सर्वोत्तम नै प्रेम हो

3665भ्यु
विषयसूची

प्रेम हुनुभएका परमेश्वरले सारा संसारमा अगमवक्ताहरू पठाउनुभएको छ, र अहिले संसारको कुना-कुनामा सुसमाचार भइरहेको छ । विभिन्न भाषा, संस्कृति र देशबाट आएका सन्तहरू एकसाथ भेला हुँदा सबै एक-अर्काप्रति दया र प्रेमले भरिन्छन् । यस्तो दृश्य देख्दा ‘हामी साँच्चै एक हौं’, र ‘परमेश्वरका सन्तान भएका हामीसँग अथाह प्रेम छ’ भन्ने कुरा महसुस हुन्छ ।

सर्वोत्तम नै प्रेम हो । बाइबलमा ‘जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ । प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ’ भनिएको छ (१ यूह ४:७-८, १६) । परमेश्वरलाई चिनेन भने मुक्ति पाउन सकिँदैन (२ थेस १:७-९) । बाइबलमा हामीले एक-अर्कालाई प्रेम गऱ्यौं भने मृत्युबाट जीवनमा सर्न सकिन्छ, तर आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन भनिएको छ (१ यूह ३:१४-१६; ४:२०-२१) । परमेश्वरको प्रेम जानेमा परमेश्वरको सन्तान हुन सकिन्छ । परमेश्वर प्रेम हुनुहुन्छ, र उहाँका सन्तानहरू पनि प्रेम हुन् ।

पिताले हामीलाई मृत्युसम्मै प्रेम गर्नुभयो । प्रेमद्वारा पापी सन्तानहरूलाई नरकको दण्डबाट बचाएर स्वर्गीय राज्यमा डोऱ्याउनको निम्ति पहिलो आगमनको समयमा येशूज्यू र दोस्रो आगमनको समयमा आन साङ होङज्यू नाउँ लिएर पिता यो पृथ्वीमा आउनुभयो । उहाँले आफैलाई होच्याउनुभयो, र धेरै मानिसहरूको सेवा गर्नहुँदै तिनीहरूलाई बचाउनुभयो (फिलि २:२-७; मर्क १०:४३-४५) । लामो समयसम्म आफैलाई बलिदान गरेर सबै किसिमका कठिनाइहरू भोग्नुभए तापनि एकपछि अर्को गर्दै जीवन बचाउने खुशीमा उहाँले कहिल्यै मुस्कुराउन छोड्नुभएन । हामीले पनि त्यसै गरोस् भन्ने हेतुले उहाँले प्रेमको उदाहरण देखाउनुभयो (यूह १३:१५, ३४) । धेरैलाई बचाउनको निम्ति हामीले सेवा पाउने होइनकि सेवा गर्नुपर्छ, र आफैलाई बलिदान गर्नुपर्छ । प्रशस्त ज्ञान, सम्पत्ति र अधिकार भएका प्रेरित पावलले धेरै मानिसहरूमाझ सुसमाचार गर्न आफैलाई दासजस्तै नम्र तुल्याए । यसरी परमेश्वरबाट बोलावट पाएका प्रेरित पावलले असङ्ख्य बलिदान र कष्टहरू सहने क्रममा नयाँ गरी जन्मिने आशिष् पाए (१कोर ९:१९) ।

स्वर्गीय राज्य प्रवेश गर्नको निम्ति हामीहरू आत्मिक रूपमा नयाँ गरी जन्मिनुपर्छ (यूह ३:३) । हामीले अहङ्कार, अरूलाई चोट पुऱ्याउने स्वार्थी मनभन्दा अरूको भलो चिताउने प्रेमिलो मन लिनुपर्छ । अनि स्वर्गका कुराहरूमा मन लगाउनुपर्छ (कल ३:१; यूह ८:३९) । कुवाक्य र चोट पुऱ्याउने बोलीभन्दा एक-अर्कालाई प्रोत्साहन र सान्त्वना दिने अनुग्रहात्मक बोलीद्वारा नयाँ गरी जन्मिऔं (एफि ४:२२-२९) । परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन दिनुभएर जीवनको रूखको वास्तविकता हुनुभएका परमेश्वर, हामीमा वास गर्ने गराउनुभयो । तसर्थ परमेश्वरको आराधना गर्ने हामीहरूले पवित्र र सुन्दर कार्यहरू गर्नुपर्छ (यूह ६:५३-५६; मत्ती २६:१७-२८) । अनि स्वर्गीय सन्तानको रूपमा नयाँ गरी जन्मनको लागि परमेश्वरको वचनअनुसार जिउनुपर्छ । बाइबलमा प्रेमसम्बन्धी लेखिएजस्तै हामीहरू क्रोध गर्ने, कठोर व्यवहार गर्ने वा आफ्नै बारेमा गर्व गर्ने होइनकि परमेश्वरमा गर्व गर्ने हुनुपर्छ (१ कोर १३:१-१३; गला ६:१४) ।

प्रेमको आधारमा, परमेश्वरले हामीबाट चाहनुभएको अझ महान् प्रेम छ । येशूज्यूले, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्” भन्नुभयो । त्यसपछि उहाँले, डाँकूहरूको फेलामा परी मर्न लागेका एक जना मानिसलाई बचाउने असल सामरीको दृष्टान्त भन्नुभयो (लूक १०:२५–३७) । सबैभन्दा महान् प्रेम भनेकै मरिरहेका आत्माहरूलाई बचाउने कार्य भएकोले त्यसो गरेमा मात्र हामीले अनन्त जीवन पाउन सक्छौं । येशूज्यूले पत्रुसलाई, “के तिमी मलाई प्रेम गर्छौ ?” भनेर सोध्नुभयो । अनि उहाँले “मेरा भेडाहरूलाई खुवाऊ” भन्नुहुँदै अनन्त जीवनको रोटी बाँडेर प्रेम गर्नू भन्नुभयो (यूह २१:१५) ।

पापीहरूलाई पश्चात्तापमा डोऱ्याउने कार्य नै परमेश्वर सबैभन्दा खुशी हुनुहुने कार्य हो (लूक १५:७) । त्यसैले परमेश्वर स्वयम्‌ स्वर्गबाट हराएकलाई खोज्न र बचाउन यो पृथ्वीमा आउनुभयो (लूक १९:१०; मत्ती ९:१३) । त्यो प्रेम महसुस गरेका हामीले संसारको सबैभन्दा अमूल्य अनन्त जीवन र स्वर्गीय राज्यको उत्तराधिकार पाएका परमेश्वरका सन्तानको रूपमा कार्य गर्नुपर्छ ।

विपत्ति र पापले गर्दा मर्न लागिरहेका मानिसहरूलाई परमेश्वरले दिनुभएको जीवनको भोजन, नयाँ करार निस्तार-चाड सुनाऔं । सुसमाचार प्रचार गर्ने क्रममा हामीले भोग्ने वर्तमान कष्टहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैनन् (रोम ८:१८) । प्रेम हुनुभएका परमेश्वरले हामीलाई अनन्त जीवन र सुन्दर स्वर्गीय राज्य दिनुभएर पिता भनेर पुकार्ने उहाँका सन्तान हुने अधिकार दिनुभएको छ । यसकारण धेरै आत्माहरूलाई प्रेमद्वारा परमेश्वरको पक्षमा डोऱ्याउन प्रयत्न गरौं ।