गलाती ४:२६मा उल्लेखित
‘यरूशलेम माता’ को हुनुहुन्छ होला ?

21430भ्यु

यरूशलेमचाहिँ हरेक वर्ष विश्वभरिबाट आउने तीर्थयात्रीहरूको घुइँचो लाग्ने ठाउँ हो । ख्रीष्टियानहरूका लागि यो ठाउँ येशूज्यूका फुटप्रिन्टहरू छोडिएको सुसमाचारको ऐतिहासिक स्थल हो । यहूदीहरूका लागि यो ठाउँचाहिँ मन्दिर अवस्थित रहेको ‘प्रतिज्ञाको भूमि’ हो भने मुस्लिमहरूका लागि ठाउँ पवित्र स्थल हो । बाइबलमा हेर्ने हो भने यरूशलेमचाहिँ परमेश्वरको नाउँ राख्नका लागि चुनिएको पवित्र स्थल हो भनिएको छ (१ राज ११:३६) । तर नयाँ करार बाइबलको गलातीको पुस्तकमा चाहिँ यरूशलेमलाई अलि विशेष तरिकाले उल्लेख गरिएको छ ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

माथिको अर्थात् स्वर्गको यरूशलेमलाई ‘हाम्री आमा’ भनिएको छ । प्रेरित पावलले किन स्वर्गीय यरूशलेमलाई सन्तहरूकी आमा भनेर लेखेका होलान् ? बाइबलले गवाही दिएको यरूशलेम माता को हुनुहुन्छ भन्नेबारे बुझौं ।

मुक्तिको शरणस्थान, यरूशलेम

बाइबलमा हेर्दा यरूशलेमचाहिँ आत्माको मुक्तिसँग सम्बन्धित ठाउँको रूपमा रहेको पाइन्छ । पुरानो करारका अगमवक्ताहरूले, भविष्यमा जाति-जातिहरू यरूशलेममा आएर साँचो आत्मिक सान्त्वना पाउनेछन्, र यरूशलेमबाट बग्ने जीवनको पानी सारा संसारमा बग्नेछ भनेर अगमवाणी गरेका थिए ।

“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ । … जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् । तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन् ।” यशै ६०:१-४

“हे यरूशलेमलाई प्रेम गर्ने हो, … तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” यशै ६६:१०-१४

त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ । जक १४:८

बाइबलमा अगमवाणी गरिएको आत्मिक सान्त्वना र जीवनको पानीको आशिष् पाउने आशमा धेरै मानिसहरू प्यालेस्टाइनस्थित यरूशलेमको भ्रमण गर्ने गर्छन् । तर दुःखको कुरा के हो भने राजनीति, धर्म र अन्य मुद्दाका कारण यरूशलेममा निरन्तर विवाद र द्वन्द्व चलिरहेको छ । बाइबलमा उल्लेखित शान्ति र मुक्तिदेखि यो यरूशलेम धेरै नै टाढा छ । त किन बाइबलमा यरूशलेमलाई ‘मुक्तिको शरणस्थान’ भनिएको होला ?

यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर

वास्तवमा यशैया र जकरियाको पुस्तकको अगमवाणीमा उल्लेखित यरूशलेमले पार्थिव यरूशलेमलाई होइनकि स्वर्गीय यरूशलेमलाई जनाउँछ । हुन त स्वर्गीय यरूशलेम भनेको स्वर्गमा भएको परमेश्वरको सहर हो, तर यसले अर्को कुरालाई पनि जनाउँछ ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । … अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं । गला ४:२६-२८

प्रेरित पावलले स्वर्गीय यरूशलेमलाई, मुक्ति पाउने सन्तहरूकी ‘आमा’ भनेर उल्लेख गरेका छन् । यरूशलेमले आत्माहरूकी आमा, अर्थात् माता परमेश्वरलाई सङ्केत गर्दछ । अनि यरूशलेम मातालाई विश्वास गर्नेहरूलाई पावलले ‘प्रतिज्ञाका सन्तान’ भनेका छन् । परमेश्वरको प्रतिज्ञा अनन्त जीवन हो (१ यूह २:२५) । अनन्त जीवनको आशिष् पाउने सन्तहरूको चाहिँ आत्माका पिता मात्र होइनकि (मत्ती ६:९) आत्माकी माता पनि हुनुहुन्छ । अब यरूशलेमको वास्तविकता हुनुभएकी माता परमेश्वरको अस्तित्वको बारेमा थप अध्ययन गरौं ।

तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । …” यसरी परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो । सरल नेपाली बाइबल उत १:२६-२७

योचाहिँ आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएपछि मानिसलाई बनाउनुभएको दृश्य हो । यहाँ परमेश्वरले आफूलाई ‘म’ होइन तर ‘हामी’ भनेर बहुवचन शब्द प्रयोग गर्नुभयो । साथै परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । यसले, परमेश्वरचाहिँ नर र नारी गरेर दुई वटा स्वरूपमा हुनुहुन्छ भन्ने कुरा बुझाउँछ । अहिलेसम्म, परमेश्वरलाई विश्वास गर्छौं भन्नेहरूले नर स्वरूपका परमेश्वर मात्र अस्तित्वमा हुनुहुन्छ भन्ठान्दै परमेश्वरलाई केवल “पिता” भनेर पुकार्दैआएका छन् । तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका परमेश्वर मात्र होइनकि नारी स्वरूपकी ‘माता’ परमेश्वर पनि हुनुहुन्छ ।

अनन्त जीवनदाता, यरूशलेम माता

यसरी बाइबलमा मुक्तिको स्थानको रूपमा अभिव्यक्त गरिएको यरूशलेमको वास्तविकता नै माता परमेश्वर हुनुहुन्छ । त्यसोभए मुक्ति र माता परमेश्वरबीच कस्तो सम्बन्ध छ होला ?

परमेश्वरले यावत् थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभयो, र ती सृष्टिका थोकहरूद्वारा हामीलाई उहाँको अस्तित्व र ईश्वरीय स्वभाव जान्न सक्ने गराउनुभयो (प्रका ४:११; रोम १:१८-२०) । परमेश्वरले बनाउनुभएका असंख्य थोकहरूमध्ये जीवनको बारेमा सोचौं । संसारका सम्पूर्ण जीवित प्राणीहरूले बुबा र आमाबाट जीवन प्राप्त गर्छन् । हुन त बुबा पनि अनिवार्य रूपमा हुनुपर्छ तर सन्तानलाई गर्भधारण गरेर जन्माउने कार्यचाहिँ आमाले गर्नुहुन्छ ।

जीवन जन्माउने प्रक्रियामा आमाको भूमिकालाई निर्णायक बनाउनुमा परमेश्वरको कस्तो इच्छा छ होला ? त्यो नै, जसरी शारीरिक जीवन शारीरिक आमाद्वारा दिइन्छ, त्यसरी नै परमेश्वरले मानव-जातिलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन पनि आत्मिक आमाद्वारा दिइन्छ भन्ने कुरा बुझाउनको निम्ति हो । अनन्त जीवन अर्थात् मुक्तिचाहिँ केवल माता परमेश्वरद्वारा मात्र पाउन सकिन्छ । परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो मानिस आदम र हव्वाद्वारा पनि यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । परमेश्वरको स्वरूपमा सृष्टि भएका पहिलो मानिस आदमले, यो पृथ्वीमा आउनुहुने येशू ख्रीष्टलाई सङ्केत गर्दछ ।

आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् । ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । रोम ५:१४

त्रिएकको सिद्धान्तअनुसार हेर्ने हो भने पुत्र येशू र पिता यहोवा एकै परमेश्वर हुनुहुन्छ (यशै ९:६) । फेरि भन्नुपर्दा, येशूज्यू मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ । यदि आदमले आउनुहुने पिता परमेश्वरलाई सङ्केत गर्दछन् भने तिनकी पत्नी हव्वाले आउनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।

आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । उत ३:२०

हिब्रू भाषामा ‘हव्वा’को अर्थ जीवन हो । परमेश्वरको स्वरूपमा सृष्टि भएकी पहिलो नारीको नाउँ ‘हव्वा’ अर्थात् जीवन राखिनुको कारणचाहिँ सन्तानलाई जीवन दिने कार्यमा आमा अर्थात् नारीको भूमिका निर्णायक हुने भएकोले गर्दा हो । हव्वालाई ‘सबै जीवितहरूकी आमा’ भनेर वर्णन गरिएको बाइबलीय अभिलेखलाई हेर्दा पनि अनन्त जीवनचाहिँ अन्तिममा माता परमेश्वरद्वारा नै दिइन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।

अन्त्यका दिनहरूमा देखा पर्नुहुने यरूशलेम माता

अनन्त जीवन दिनुहुने माता परमेश्वर देखा पर्नुहुने समयबारे पनि बाइबलमा लेखिएको छ । २,००० वर्षअघि येशूज्यूले आफ्ना चेलाहरूलाई “अन्त्यको दिनमा जीवित पार्नेछु” भनेर बारम्बार भन्नुको कारणचाहिँ उहाँले तिनीहरूलाई अन्त्यको दिनमा जीवन दिनुहुने भएकोले गर्दा हो (यूह ६:३९, ४०, ४४, ५४) । मुक्तिदाता हुनुभएका येशूज्यूले उत्तिखेरै पनि जीवन दिन सक्नुहुने भए तापनि किन उहाँले त्यो कामलाई अन्त्यको दिनसम्म सार्नुभएको होला ? त्योचाहिँ अन्त्यका दिनहरूमा अनन्त जीवन दिनुहुने माता परमेश्वर देखा पर्नुहुने अगमवाणी भएकोले गर्दा हो ।

यस्तो मुक्तिको प्रबन्धलाई सृष्टि-कार्यको अगमवाणीमा पनि देखाइएको छ । ६ दिनको सृष्टि-कार्यचाहिँ परमेश्वरको मुक्तिको कार्यसम्बन्धी अगमवाणी हो । सृष्टिको अन्तिम दिन रहेको छैटौँ दिनमा हव्वालाई सृष्टि गरिएको कुराचाहिँ मुक्तिको कार्यको अन्त्यमा माता परमेश्वर देखा पर्नुहुने विषयको अगमवाणी हो । परमेश्वरले सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवनचाहिँ अन्त्यमा माता परमेश्वरद्वारा दिइने भएकोले येशूज्यूले पनि ‘जीवनचाहिँ अन्त्यको समयमा जब माता परमेश्वर देखा पर्नुहुन्छ, तब दिइनेछ’ भनेर जोड दिनुभयो ।

अन्त्यको समयमा माता परमेश्वर देखा पर्नुहुने बारे गरिएको प्रत्यक्ष अगमवाणी हेरौं ।

“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” … अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” प्रका १९:७-९

थुमाको विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम्‌ तयार भएकी छिन् भनेर लेखिएको छ । पहिलो आगमनको समयमा चाहिँ थुमा अर्थात् येशूज्यू मात्र देखा पर्नुभएको हुनाले योचाहिँ पहिलो आगमनसम्बन्धी अगमवाणी होइन तर दोस्रो आगमनसम्बन्धी अगमवाणी हो । अन्त्यको समयमा जब येशूज्यू फेरि आउनुहुन्छ, तब उहाँकी दुलही पनि देखा पर्नुहुनेछ । थुमाकी पत्नी को हुनुहुन्छ भन्नेबारे प्रेरित यूहन्नाले पनि लेखेका छन् ।

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई … परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०

स्वर्गदूतले दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु भनेर ‘स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम’ देखाए । यसकारण दुलही अर्थात् थुमाकी पत्नी नै स्वर्गीय यरूशलेम हुनुहुन्छ । प्रेरित पावलले स्वर्गीय यरूशलेमचाहिँ ‘हाम्री आमा’ हुनुहुन्छ, अनि मुक्ति पाउने सन्तहरूचाहिँ ‘प्रतिज्ञाको सन्तान’ र ‘स्वतन्त्र स्त्रीका सन्तान’ हुन् भनेर स्पष्टसँग गवाही दिएका छन् (गला ४:२६-३१) । साथै अनन्त जीवनको प्रतिज्ञा पाएका सन्तहरूको चाहिँ, स्वतन्त्र हुनुभएकी स्वर्गीय यरूशलेम माता हुनुहुन्छ भनेर पनि स्पष्टसँग गवाही दिएका छन् ।

आमाले आफ्नो बच्चालाई सान्त्वना दिएझैँ यरूशलेमचाहिँ सान्त्वना र शान्तिको वासस्थान, र जीवनको पानीको मूल हुनेछ भनेर पुरानो करारका अगमवक्ताहरूले पनि अगमवाणी गरेका थिए । अगमवक्ताहरूले प्रकाशमार्फत देखेका यरूशलेमचाहिँ अरू कोही नभएर हाम्री माता परमेश्वर हुनुहुन्छ । त्यसैले यस वर्तमान समयमा हामीले खोज्नुपर्ने मुक्तिको शरणस्थानचाहिँ पार्थिव यरूशलेम होइन तर स्वर्गीय यरूशलेम, हाम्री माता परमेश्वर हुनुहुन्छ ।