वचनको नजिक, परमेश्वरको नजिक

4283भ्यु
विषयसूची

मेरा प्रिय सियोनका सन्तानहरू, यहाँहरूले एक आत्मा भए पनि बचाउनको लागि साँचो मनले लगनशीलतापूर्वक परिश्रम गरिरहनुभएको छ । यहाँहरूको यो परिश्रम स्वर्ग-राज्यमा सदासर्वदा चम्किरहनेछ । हाम्रा स्वर्गीय पिताले हामीलाई सदासर्वदा प्रशंसा र सान्त्वना दिनुहुने त्यो दिनलाई सोच्दै बल गरौं ।

यो संसारमा आँखामा देख्दा लोभ उत्पन्न गराउने कुराहरू थुप्रै छन् । धेरै मानिसहरूले परमेश्वरलाई विश्वास गर्ने र उहाँको वचन पालन गर्ने कुरालाई उनीहरूको स्वतन्त्रतामा बाधा पुऱ्याउने कुराको रूपमा लिने गर्छन् भने यो संसारलाई चाहिँ स्वतन्त्रता र आनन्द दिलाउने थोकको रूपमा हेर्छन् । तर परमेश्वरको वचन सुनेर त्यो पालन गरेमा हामीले साँचो आशिष् र आत्माको मुक्ति प्राप्त गर्न सक्छौं । त्यसैकारण हामीले अझ लगनशीलता र प्रेमपूर्वक एक आत्मालाई भए पनि परमेश्वरको काखमा डोऱ्याउनुपर्छ ।

हामीहरू हरेक दिन परमेश्वरको वचनको नजिक रहेर जिउनुपर्छ । यदि हाम्रो मन परमेश्वरको वचनमा केन्द्रित भएको छैन भने दियाबलसले त्यो कुराको फाइदा उठाएर हाम्रो मनलाई सांसारिक कुराहरूतर्फ केन्द्रित हुने गराउँछ । अनि हामीहरू सांसारिक कुराहरूमा बढी केन्द्रित भयौं भने लोभ उत्पन्न हुन्छ र त्यो सँगसँगै घमण्डले पछ्याउँछ र विवाद र झगडा सुरु हुन्छ । त्यसपछि मन भ्रष्ट भएर सत्यताबाट अलग हुने गराउँछ (१ तिमो ६:३-५) । परमेश्वरको वचनले हामीलाई निरन्तर उहाँसँग कुराकानी गर्ने गराउँछ । हरेक दिन बाइबल अध्ययन गर्ने मानिस परमेश्वरको नजिक हुन्छ । हाम्रा पिताले पनि “मेरो याद आउँछ भने बाइबल धेरै अध्ययन गर्नुहोस्” भन्ने वचन दिनुभएको छ ।

बाइबलमा, अन्तिम समयमा मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी हठी अरूको बदनाम गर्ने आमा-बुबाको आज्ञा पालन नगर्ने बैगुनी र अपवित्र हुनेछन् भन्ने शिक्षा दिइएको छ (२ तिमो ३:१-५) । संसारका मानिसहरू अरूको हितभन्दा आफ्नै हित खोज्छन् । केही राम्रो कुरा छ भने पनि त्यसलाई अरूको निम्ति त्याग नगरी उल्टै आफैले लिन खोज्छन् । यद्यपि यदि हामीले सधैँ स्वार्थ व्यवहार गऱ्यौं भने आफूलाई खाँचो परेको समयमा सहयोग गरिदिने कोही पनि हुँदैन । कहिलेकहीँ अरूलाई सहयोग गर्दा आफैलाई घाटा हुने जस्तो लागे तापनि वास्तवमा हामीले प्रेमद्वारा दियौं भने त्यो आफैतिर फर्केर आउँछ । तसर्थ अन्तिम समयमा यस्ता कार्यहरू हुने भए तापनि हामीहरूचाहिँ संसारमा नबरालीनको निम्ति सधैँ परमेश्वरको वचनको हातहतियार धारण गरेर जिउनुपर्छ ।

परमेश्वरले हामीलाई, मौका पाएअनुसार सबै मानिसको भलाइ गर्न र सर्वोत्तमचाहिँ प्रेम नै हो भन्ने शिक्षा दिनुभएको छ (गला ६:१०-१४; १ कोर १३:२-१३) । हामीले यी वचनहरूलाई केवल सामान्य ज्ञानको रूपमा मात्र नलिई यसलाई व्यवहारमा लागू गर्नुपर्छ । प्रेम सहनशील हुन्छ र सहनशीलता गुम्यो भने विवाद उत्पन्न हुन्छ । कसैले मूड खराब हुने कुरा गरे पनि तुरुन्तै प्रतिक्रिया नदिई केही समय सहनुहोस् । सहनुभयो भने बुद्धि प्राप्त गर्नुहुनेछ जसद्वारा कोमल शब्दहरू मात्र निस्कनेछन् । तर रिसलाई नियन्त्रण गर्न सकिएन भने मुखबाट कठोर शब्दहरू निस्कनेछन् । एकचोटी रिस उठेपछि नराम्रा विचारहरू उत्पन्न हुन थाल्छन् कि थाल्दैनन् त ? त्यसैले हामीले रिसलाई आफैमाथि हावी हुन दिनुहुँदैन । धेरैजसो झैँझगडाहरू, तर्क गर्दा आफूले जित्न खोज्ने, अरूको निम्ति त्याग गर्न नखोज्ने अथवा आफूले पहिला माफी माग्न नखोज्ने जस्ता कुराहरूका कारण उत्पन्न हुन्छ । ‘मैले किन माफी माग्ने ?’ भन्ने किसिमको जिद्दी सोचाइ लिनुभयो भने मेलमिलाप गर्न महिनौं लाग्न सक्छ, जसले गर्दा एक-अर्कालाई शत्रु ठान्न पुगिन्छ । त्यसैले अबचाहिँ हामीले परिपक्व विश्वास लिएर सधैँ एक-अर्काको निम्ति त्याग गर्ने मन लिनुपर्छ । आफूले कुनै गल्ती गरेकोले होइनकी मेलमिलाप कायम राख्नको निम्ति माफी माग्नुपर्छ । हामीले घमण्डीपन फालेर नम्रतापूर्वक शान्तीतर्फको पहिलो कदम चाल्यौं भने अर्को व्यक्तिको मन पग्लिएर चाँडै मिलाप गर्न सकिन्छ । त्यसो गरेमा दुवैले आशिष् पाउनुको साथै दुवै खुशी हुनेछन् । हामीले एक-अर्काप्रति विचारशील हुने र एक-अर्काको निम्ति त्याग गरिदिने ‘असल दाजुभाइ’ जस्तै तुरुन्तै माफी माग्यौं भने जीवनभर मेलमिलापमा जिउन सक्नेछौं ।

दिनुचाहिँ आशिष् हो । अरूसँग बाँड्दा आफूले केही गुमाएजस्तो लाग्न पनि सक्छ, तर वास्तवमा त्यसो होइन । परमेश्वरले सबै हेर्नुभएर हामीलाई आशिष् दिनुहुन्छ । कुनै समय हामीबाट सहयोग पाएका मानिसहरूले हामीलाई खाँचो परेको समयमा आएर सहयोग गर्नेछन् । यो नै धार्मिक जीवन जिउने तरिका हो । हामीचाहिँ सधैँ दिन मन गर्नुपर्छ, यो नै हामी परमेश्वरका छोरा-छोरी हौं भन्ने कुराको प्रमाण हो । परमेश्वरले हामीलाई जीवनसमेत दिनुभएर “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें तिमीहरूले पनि त्यसै गर” भन्नुभयो (यूह १३:१५) ।

यस पृथ्वीमा भौतिक रूपमा थोरै असहज वा कठिनाइ भए तापनि हामीहरू सुन्दर स्वर्ग-राज्यको नजिकै आइपुगेकाले थोरै धैर्य गरौं । आफ्ना सन्तानहरूलाई बचाउनको निम्ति आफ्नो शरीर क्रूसमा बलिदान गर्नुभएका परमेश्वरलाई पछ्याएर सम्पूर्ण मानव-जातिहरूमाझ पिताको प्रेम बाँडेर अनन्त जीवनतर्फ डोऱ्याउने निस्तार-चाड घोषणा गरौं । पिताले नम्रहरूलाई मुक्तिको प्रतिज्ञा गर्नुभएकाले हामीहरू एक-अर्कालाई प्रेम र कदर गरौं, र सबै जना ‘प्रेम’ भएर स्वर्गमा गई पिताबाट प्रशस्त आशिष् पाउनुहोस् भन्ने चाहन्छु ।