राप्त गर्न योग्यको कार्य गरौं ।
स्वर्गका राजकीय पूजाहारी, राजकुमार र राजकुमारीहरूमा समुद्रजस्तै फराकिलो मन हुनुपर्छ । हामीले निराश भएको मन वा रिसलाई पक्रिराख्यौं भने गर्जने सिंहझैँ कसलाई भेट्टऊँ र खाइहाँलू भनी खोजिहिँड्ने शैतानलाई मौका दिन पुग्छौं (१ पत्र ५:८-९) । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हामीहरू निराश महसुस नगर्न हरप्रयत्न गरौं । यस्ता भावनाहरू उत्पन्न हुनु भनेको नै हाम्रो मनमा अझै पनि ख्रीष्ट नभएर ‘म’ भन्ने अस्तित्व जीवित छ भन्ने संकेत हो । न्यानो र प्रेमपूर्ण बोलीद्वारा एक-अर्कालाई प्रोत्साहन दिने, सान्त्वना दिने र हेरचाह गर्नेहरू नै परमेश्वरका सन्तान हुन् । हाम्रो निम्ति मृत्युसम्मै बलिदान गर्नुहुने पिताको कष्टलाई सधैँ याद गर्दै, सन्तहरूले जतिसुकै मनमा चोट पुऱ्याउने कुराहरू गरे तापनि हामीले समझदारी, धैर्यता, कोमलता र नम्रतापूर्वक प्रतिक्रिया जनायौं भने उक्त व्यक्ति प्रभावित भएर स्वभावतः परिवर्तन हुनेछ । प्रत्येक व्यक्तिले आफूले गरेको कार्यअनुसार प्रतिफल पाउने भएकोले, हामीहरू स्वर्ग-राज्यमा गएर ‘अरूलाई प्रभावित तुल्याएको इनाम’ पनि प्राप्त गरौं (प्रका २२:११-१२) । परमेश्वरको महिमा अझ धेरै प्रकट गर्नेहरूले अझ धेरै इनाम पाउनेछन् भनी म विश्वास गर्दछु ।
हामीले परमेश्वरको आज्ञा पालन गरेर असल कार्यहरूद्वारा परमेश्वरको महिमा प्रकट गरेकाले अगमवाणी गरिएको वचनअनुसारै हामीहरू संसारका शिर तुल्याइएका छौं र एक समय हामीलाई सताउनेहरूले पनि अहिले हामीलाई सम्मानका साथ हेर्छन् (व्य २८:१-१४; यशै ६०:१४-२२) । अहिले कोरिया र विश्वभरि नै मानिसहरूले “उनीहरू साँच्चै परमेश्वरका छोरा-छोरीहरू हुन्” भन्दै परमेश्वरका सन्तानहरूको प्रशंसा गरिरहेको सियोनको सुगन्धहरू थुप्रै सुन्नमा आइरहेका छन् । हामीहरू जोडका साथ पिताको महिमा धेरै प्रकट गरेर एक-आपसमा एकताबद्ध होऔं, एक अर्काको कदर, हेरचाह र प्रेम गर्दै मेलमिलापमा बसौं । यहाँहरू सबै एकतामा रहेर दाना फल प्रशस्त फलाई स्वर्ग-राज्यमा गएर धार्मिकताको मुकुट र थुप्रै इनामहरू प्राप्त गर्ने प्रिय सियोनका सन्तहरू हुनुहुनेछ भन्ने आशा गर्दछु ।