के तपाईंले अन्तिम आदम र हव्वाको बारेमा सुन्नुभएको छ ?

3703भ्यु

बाइबल परमेश्वरको ६ दिनको सृष्टि-कार्यबाट सुरु हुन्छ । परमेश्वरले आकाश, पृथ्वी, सूर्य, चन्द्र, तारा, जीवजन्तु, वनस्पति लगायत अन्य सबै प्राणीलाई वचनद्वारा सृष्टि गर्नुभयो । छैटौँ दिनमा परमेश्वरले भूमिको माटो र जीवनको सासद्वारा मानिस बनाउनुभयो । यसरी सृष्टिको अन्तिम दिनमा पहिलो पुरुष र स्त्री अर्थात् आदम र हव्वा परमेश्वरको स्वरूपमा बनाइए ।

बाइबलको सत्यता अध्ययन गर्ने हो भने ६ दिनको सृष्टि कार्यचाहिँ केवल बितिगएको इतिहास मात्र नभएर परमेश्वरको मुक्तिको प्रबन्धसम्बन्धी अगमवाणी हो । परमेश्वरको मुक्तिको प्रबन्ध समाविष्ट ‘आत्मिक खाका’मा, सातौँ दिनको विश्रामभन्दा ठीकअघि देखा परेका आदम र हव्वाले मुक्तिको प्रबन्धको अन्त्यमा देखा पर्नुहुने मुक्तिदाता अर्थात् पवित्र आत्मा र दुलहीलाई जनाउँछन् ।

६ दिनको सृष्टिको अगमवाणी

बाइबल सुरुदेखि पढ्ने जो कोहीले पनि उत्पत्ति अध्याय १मा लिखित ‘परमेश्वरले ६ दिनमा आकाश र पृथ्वी सृष्टि गर्नुभएको कुरा’ देखेको हुन्छ । योचाहिँ केवल विगतको इतिहास मात्र होइन तर अगमवाणी हो ।

“आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु । म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु ।” यशै ४६:१०

यदि परमेश्वरले आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी दिन सक्नुहुन्छ भने उहाँलाई मुक्तिको प्रबन्धबारे पनि पहिल्यै थाहा थियो भन्ने अर्थ हो । जसरी कुनै भवन निर्माण गर्नुअघि सबैभन्दा पहिला खाका खोरिन्छ, त्यसै गरी मुक्तिको प्रबन्ध अगि बढाउनुअघि परमेश्वरले सबैभन्दा पहिला योजना बनाउनुभयो । परमेश्वरले योजना गर्नुभएको आत्मिक खाका भनेकै उत्पत्ति अध्याय १मा लिखित ६ दिनको सृष्टि-कार्य हो ।

परमेश्वरले ६ दिनसम्म आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अनि सातौँ दिनमा विश्राम गर्नुभयो (उत २:२)। उहाँले आदिमा नै विश्राम गरिसक्नुभएको थियो, यद्यपि उहाँले लामो समयपछि यसो भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन् (भज ९५:११) ।” यहाँ परमेश्वरको विश्रामलाई विगतको इतिहासको रूपमा नभएर भविष्यमा हुने घटनाको रूपमा अभिलेख गरिएको छ । प्रेरित पावलले “कसै-कसैलाई उहाँको विश्राममा प्रवेश गर्न अझै बाँकी नै छ” भनेर वर्णन गरे, र तिनीहरू नै नयाँ करारको युगका सन्तहरू हुन् भनी बताए ।

यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए । किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्नुभएको छ, “परमेश्वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो ।” र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन् ।” कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, … यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, … हिब्रू ४:३-६, ११

यहाँ ‘हामी’ले स्वर्गतर्फ अगि बढिरहेका नयाँ करारका सन्तहरूलाई जनाउँछ । तसर्थ ६ दिनको सृष्टिपछि आउने सातौँ दिनको विश्रामचाहिँ परमेश्वरका प्रजाले स्वर्गको राज्यमा उपभोग गर्ने विश्रामबारे अगमवाणी हो ।

विश्रामभन्दा ठीकअघि सृष्टि भएका आदम र हव्वा

सृष्टि-कार्यको इतिहासलाई हेर्ने हो भने छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै जनावरहरूलाई बनाउनुभयो, र अन्त्यमा आदम र हव्वालाई बनाउनुभयो ।

अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।” उत १:२४-२८

परमेश्वरले अन्य जीवजन्तुलाई भन्दा फरक, आदम र हव्वालाई चाहिँ आफ्नै स्वरूपमा बनाउनुभयो । उहाले तिनीहरूलाई सबै जीवित प्राणीहरूमाथि अधिकार गर्न दिनुभयो । सातौँ दिनको विश्रामअघि देखा परेका आदम र हव्वाले कसलाई सङ्केत गर्छन् होला ?

आदमले पिता परमेश्वरलाई सङ्केत गर्छन्

आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् । ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । … किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो । रोम ५:१४-१५

यहाँ ‘आउनुहुने’ भन्नाले, आदमको पापले गर्दा मर्नुपर्ने भएका मानव-जातिलाई मृत्युदण्डबाट बचाउन क्रूसमा टाँगिनुभएका येशूज्यू हुनुहुन्छ । साथै बाइबलमा येशूज्यूलाई, मानव-जातिलाई बचाउनुहुने अन्तिम आदमको रूपमा व्यक्त गरिएको छ ।

यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो । १ कोर १५:४५

यसरी बाइबलमा आदमले, शरीरमा आउनुभएका पिता परमेश्वर– येशूज्यूलाई सङ्केत गर्छन् (यशै ९:६) । त्यसोभए ६ दिनको सृष्टि-कार्यको अगमवाणीमा, अन्तिम दिन अर्थात् शबाथको अघिल्लो दिनमा देखा परेका आदमले पहिलो आगमनका येशूज्यूलाई सङ्केत गर्छन् होला कि दोस्रो आगमनका येशूज्यूलाई सङ्केत गर्छन् होला ? पहिलो आगमका येशूज्यू अनन्त विश्रामभन्दा ठीकअघि होइन तर आजभन्दा २,००० वर्षअघि येशूज्यू यो पृथ्वीमा आउनुभएको थियो । यसकारण छैटौँ दिनमा देखा परेका आदमले अनन्त विश्रामभन्दा ठीकअघि अर्थात् अन्त्यका दिनहरूमा आउनुहुने दोस्रो आगमनका येशूज्यूलाई सङ्केत गर्छन् । यसरी दोस्रो आगमनका येशूज्यू अन्तिम आदमको रूपमा देखा पर्नुहुने कुरा परमेश्वरले आदिदेखि नै अगमवाणी गर्नुभएको थियो ।

हव्वाले माता परमेश्वरलाई सङ्केत गर्छिन्

छैटौँ दिनमा परमेश्वरको स्वरूपमा सृष्टि भएका आदमले दोस्रो आगमनका येशूज्यू अर्थात् अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने पिता परमेश्वरलाई सङ्केत गर्छन् । अनि सोही दिनमा परमेश्वरकै स्वरूपमा सृष्टि भएकी हव्वाले चाहिँ अन्त्यका दिनहरूमा शरीरमा आउनुहुने माता परमेश्वरलाई सङ्केत गर्छिन् ।

“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” प्रका १९:७

अन्त्यका दिनहरूमा थुमाको साथमा दुलही अर्थात् थुमाकी पत्नी पनि देखा पर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । यहाँ थुमाले येशूज्यूलाई त जनाउँछ (यूह १:२९), तर दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ, किनभने यहाँ दुलही पनि उहाँसँगै देखा पर्नुभएको छ । अर्थात् दोस्रो आगमनको समयमा, दोस्रो आगमनका येशूज्यूसँगै दुलही पनि देखा पर्नुहुनेछ भन्ने वचन हो । प्रकाश अध्याय २२मा, दोस्रो आगमनका येशूज्यू र उहाँकी दुलहीलाई, पवित्र आत्मा र दुलही भनेर अभिव्यक्त गरिएको छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” प्रका २२:१७

अनन्त विश्रामभन्दा ठीकअघि देखा पर्नुहुने पवित्र आत्मा र दुलहीचाहिँ, विश्रामभन्दा ठीकअघि सृष्टि भएका आदम र हव्वाका वास्तविकता हुनुहुन्छ । फेरि भन्नुपर्दा, पवित्र आत्मा र दुलहीचाहिँ यी अन्त्यका दिनहरूमा देखा पर्नुहुने अन्तिम आदम र अन्तिम हव्वा हुनुहुन्छ । त्यसोभए अन्तिम हव्वा हुनुभएकी दुलही अर्थात् थुमाकी पत्नी को हुनुहुन्छ होला ?

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०

स्वर्गदूतले प्रेरित यूहन्नालाई दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम देखाए । योचाहिँ अन्तिम युगमा देखा पर्नुहुने दुलही नै स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी व्यक्ति हुनुहुन्छ भन्ने अर्थ हो । बाइबलमा, स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी व्यक्तिलाई स्वर्गीय माता भनिएको छ ।

तर माथि(स्वर्ग)को यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

दुलही अर्थात् थुमाकी पत्नीचाहिँ यी अन्त्यका दिनहरूमा दोस्रो आगमनका येशूज्यू हुनुभएका पिता परमेश्वरसँगै यो पृथ्वीमा शरीरमा आउनुहुने माता परमेश्वर हुनुहुन्छ । ६ दिनको सृष्टि-कार्यको अगमवाणीअनुसार मुक्तिको प्रबन्धको अन्त्यमा पिता परमेश्वर र माता परमेश्वर अन्तिम आदम र अन्तिम हव्वाको रूपमा यो पृथ्वीमा देखा पर्नुहुनेछ ।

अन्तिम आदम र हव्वा, पवित्र आत्मा र दुलही

केही मानिसहरूले दुलहीचाहिँ मण्डली अर्थात् सन्तहरू हुन् भनेर जिद्दी गर्दै माता परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन् । तर ६ दिनको सृष्टि-कार्यको अगमवाणीद्वारा परमेश्वरले, अन्तिम आदम र हव्वा अर्थात् पवित्र आत्मा र दुलहीचाहिँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा प्रकट गरिदिनुभएको छ ।

अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।” उत १:२६-२८

परमेश्वरले आदम र हव्वालाई समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूलाई वशमा राख्ने अधिकार भन्नुभयो । यो नै आदम र हव्वा पृथ्वीका सबै प्राणीहरूका शासक हुन् भन्ने अर्थ हो । यहाँ हामीले ध्यान दिनुपर्ने कुराचाहिँ, हव्वा पनि आदमकै बराबरीकी शासक हुन् भन्ने यथार्थता हो । अर्थात् आदमको वास्तविकता दोस्रो आगमनका येशूज्यू हुनुभएजस्तै, हव्वाको वास्तविकता हुनुभएकी दुलही पनि मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा हो ।

अगमवाणीगत रूपमा हेर्दा, आदम र हव्वाको अधिकारमुनि रहेका सबै जीवजन्तुहरूले, संसारका मुक्ति पाउने सबै मानिसहरूलाई जनाउँदछ (प्रे १०:११-१६, २८) । पवित्र आत्मा र दुलहीद्वारा डोरिने परमेश्वरका प्रजालाई, आदम र हव्वाले अधिकार गर्ने जीवजन्तुसँग तुलना गरिएको छ । तसर्थ हव्वाको वास्तविकताचाहिँ मुक्ति पाउने सन्तहरू होइनन्, तर ती सन्तहरूलाई मुक्तिमा डोऱ्याउनुहुने मुक्तिदाता हुनुहुन्छ ।

अन्त्यका दिनहरूमा देखा पर्नुहुने दुलहीचाहिँ सारा मानव-जातिलाई उद्धार गर्नुहुने माता परमेश्वर हुनुहुन्छ । यस अन्तिम युगमा परमेश्वरका प्रजाले अन्तिम आदम र अन्तिम हव्वा हुनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई अर्थात् जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीलाई ग्रहण गरेमा मात्र अनन्त जीवन पाउन सक्नेछन् ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७