परमेश्वरको प्रेममा हामी एउटै शरीर हौं

5286भ्यु
विषयसूची

सियोनका सन्तहरूले जागा भएर जोडका साथ विश्वभरि सुसमाचार फैलाइरहेका छन् । पिताले गर्नुभएको अगमवाणीअनुसार, असंख्य आत्माहरूलाई सत्यता र मुक्तिको मार्गमा डोऱ्याउने हाम्रो उल्लेखनीय कार्यले विश्वको ध्यान खिँचिरहेको छ । हामीले परमेश्वरको वचन पालन गर्दा आश्चर्यका चमत्कारहरू घटेको यथार्थता प्रत्यक्ष देखिरहेका छौं ।

अगमवाणीअनुसार यो वर्तमान समयमा धेरै विपत्तिहरू आउनेछन् । यस्तो समयमा विश्वासलाई अझ बलियो बनाउन आवश्यक छ । हाम्रो जिम्मेवारी भनेकै मानव-जातिलाई विश्वास दिलाएर उनीहरूलाई स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति योग्य बनाउनु हो । के हामीहरू नै विपत्तिका कारण निराश भइरहेकाहरूलाई आशा र मुक्तिको सुसमाचार सुनाउने नयाँ करारका सेवक होइनौं र ? स्वर्गीय राज्यको उत्तराधिकारीको रूपमा, समर्पित भएर आत्मिक कार्य पूरा गर्नेहरूलाई स्वर्गीय इनामको प्रतिज्ञा गरिएको छ ।

एक आत्माले बप्तिस्मा लिँदा, सारा संसारै जिते जस्तो खुशी महसुस हुन्छ । यो खुशीचाहिँ हाम्रो लगनशील प्रयास, कष्टलाई जित्ने मन, अटल समर्पण र गहिरो प्रार्थनाद्वारा उत्पन्न भएको हो ।

आत्मिक रूपमा हामीहरू एउटै शरीर भएकाले सँगै रमाहट गर्छौं । “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मत्ती २८:१९-२०; मर्क १६:१५) भन्ने अगमवाणीलाई ध्यानमा राख्दै सन्तहरूले अल्पकालीन मिसनद्वारा असंख्य आत्माहरूलाई डोऱ्याए । अनि विश्वभरिका सियोनका सन्तहरूले सँगै रमाहट गरे । योचाहिँ हाम्रो शरीरले फल फलाएकोले गर्दा हो ।

परमेश्वर शिर हुनुहुन्छ र हामी चाहिँ आँखा, नाक, कान लगायत अन्य अङ्गहरूको भूमिका निर्वाह गर्ने एउटै शरीरका अङ्गहरू हौं (१ कोर १२:१२-२७) । कर्मचारीहरूले कार्यक्षेत्रमा, विद्यार्थीहरूले विद्यालयमा, सैनिकहरूले सैन्य क्षेत्रमा, गृहिणीहरूले समाजमा र सबैले आफ्नो सम्बन्धित ठाउँमा भेट हुने व्यक्तिहरूलाई लगनशीलतापूर्वक सुसमाचार प्रचार गरौं । पिताले सुसमाचार प्रचार गर्ने ओठ र सुसमाचार प्रचार गर्ने पाउहरू कति सुन्दर छन् भन्नुभयो (रोम १०:१४-१५) । सुन्दर ओठ लिएर एकताबद्ध हुँदै हामी सबै एक आत्मा बचाउनको निम्ति कडा परिश्रम गरौं ।

हामी परमेश्वरको प्रेममा एक भएका छौं । कुनै कुरा राम्रो हुँदा पूरा शरीरले नै रमाहट गर्छ । खुशीको खबर कानले जानकारी दिन्छ र देखिएका कुराहरू चाहिँ आँखाले जानकारी दिन्छ । त्यसै गरी हाम्रो पैताला नदेखिँने भए पनि तीविना हामी हिँड्न सक्दैनौं । हामी एउटै शरीर भएकोले सबै अङ्गहरूको आ-आफ्नै विशेषताहरू छन् । शरीरको कुनै एउटा अङ्गमा चोट लाग्यो भने पूरै शरीरले पीडा महसुस गर्छ । सुरुमा त्यो पीडाको सङ्केत शीरले पाउँछ र पूरै शरीरले त्यो पीडा महसुस गरी त्यो पीडामा सहभागी हुन्छ ।

शरीरका प्रत्येक अङ्गहरू महत्त्वपूर्ण छन्, महत्त्वहीन अङ्गहरू एउटा पनि छैन । तसर्थ दाजुभाइ-दिदीबहिनीहरूमा भएको ईर्ष्याको भावलाई त्यागेर प्रेममा एकताबद्ध होऔं । पवित्र आत्मामा अनुग्रह मिल्ने बोली, विश्वासलाई हुर्काउने बोली र आत्मालाई बलियो बनाउने बोली बोल्दा सुन्नेहरूलाई प्रशस्त अनुग्रह मिल्नेछ (एफि ४:२२-३२) । नम्रहरूले उद्धार पाउनेछन् भन्ने वचनजस्तै, सधैँ नम्र मन र नम्र बोलीद्वारा दाजुभाइ-दिदीबहिनीप्रति विचारशील हुँदै प्रोत्साहन दिऔं । आफ्नो सोचाइद्वारा सुसमाचार प्रचार गर्दा ढिलो वृद्धि हुन सक्छ, तर परमेश्वरको मनद्वारा गर्दा फलदायी परिणामहरू प्राप्त गर्न सकिन्छ । हाम्रो आत्मालाई बचाउनको निम्ति क्रूसको मृत्युसम्मै आफूलाई बलिदान गर्नुभएर होचिनुभएका ख्रीष्टको जस्तै प्रेम र बलिदानयुक्त मन लिएर परमेश्वरको वचन सुनाऔं (इज ३:१७; फिलि २:५-८) । त्यसो गरेमा बल्ल फल फलाउन सकिनेछ ।

हामीले कहिल्यै नदेखेको र नसुनेको स्वर्गको आश्चर्यपूर्ण वैभव पिताले हाम्रो निम्ति तयार गरिरहनुभएको छ । स्वर्गीय राज्य प्रवेश गर्नको निम्ति सांसारिक सुखविलास र अनैतिक कार्यहरूमा संलग्न हुनुहुँदैन । बरु उल्टै हाम्रो पापमय स्वभावलाई परमेश्वरजस्तै सुन्दर र धर्मी स्वरूपमा परिवर्तन गर्नुपर्छ (रोम १२:१-२) । परमेश्वरजस्तै सुन्दर स्वरूपमा परिवर्तन हुन र विना कुनै कमजोरी स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति आफूलाई तयारी गरौं र बुद्धिमती पाँच कन्याहरूले जस्तै विश्वासको तेल प्रशस्त थुपारौं । अनि असंख्य आत्माहरूलाई पश्चात्तापमा डोऱ्याएर परमेश्वरबाट प्रेम पाउने सन्तान भई परमेश्वरसँगै अनन्तकाल महिमा उपभोग गर्ने होऔं ।