हे पिता अब्राहाम !

2003भ्यु
विषयसूची

मानिसहरू जो कोही होस् जन्मेपछि अन्त्यमा सबैले मृत्यु भोग्छन् । मानिसले जतिसुकै परिश्रम गर्दै जीवन बिताए पनि, नचाहँदानचाहँदै उसले मृत्युको सामना गर्नुपर्छ । त्यसैकारण परमेश्वरले बाइबलमा “तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ” भन्नुभयो ।

मृत्यु भोग्न नचाहने मानवजातिहरूका खातिर मृत्युबाट छुटकारा गराउने सत्यता लिएर स्वर्गीय पिता स्वयम् यस पृथ्वीमा आउनुभयो । मुक्तिको अनुग्रह प्रदान गर्नुभएर उहाँले हाम्रो निम्ति अनन्त जीवन पाउने बाटो खोलिदिनुभयो । मृत्यु, शोक, आँसु र पीडा नहुने स्वर्ग-राज्यमा अनन्त जीवनको आनन्द उपभोग गर्ने यहाँहरू साँच्चै आशिषित हुनुहुन्छ । अमरणशील हुनुभएका परमेश्वरको देह र रगत निस्तार-चाडको माध्यमद्वारा प्रदान गर्नुभएर हामीलाई स्वर्ग-राज्यमा सदाकाल जिउने गराउनुभएका परमेश्वरलाई धन्यवाद चढाऔं ।

बाइबलमा हेर्ने हो भने, परमेश्वरको वचन नसुनेर मृत्यु भोगेको धनी मानिस र परमेश्वरमाथि साँचो विश्वास राखेको गरिब मानिसको विषयमा उल्लेख गरिएको छ । दुवैले अन्त्यमा मृत्यु भोगे, तर तिनीहरू दुवैको परिणाम बिलकुलै भिन्न थियो । एक जना अब्राहामको सँगमा लगिए भने अर्को व्यक्तिचाहिँ पछुतोले भरिएको नरकको आगोमा फालिए । गरिब मानिसको शारीरिक अवस्था गाह्रो भए पनि उसले परमेश्वरका सबै आज्ञाहरू राम्ररी याद गरेर पालन गर्‍यो, तर धनी मानिसले चाहिँ यस पृथ्वीको आफ्नो क्षणीक जीवनमा केवल धन-सम्पत्ति र आनन्द उपभोग गरेर परमेश्वरको वचनलाई बेवास्ता गरेकाले दुःखद् अन्त्यको सामना गऱ्यो । नरकचाहिँ, मानिसहरूले आफ्नो जिब्रोलाई शीतल पार्न औंलाको टुप्पाको एक थोपा पानीको लागि पनि बिन्ती गर्ने ठाउँ हो भनेर वर्णन गरिएको छ । तसर्थ यस पृथ्वीमा परदेशी र प्रवासी जीवन जिउँदा, हामीले परमेश्वरको भय मानेर उहाँले दिनुभएको वचन श्रद्धापूर्वक पालन गरी स्वर्ग जानको लागि तयारी गर्नुपर्छ (लूक १६:१९-२६, १ पत्र १:१७) ।

परमेश्वरले हामीलाई कुनै पनि हालतमा नरकमा नजान आग्रह गर्नुभएको छ । उहाँले हामीलाई जागा रहेर स्वर्गको निम्ति तयारी गर्न र हाम्रा छिमेकीहरू पनि स्वर्ग-राज्य प्रवेश गर्न सकून् भनी सुसमाचार प्रचार गर्न बोलावट गर्नुभएको हो । उहाँले “सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ ?” भन्नुभएर, यदि हामीले प्रचार नगरेको कारणले हामीसँगै भएको व्यक्तिले मुक्ति पाएन भने परमेश्वरले त्यस मानिसको रगतको लेखा हामीबाट लिनुहुन्छ, र हामीले वचन सुनाउँदा सुनाउँदै पनि उक्त व्यक्तिले वचन सुनेन भनेचाहिँ त्यसको लेखा हामीबाट लिनुहुनेछैन भनेर भन्नुभयो (मत्ती १६:२६, इज ३:१७-१९) । राम्रा कुराहरू बाँड्नु नै प्रेम हो । चाहे त्यो भौतिक रूपमा होस् वा आत्मिक रूपमा, जीवन जिउने उचित तरिका भनेको नै बाँड्न जान्नु हो नि, होइन र ? अरूभन्दा पनि मरिरहेको आत्मालाई बचाउनु सबैभन्दा दयालु कार्य भएकोले कुनै पनि आशाविना संघर्ष गरिरहेका संसारका मानिसहरूमाझ स्वर्गको आशा लगनशीलतापूर्वक बाँडौं (लूक १०:२५-३७) ।

परमेश्वरले हामीमाथि दया गर्नुभएर क्रूसको पीडाबाट पनि पछि नहट्नुभई आफ्नो जीवनसमेत त्याग्नुभएर हामीलाई बचाउनुभयो । सत्यता हराएको संसारमा उहाँ पुनः शरीर धारण गरी आन साङ होङ भन्ने नयाँ नाउँ लिएर आउनुभयो र हराएको नयाँ करारको निस्तार-चाड पुनर्स्थापन गरिदिनुभई हामीलाई मुक्तितर्फ डोऱ्याउनुभयो । कष्ट भोग्दा पनि, भोको, नग्न, र एकलै सुसमाचार प्रचार गर्दा पनि आफ्ना सन्तानहरूलाई बचाउने खुसीमा सधैँ मुहारमा मुस्कान लिँदै प्रेम र बलिदानद्वारा पापीहरूलाई पश्चात्तापमा डोऱ्याउनुहुने पितालाई सम्झँदै उहाँको अनुकरण गरौं (मर्क १:३५-३८, प्रका ३:१५-१६) ।

परमेश्वरको सुसमाचारको कार्य गरेर यस पृथ्वीमा दुःख भोग्नेहरूलाई, स्वर्गमा गएपछि त्यति नै महिमा दिनुहुनेछ भनेर भनिएको छ (लूक २२:२७-३०, दान १२:१-३) । सिक्काको दृष्टान्तमा हेर्ने हो भने, कसरी हुन्छ एक आत्मा भए पनि बचाउन प्रयास गर्ने मानिसलाई दश सिक्का र पाँच सिक्का दिइएको थियो । तर आफूसँग भएको एक सिक्का लुकाउने मानिसचाहिँ आफ्नो मुक्तिको बारेमा मात्र सोच्ने र प्रेम नभएको मानिस हो भनेर भन्न सकिन्छ (लूक १९:१५-२७) । सुसमाचारको कार्यमा परमेश्वरको साथ-साथ हिँड्नेहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्, तर सुसमाचारमा सहभागी नहुने र उल्टै त्यसमा बाधा पुर्‍याउनेहरूचाहिँ अनन्त दण्डको भागिदार हुनेछन् (मत्ती २५:३१-४६) । परमेश्वरको वचन नै जीवन हो । परमेश्वरले सबै कुरा देख्नुहुन्छ र प्रत्येकलाई तिनीहरूको कामअनुसार आशिष् र दण्ड दिनुहुन्छ । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि परमेश्वरको आज्ञा पालन गरेर स्वर्ग-राज्यमा हाम्रो निम्ति तयार पारिएको आशिष् प्राप्त गरौं (प्रका २०:११-१५) ।

परमेश्वरका छोरा-छोरीहरू भएको कुरामा गर्व गर्दै साहसका साथ जिउनुहोस् । अनि ती सबै दयालाग्दा आत्माहरूलाई चाँडै पश्चात्तापमा डोऱ्याऔं । भट्टीझैँ दन्कने त्यो दिन, एउटै जरा र एउटै हाँगा पनि नछोडिने त्यो दिनमा परमेश्वरको नाउँको भय मान्नेहरू र यस पवित्र आत्माको युगमा आन साङ होङज्यूको नाउँमा स्तुति र प्रार्थना गर्नेहरू विपत्तिबाट बचाइनेछन् (मला ४:१-३) । हामीहरू यस्तो अमूल्य परमेश्वरको प्रतिज्ञाको वचनलाई आफूमा मात्र सीमित नराखी हाम्रा छिमेकी, परिवार, साथीभाइहरू र हामीले भेट्ने ती सबै मानिसहरूलाई सक्दो धेरै बाँडौं । सदासर्वदा महिमा उपभोग गर्ने स्वर्ग-राज्यमा प्रवेश गर्न भरमग्दुर प्रयास गरौं । अनि ती सबै दयालाग्दा आत्माहरूलाई सुन्दर स्वर्गमा डोऱ्याएर स्वर्ग-राज्यमा सदासर्वदा सुन्दर रूपमा चम्कने सियोनका सन्तानहरू हुनुहोस् भनी आशा गर्दछु ।