स्वर्गको उत्तराधिकार प्राप्त गर्ने निर्णायक शर्तहरू के-के हुन् ? अब्राहामको परिवारको इतिहास

3314भ्यु

इस्राएलीहरूका पुर्खा इसहाकचाहिँ अब्राहाम १०० वर्षका हुँदा परमेश्वरको प्रतिज्ञाको वचनअनुसार अब्राहाम र साराबाट जन्मिएको अमूल्य छोरा थिए । “तेरो एकमात्र छोरा इसहाकलाई होमबलि गर्” भन्ने परमेश्वरको वचनमा आज्ञाकारी भएका अब्राहामको कहानी त प्रायः सबैलाई थाहै छ । पछि, इसहाकले रिबेकासँग विवाह गरेर याकूबलाई जन्माए । अनि याकूबका बाह्र जना छोराहरूबाट इस्राएलका बाह्र कुल बने ।

अब्राहामका छोरा र याकूबका पिताको रूपमा चिर-परिचित रहेका इसहाकको जीवनमा लुकेको महत्त्वपूर्ण अगमवाणीको बारेमा धेरैलाई थाहा छैन । योचाहिँ स्वर्गको उत्तराधिकार पाउने परमेश्वरको उत्तराधिकारी सम्बन्धी अगमवाणी हो ।

अब्राहामको उत्तराधिकारीले परमेश्वरको उत्तराधिकारीलाई सङ्केत गर्दछ

मुक्ति पाउने सन्तहरूलाई बाइबलमा ‘प्रतिज्ञाका सन्तान’ भनेर व्यक्त गरिएको छ ।

अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं । गला ४:२८

अन्य विभिन्न पात्रहरूमध्ये किन सन्तहरूलाई इसहाकसँग तुलना गरिएको होला ? अब्राहामका छोरा र उत्तराधिकारी रहेका इसहाकको बारेमा राम्ररी बुझ्नको निम्ति हामीले बाइबलमा उल्लेखित अब्राहामको उत्तराधिकारको इतिहास र अर्थलाई बुझ्नुपर्छ । सर्वप्रथम येशूज्यूले बताउनुभएको धनी मानिस र लाजरसको दृष्टान्त अध्ययन गरौं ।

“एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो । उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे । त्यो घावैघाउले भरिएको थियो । त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्‌थे । त्यो गरीब मानिस मऱ्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे । त्यो धनी मानिस पनि मऱ्यो र गाडियो । नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेऱ्यो र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो । अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, …’ ” लूक १६:१९-३१

जब लाजरस मऱ्यो, तब स्वर्गदूतहरूले उसलाई लगेर अब्राहामको सँगमा राखे । यदि हामीले पनि मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गऱ्यौं भने हामीहरू कसको सँगमा राखिनेछौं त ? परमेश्वरको सँगमा । अनि स्वर्गमा ‘पिता’ भनेर पुकारिन योग्यको व्यक्तिचाहिँ केवल परमेश्वर मात्र हुनुहुन्छ । यद्यपि यहाँचाहिँ अब्राहामलाई ‘पिता’ भनेर पुकारिएको छ । यसबाट, बाइबलमा अब्राहामले परमेश्वरलाई सङ्केत गर्दछन् भनी हामी जान्न सक्छौं ।

तसर्थ अब्राहामको उत्तराधिकारीले स्वर्गको उत्तराधिकार पाउने परमेश्वरका उत्तराधिकारीलाई सङ्केत गर्दछ (गला ३:२९) । अब्राहामको परिवारको इतिहासचाहिँ कसैको व्यक्तिगत इतिहास मात्र होइन तर स्वर्गको उत्तराधिकार पाउने शर्तबारे जानकारी दिने अगमवाणी हो ।

अब्राहामको उत्तराधिकारका लागि ३ जना उम्मेदवारहरू : एलीएजर, इश्माएल र इसहाक

अब्राहामको उत्तराधिकारी निर्धारण गरिँदाको प्रक्रियालाई हेर्ने हो भने अब्राहामको सम्पत्तिको उत्तराधिकार पाउनका लागि ३ जना उम्मेदवारहरू थिए । पहिलो उम्मेदवारचाहिँ दास एलीएजर, दोस्रो इश्माएल र तेस्रो इसहाक थिए । सुरुमा त, अब्राहामको कुनै सन्तान नभएकोले तिनले दास एलीएजरलाई आफ्नो उत्तराधिकारी बनाउन चाहेका थिए ।

तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र ? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ ।” … तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ ।” उत १५:२-४

परमेश्वरले अब्राहामलाई, एलीएजरचाहिँ तिनको उत्तराधिकारी हुनेछैन तर तिनको आफ्नै छोरा तिनको उत्तराधिकारी हुनेछ भनेर सफासँग भन्नुभयो । यसरी दास रहेका एलीएजर अब्राहामको उत्तराधिकारी हुनबाट हटाइयो । अब दोस्रो उम्मेदवार इश्माएलको विषयमा हेरौं ।

अनि हागारले अब्रामको एक जना छोरो जन्माई । हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इश्माएल राखे । हागारले अब्रामको निम्ति इश्माएल जन्माउँदा अब्राम छयासी वर्ष पुगेका थिए । उत १६:१५-१६

हागारचाहिँ अब्राहामकी पत्नी, साराकी कमारी थिइन् (उत १६:१) । इश्माएलका बुबा अब्राहाम भए तापनि तिनकी आमाचाहिँ कमारी थिइन् । अब्राहामले तिनको आफ्नो छोरो इश्माएललाई आफ्नो सम्पत्तिको उत्तराधिकार दिन चाहेका थिए । तर परमेश्वरले अब्राहामलाई, इश्माएल पनि तिनको उत्तराधिकार हुनेछैन भन्नुभयो ।

अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्छ ।” तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस् । म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु ।” उत १७:१८-१९

हुन त इश्माएल अब्राहामकै छोरा थियो, तर त्यतिले मात्र काफी भएन । परमेश्वरले अब्राहामको उत्तराधिकारीचाहिँ अनिवार्य रूपमा साराकै कोखबाट जन्मिएको सन्तान हुनुपर्छ भन्नुभयो । अनि साराबाट जन्मिएका इसहाक नै अब्राहामको उत्तराधिकारी नियुक्त भयो । अन्तिममा इश्माएल निकालिए, र इसहाकले नै अब्राहामको सम्पूर्ण सम्पत्तिको उत्तराधिकार पायो (उत २१:८-१४) ।

इसहाक नै उत्तराधिकारी बन्न सक्नुको निर्णायक कारण

यी ३ जना उम्मेदवारहरूमध्ये अन्त्यमा इसहाकले उत्तराधिकार पायो । यसको निर्णायक कारण के होला ? निम्न तालिकाद्वारा यो कुरालाई निश्चित गरौं ।

बुबा (स्वतन्त्र पुरुष) आमा (स्वतन्त्र स्त्री) परिणाम
एलीएजर × × ×
इश्माएल × ×
इसहाक

सर्वप्रथम एलीएजरलाई सोचौं । उसका बुबा पनि स्वतन्त्र पुरुष अब्राहाम थिएनन् र आमा पनि स्वतन्त्र स्त्री सारा थिइनन् । यसैले ऊ उत्तराधिकारी हुन सकेन । दोस्रा उम्मेदवार इश्माएलका बुबाचाहिँ स्वतन्त्र पुरुष अब्राहाम भए तापनि आमाचाहिँ कमारी स्त्री भएकीले उसले पनि उत्तराधिकार पाउन सकेन । तर इसहाकको चाहिँ बुबा पनि स्वतन्त्र पुरुष अब्राहाम र आमा पनि स्वतन्त्र स्त्री सारा भएकाले उसैले उत्तराधिकार पाउन सक्यो ।

त्यो समयमा जेठो छोराले उत्तराधिकार पाउने चलन थियो । यदि पितृसत्तात्मक सिद्धान्तको आधारमा उत्तराधिकारको निर्णय गरिएको भए स्वाभावतः दाजु इश्माएल नै उत्तराधिकारी हुनेथियो । तर इसहाक उत्तराधिकारीको रूपमा चुनिएको यो कुराले, आमाको अस्तित्व नै उत्तराधिकारी छनोट गर्ने निर्णायक शर्त रहेको कुरा देखाएको छ ।

अब्राहामको परिवारको इतिहासको अगमवाणी

अब्राहामको परिवारको इतिहासचाहिँ विगतको एउटा सामान्य इतिहास होइन, तर भविष्यमा कस्ता मानिसहरू स्वर्ग जान सक्छन् भन्ने कुरा जानकारी दिने अगमवाणी हो । किनभने अघि अध्ययन गरेजस्तै, अब्राहामले स्वर्गीय पितालाई सङ्केत गर्छन् र तिनको उत्तराधिकारीले, स्वर्गको उत्तराधिकार पाउने परमेश्वरको उत्तराधिकारीलाई सङ्केत गर्दछ । त्यसोभए अब्राहामको परिवारको इतिहासमा समाविष्ट यो अगमवाणी कहिले र कसरी पूरा हुन्छ होला ? योचाहिँ “हुन आउने कुराहरूको छाया”को रूपमा दुई पटकमा पूरा हुन्छ (हिब्रू १०:१; उप ३:१५) ।

अगमवाणीको पहिलो पूर्णता

पहिलो, येशूज्यू यो पृथ्वीमा आउनुभएर नयाँ करार स्थापना गर्नुहुँदा पूरा भएको थियो ।

किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट । … यो कुरालाई रूपक दृष्टान्तको रूपमा लिन सकिन्छ । ती स्त्रीहरू दुई किसिमका करारहरू हुन् । एउटीचाहिँ सीनै पर्वतबाट दासत्वको लागि सन्तान जन्माउने हागार हो । हागार अरब देशको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ । किनकि त्यो आफ्ना बालकहरूका साथ दासत्वमा छ । तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२२-२६

हागारले सीनै पर्वतमा मोशाद्वारा स्थापित पुरानो करारलाई गर्दछ, र साराले चाहिँ येशूज्यूद्वारा स्थापित नयाँ करारलाई सङ्केत गर्दछ । त्यो समयमा पुरानो करारमा जोड दिएका यहूदीहरू परमेश्वरका उत्तराधिकारी बन्न सकेनन् । तर नयाँ करार पालन गर्नेहरू मात्र परमेश्वरका उत्तराधिकारी बन्न सके । कमारी हागारको छोरो इश्माएलले चाहिँ, नयाँ करार स्थापना भइसक्दा पनि पुरानो करारतिरै मन डुलाउनेहरू यहूदीहरूलाई जनाएको थियो भने स्वतन्त्र स्त्री साराको छोरो इसहाकले चाहिँ, येशूज्यूलाई विश्वास गरेर नयाँ करारलाई ग्रहण गर्ने सन्तहरूलाई जनाएको थियो ।

अगमवाणीको दोस्रो पूर्णता

यो अगमवाणी पहिलो पटकमा नै सबै पूरा हुने होइनकि अन्त्यका दिनहरूमा जब येशूज्यूको दोस्रो आगमन हुन्छ, तब पूर्ण रूपमा पूरा हुनेछ । यी अन्त्यका दिनहरूमा मानव-जातिलाई मुक्ति दिन येशूज्यू फेरि आउनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ (हिब्रू ९:२८) । तर यसपालि आउनुहुँदा चाहिँ उहाँ एकलै आउनुहुने होइनकि आफ्नी दुलहीसँगै देखा पर्नुहुनेछ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७

यहाँ पवित्र आत्माले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । त्यसोभए दुलहीचाहिँ को हुनुहुन्छ होला ?

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” … परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०

थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । बाइबलमा, स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी व्यक्ति नै हाम्री स्वर्गीय माता हुनुहुन्छ ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

यसकारण जीवनको पानी अर्थात् अनन्त जीवन दिनुहुने दुलहीचाहिँ स्वतन्त्र हुनुभएकी स्वर्गीय यरूशलेम हाम्री माता परमेश्वर हुनुहुन्छ भनिएको छ । यसले, पवित्र आत्मा र दुलही देखा पर्नुहुने युगमा चाहिँ पिता परमेश्वरलाई मात्र विश्वास गर्नेहरूले स्वर्गको उत्तराधिकार पाउन सक्नेछैनन् भन्ने कुरा बुझाउँछ । जसरी अब्राहाम र साराका छोरा इसहाकले अब्राहामको उत्तराधिकार पाए, त्यसरी नै पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्नेहरूले मात्र परमेश्वरको राज्यको उत्तराधिकार पाउनेछन् (लूक १६:२२-२४; गला ४:२६) ।

‘इसहाकजस्तै प्रतिज्ञाको सन्तान’

वर्तमान युगमा स्वर्गको उत्तराधिकार पाउनको निम्ति हामीहरू स्वतन्त्र हुनुभएकी स्वर्गीय माताका सन्तान बन्नुपर्छ । त्यसैले बाइबलमा हामीलाई प्रतिज्ञाका सन्तान भनिएको छ ।

अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं । गला ४:२८

इसहाकले स्वतन्त्र स्त्री साराद्वारा उत्तराधिकार पाए । त्यसै गरी नयाँ करारको समयमा चाहिँ सन्तहरूले स्वर्गीय माताद्वारा परमेश्वरको उत्तराधिकार प्राप्त गर्छन् । स्वर्गीय माताको सन्तान नबनेसम्म परमेश्वरका उत्तराधिकारी बन्न सकिँदैन ।

तर धर्मशास्त्रले के भन्दछ ? “कमारी र त्यसको छोरालाई निकालिदेऊ, किनभने दासी-पुत्र स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुनेछैन ।” यसकारण भाइ हो, हामी कमारीका होइनौं, तर स्वतन्त्र स्त्रीका सन्तान हौं । गला ४:३०-३१

हागारको छोरा इश्माएलले अब्राहामको उत्तराधिकार पाउन नसकी अन्त्यमा अब्राहामको परिवारबाट निकालियो । त्यसै गरी अन्त्यको समयमा ‘दासी-पुत्र’ले उत्तराधिकारको हिस्सा पाउनेछैन भनेर बाइबलमा स्पष्टसँग लेखिएको छ । तसर्थ पवित्र आत्मा र दुलहीको युगमा यदि हामीले पिता परमेश्वर मात्र ग्रहण गरेर माता परमेश्वरलाई चाहिँ इन्कार गऱ्यौं भने हामीहरू इश्माएलजस्तै हुनेछौं र स्वर्गीय राज्यको उत्तराधिकार पाउनेछैनौं । हामीचाहिँ माता परमेश्वरलाई ग्रहण गरेर ‘इसहाकजस्तै प्रतिज्ञाका सन्तान’ भई अनन्त स्वर्गको राज्यमा प्रवेश गर्ने सन्तानहरू हुन सकौं ।