jerusalemmother.com is provided in English. Would you like to change to English?

वचनको नजिक, परमेश्वरको नजिक

5546भ्यु
विषयसूची

मेरा प्रिय सियोनका सन्तानहरू, यहाँहरूले एक आत्मा भए पनि बचाउनको लागि साँचो मनले लगनशीलतापूर्वक परिश्रम गरिरहनुभएको छ । यहाँहरूको यो परिश्रम स्वर्ग-राज्यमा सदासर्वदा चम्किरहनेछ । हाम्रा स्वर्गीय पिताले हामीलाई सदासर्वदा प्रशंसा र सान्त्वना दिनुहुने त्यो दिनलाई सोच्दै बल गरौं ।

यो संसारमा आँखामा देख्दा लोभ उत्पन्न गराउने कुराहरू थुप्रै छन् । धेरै मानिसहरूले परमेश्वरलाई विश्वास गर्ने र उहाँको वचन पालन गर्ने कुरालाई उनीहरूको स्वतन्त्रतामा बाधा पुऱ्याउने कुराको रूपमा लिने गर्छन् भने यो संसारलाई चाहिँ स्वतन्त्रता र आनन्द दिलाउने थोकको रूपमा हेर्छन् । तर परमेश्वरको वचन सुनेर त्यो पालन गरेमा हामीले साँचो आशिष् र आत्माको मुक्ति प्राप्त गर्न सक्छौं । त्यसैकारण हामीले अझ लगनशीलता र प्रेमपूर्वक एक आत्मालाई भए पनि परमेश्वरको काखमा डोऱ्याउनुपर्छ ।

हामीहरू हरेक दिन परमेश्वरको वचनको नजिक रहेर जिउनुपर्छ । यदि हाम्रो मन परमेश्वरको वचनमा केन्द्रित भएको छैन भने दियाबलसले त्यो कुराको फाइदा उठाएर हाम्रो मनलाई सांसारिक कुराहरूतर्फ केन्द्रित हुने गराउँछ । अनि हामीहरू सांसारिक कुराहरूमा बढी केन्द्रित भयौं भने लोभ उत्पन्न हुन्छ र त्यो सँगसँगै घमण्डले पछ्याउँछ र विवाद र झगडा सुरु हुन्छ । त्यसपछि मन भ्रष्ट भएर सत्यताबाट अलग हुने गराउँछ (१ तिमो ६:३-५) । परमेश्वरको वचनले हामीलाई निरन्तर उहाँसँग कुराकानी गर्ने गराउँछ । हरेक दिन बाइबल अध्ययन गर्ने मानिस परमेश्वरको नजिक हुन्छ । हाम्रा पिताले पनि “मेरो याद आउँछ भने बाइबल धेरै अध्ययन गर्नुहोस्” भन्ने वचन दिनुभएको छ ।

बाइबलमा, अन्तिम समयमा मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी हठी अरूको बदनाम गर्ने आमा-बुबाको आज्ञा पालन नगर्ने बैगुनी र अपवित्र हुनेछन् भन्ने शिक्षा दिइएको छ (२ तिमो ३:१-५) । संसारका मानिसहरू अरूको हितभन्दा आफ्नै हित खोज्छन् । केही राम्रो कुरा छ भने पनि त्यसलाई अरूको निम्ति त्याग नगरी उल्टै आफैले लिन खोज्छन् । यद्यपि यदि हामीले सधैँ स्वार्थ व्यवहार गऱ्यौं भने आफूलाई खाँचो परेको समयमा सहयोग गरिदिने कोही पनि हुँदैन । कहिलेकहीँ अरूलाई सहयोग गर्दा आफैलाई घाटा हुने जस्तो लागे तापनि वास्तवमा हामीले प्रेमद्वारा दियौं भने त्यो आफैतिर फर्केर आउँछ । तसर्थ अन्तिम समयमा यस्ता कार्यहरू हुने भए तापनि हामीहरूचाहिँ संसारमा नबरालीनको निम्ति सधैँ परमेश्वरको वचनको हातहतियार धारण गरेर जिउनुपर्छ ।

परमेश्वरले हामीलाई, मौका पाएअनुसार सबै मानिसको भलाइ गर्न र सर्वोत्तमचाहिँ प्रेम नै हो भन्ने शिक्षा दिनुभएको छ (गला ६:१०-१४; १ कोर १३:२-१३) । हामीले यी वचनहरूलाई केवल सामान्य ज्ञानको रूपमा मात्र नलिई यसलाई व्यवहारमा लागू गर्नुपर्छ । प्रेम सहनशील हुन्छ र सहनशीलता गुम्यो भने विवाद उत्पन्न हुन्छ । कसैले मूड खराब हुने कुरा गरे पनि तुरुन्तै प्रतिक्रिया नदिई केही समय सहनुहोस् । सहनुभयो भने बुद्धि प्राप्त गर्नुहुनेछ जसद्वारा कोमल शब्दहरू मात्र निस्कनेछन् । तर रिसलाई नियन्त्रण गर्न सकिएन भने मुखबाट कठोर शब्दहरू निस्कनेछन् । एकचोटी रिस उठेपछि नराम्रा विचारहरू उत्पन्न हुन थाल्छन् कि थाल्दैनन् त ? त्यसैले हामीले रिसलाई आफैमाथि हावी हुन दिनुहुँदैन । धेरैजसो झैँझगडाहरू, तर्क गर्दा आफूले जित्न खोज्ने, अरूको निम्ति त्याग गर्न नखोज्ने अथवा आफूले पहिला माफी माग्न नखोज्ने जस्ता कुराहरूका कारण उत्पन्न हुन्छ । ‘मैले किन माफी माग्ने ?’ भन्ने किसिमको जिद्दी सोचाइ लिनुभयो भने मेलमिलाप गर्न महिनौं लाग्न सक्छ, जसले गर्दा एक-अर्कालाई शत्रु ठान्न पुगिन्छ । त्यसैले अबचाहिँ हामीले परिपक्व विश्वास लिएर सधैँ एक-अर्काको निम्ति त्याग गर्ने मन लिनुपर्छ । आफूले कुनै गल्ती गरेकोले होइनकी मेलमिलाप कायम राख्नको निम्ति माफी माग्नुपर्छ । हामीले घमण्डीपन फालेर नम्रतापूर्वक शान्तीतर्फको पहिलो कदम चाल्यौं भने अर्को व्यक्तिको मन पग्लिएर चाँडै मिलाप गर्न सकिन्छ । त्यसो गरेमा दुवैले आशिष् पाउनुको साथै दुवै खुशी हुनेछन् । हामीले एक-अर्काप्रति विचारशील हुने र एक-अर्काको निम्ति त्याग गरिदिने ‘असल दाजुभाइ’ जस्तै तुरुन्तै माफी माग्यौं भने जीवनभर मेलमिलापमा जिउन सक्नेछौं ।

दिनुचाहिँ आशिष् हो । अरूसँग बाँड्दा आफूले केही गुमाएजस्तो लाग्न पनि सक्छ, तर वास्तवमा त्यसो होइन । परमेश्वरले सबै हेर्नुभएर हामीलाई आशिष् दिनुहुन्छ । कुनै समय हामीबाट सहयोग पाएका मानिसहरूले हामीलाई खाँचो परेको समयमा आएर सहयोग गर्नेछन् । यो नै धार्मिक जीवन जिउने तरिका हो । हामीचाहिँ सधैँ दिन मन गर्नुपर्छ, यो नै हामी परमेश्वरका छोरा-छोरी हौं भन्ने कुराको प्रमाण हो । परमेश्वरले हामीलाई जीवनसमेत दिनुभएर “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें तिमीहरूले पनि त्यसै गर” भन्नुभयो (यूह १३:१५) ।

यस पृथ्वीमा भौतिक रूपमा थोरै असहज वा कठिनाइ भए तापनि हामीहरू सुन्दर स्वर्ग-राज्यको नजिकै आइपुगेकाले थोरै धैर्य गरौं । आफ्ना सन्तानहरूलाई बचाउनको निम्ति आफ्नो शरीर क्रूसमा बलिदान गर्नुभएका परमेश्वरलाई पछ्याएर सम्पूर्ण मानव-जातिहरूमाझ पिताको प्रेम बाँडेर अनन्त जीवनतर्फ डोऱ्याउने निस्तार-चाड घोषणा गरौं । पिताले नम्रहरूलाई मुक्तिको प्रतिज्ञा गर्नुभएकाले हामीहरू एक-अर्कालाई प्रेम र कदर गरौं, र सबै जना ‘प्रेम’ भएर स्वर्गमा गई पिताबाट प्रशस्त आशिष् पाउनुहोस् भन्ने चाहन्छु ।