सियोनका परिवारहरू संसारभरिका मण्डलीहरूमा भेला भएर शबाथ-दिन पालन गर्दै आशिष् पाइरहेका छन् । परमेश्वर स्वयम्ले यस पृथ्वीमा आउनुभएर शबाथ-दिन पालन गर्नुभयो र हामीलाई आशिष् दिने प्रतिज्ञा गर्नुभई शबाथ-दिन पालन गर्न आज्ञा दिनुभयो । हामी परमेश्वरका सन्तान भएकाले परमेश्वरले गर्नुभएअनुसारै गरिरहेका छौं ।
परमेश्वरले यस पृथ्वीमा आउनुभएर “मैले जसो गरें तिमीहरूले पनि त्यसै गर” भन्ने एउटा आदर्श उदाहरण देखाइदिनुभयो (यूह १३:१५) । परमेश्वरको वचन पालन नगर्नेहरूलाई उहाँका सन्तान भन्न मिल्दैन । परमेश्वरले गर्नुभएका कामहरू गर्दा मात्र हामी परमेश्वरका सन्तान कहलिन सक्छौं । हामी परमेश्वरका सन्तान भएकाले स्वर्ग-राज्यका नागरिक हौं । स्वर्ग-राज्यका नागरिकको रूपमा परमेश्वरको व्यवस्था पालन गर्दै उहाँको उदाहरण पछ्याउँदा परमेश्वरले हाम्रो हीन शरीरलाई उहाँको महिमित शरीरजस्तै स्वरूपमा परिवर्तन गरिदिनुहुनेछ (यूह ८:३७-३९, १८:३६; फिलि ३:१८-२१) ।
परमेश्वर ज्योति हुनुहुन्छ र उहाँ प्रेम हुनुहुन्छ । उहाँको प्रेमको ज्योति प्राप्त गरेका सन्तानहरूझैँ हामी प्रेममा बाँधिएर परमेश्वरको राज्यको उत्तराधिकार प्राप्त गरौं । अनि यस संसारको लोभ, ईर्ष्या, डाह र दुष्ट कामहरूको पछि लाग्ने पुरानो स्वभावलाई त्यागौं । कसैसँग मनमुटाव भएको छ भने पनि हामीले घाम अस्ताउन अघि नै आफ्नो रिस फाल्नुपर्छ र सोही दिन मेलमिलाप गर्नुपर्छ । हामीले सधैँ अरूलाई प्रोत्साहन दिने र अनुग्रहमय वचनहरू मात्र बोल्नुपर्छ (रोम १२:१-२; एफि ४:२२-५:५) । यसो गर्दा आफूलाई मात्र फाइदा हुने होइन कि, धेरै सियोनका परिवारका आत्माहरू पनि बाँच्न सक्नेछन् । यदि हामीले गनगन गर्यौं भने धेरै मानिसहरूले त्यसै गरी गनगन गर्न थाल्नेछन् र अन्ततः विनाशमा पुग्नेछन् । तर यदि हामीले परमेश्वरलाई धन्यवाद चढायौं भने धेरै मानिसहरूले परमेश्वरलाई धन्यवाद चढाउँनेछन् र आत्मिक जीवन प्राप्त गर्नेछन् । स्वर्गीय राजपरिवारका सन्तानहरू भएअनुरूप हामीले माथिका कुराहरूमा मन लगाउनुपर्छ । हामीले स्वर्गको आत्मिक भोजन खाँदै पौष्टिक तत्त्व प्राप्त गर्नुपर्छ र स्वर्गीय सन्तान भएअनुरूप व्यवहार गर्नुपर्छ । तब बल्ल हामीले महिमित स्वर्ग-राज्यमा प्रवेश गर्ने आशिष् प्राप्त गर्न सक्नेछौं (कल ३:१-४) ।
हामीलाई अनन्त जीवन र आशिष् दिनको निम्ति परमेश्वर यस पृथ्वीमा आउनुभयो र स्वेच्छा साथ क्रूसमा रगत बगाउनुभएर पीडा भोग्नुभयो । उहाँ दोस्रो पटक शरीर धारण गरेर आउनुभयो र आफैँले सृष्टि गर्नुभएका प्राणीहरूबाट गिल्ला र खिसी पाउनुभयो । उहाँ हिउँदमा कठ्याङ्ग्रिनुभयो, ग्रीष्ममा पसिना बगाउनुभयो, भोक सहनुभयो र खुट्टामा फोका उठुन्जेल सन्तानहरूलाई खोज्दैहिँड्नुभयो । यसरी अनेकौँ कष्ट सहनुपरे तापनि सन्तानहरूलाई अनन्त नरकबाट बचाएर अनन्त स्वर्गमा लैजाने आनन्दले उहाँको अनुहारबाट मुस्कान कहिल्यै हराएन । उहाँले आफ्ना सन्तानहरू बचाउन ३७ वर्षसम्म कष्टपूर्ण सुसमाचारको जीवन बिताउनुभयो । पापी सन्तानहरूलाई बचाउनको निम्ति जस्तोसुकै पीडा सहन तयार हुनुभएका पितालाई सम्झेर हामी पनि नम्र हुनुपर्छ र स्वर्ग-राज्यमा गएर परमेश्वरसँग महिमामय जीवन बिताउन योग्य सुन्दर स्वभाव विकास गर्नुपर्छ ।
प्रेम हुनुभएका परमेश्वरले हामीलाई अनन्त जीवन दिने निस्तार-चाडको प्रेम अरूलाई पनि बाँड्न आग्रह गर्नुभएको छ । पिताको काम पूरा गर्न हिँड्ने सन्तानहरूको स्वभाव पिताको जस्तो प्रेमपूर्ण हुनुपर्छ । परमेश्वरका सन्तानहरूको स्वभाव असल भयो भने परमेश्वरलाई विश्वास नगर्ने मानिसहरूले पनि उहाँलाई स्वीकार गर्नेछन् । परमेश्वरको प्रेमलाई शिरोपर गर्ने सन्तानहरू सहनशील हुन्छन्, घमन्डी हुँदैनन् र अशिष्ट व्यवहार गर्दैनन् । परमेश्वरले आफ्नो सबै लाभ त्यागेर पापीहरूलाई बचाउनुभएझैँ उनीहरूले पनि आफ्नो स्वार्थ खोज्दैनन् । उनीहरू क्रोध, घमण्ड, डाह वा लोभमा फस्दैनन्, झूट बोल्दैनन् र दुष्ट कुराहरू सोच्दैनन् (१ कोर १३:१-१३) ।
हृदयमा प्रेम भरेर मृत्युको बाटोतर्फ गइरहेका आत्माहरूलाई बचाऔँ । पापी मनस्थिति बोकेर कदापि प्रचार नगरौं, बरु आफूले बलिदान गर्नुपरे तापनि एउटा आत्मालाई बचाउने ख्रीष्टको मन लिएर प्रचार गरौं । यो नै परमेश्वरको सन्तानले गर्नुपर्ने काम हो । ख्रीष्ट परमेश्वर हुनुभए तापनि उहाँले आफूलाई दासजस्तै नम्र तुल्याउनुभएर धेरै मानिसहरूलाई बचाउनुभयो । हामीले पनि ख्रीष्टको त्यस्तै मन धारण गर्यौं भने धेरै मानिसहरूलाई प्रचार गर्न सक्नेछौँ (फिलि २:५-९; १ कोर ९:१९) । प्रेरित पावलले आफ्नो पुरानो स्वभावलाई क्रूसमा टाँगेर आफ्नो हृदय ख्रीष्टको प्रेमले भर्दै नम्रता र बलिदानका साथ सुसमाचार प्रचार गरे । परमेश्वरका वचनहरू राम्ररी पालन गरेर प्रशस्त आशिष् पाएका पावलले जस्तै हामीले पनि परमेश्वरले सिकाउनुभएका वचनहरूलाई व्यवहारमा लागू गर्यौं भने हामीले प्रशस्त फल फलाउने आशिष् पाउनेछौं (यूह १५:१-८) ।
परमेश्वर स्वयम् हाम्रा आत्मिक चिकित्सक हुनुहुन्छ । उहाँले हाम्रा पापमय स्वभाव र खराबीहरूलाई आफ्ना वचनहरूद्वारा निको पारिदिनुहुन्छ र हामीलाई स्वर्गका नियमहरू पालन गर्न सिकाई स्वर्ग-राज्यमा डोर्याउनुहुन्छ । यसकारण हामी परमेश्वरका सन्तान भएअनुरूप उहाँका उदाहरणहरू पछ्याऔं र उहाँका वचनहरू राम्ररी पालन गर्दै लगनशीलतापूर्वक व्यवहारमा लागू गरौं (मत्ती ४:४, ९:१२-१३) । यसो गर्दै हामी सबै जना मुक्तिको सन्देश प्रचार गर्दै धेरै मानिसहरूलाई सियोनमा डोर्याऔं र स्वर्गमा सदासर्वदा ताराहरूझैँ चम्किरहने सन्तानहरू बनौं ।