स्वर्गीय नागरिकको खुशी

2360भ्यु
विषयसूची

पवित्र आत्मा पायौं भने परमेश्वरको शक्तिले हामीमा काम गर्न सुरु गर्छ । छाप्रो-वासको चाडमा प्रतिज्ञा गरिएको अन्तिम झरी पवित्र आत्मा पाएका हामीहरू स्वर्गीय यरूशलेम मन्दिर निर्माणको सामग्री भेला गर्न सबै एकजुट होऔं ।

यो संसारमा सबै मानिसहरू थकानपूर्ण जीवन जिइरहेका छन् । यो संसारमा कुनै पनि कुरा धेरै भयो भने त्यसलाई व्यवस्थापन गर्न बोझिलो लागेर चिन्तित भइन्छ, अनि थोरै भयो भने पनि खाँचो परेर चिन्तित भइन्छ । लोभले गर्दा धेरै कुराहरू जम्मा गरे पनि ती केही पनि आफ्नो हुँदैन । कारण, यो पृथ्वी हाम्रो वास्तविक घर नभएर पापले दूषित संसार हो । यो पृथ्वीमा हामीले जति वर्ष बिताए पनि ती सबै क्षणिक समय मात्र हुन् । हामीहरू स्वर्गीय गृहनगर फर्क्यौं भने शोक, पीडा र थकानपूर्ण जीवनको पनि अन्त्य हुनेछ । त्यसैले परमेश्वरले यो पृथ्वीको जीवन प्रवासी जीवन हो र बिहान केही समयको लागि देखा परेर हराइजाने तुँवालोजस्तै हो भन्ने वचन दिनुभयो (हिब ११:१३-१६, याक ४:१४) ।

स्वर्गको राज्यचाहिँ अनन्त हर्ष र खुशी पोखिने राज्य हो । परमेश्वरले दिनुभएको आशिष् कसैले पनि खोस्न सक्दैन र ती सदाको निम्ति हाम्रो हुनेछ । त्यसैकारण यो संसारमा रहुञ्जेल हामीले लगनशीलतापूर्वक स्वर्गीय आशिष्‌हरू जम्मा गर्नुपर्छ । परमेश्वरले, हामीले गुमाएको स्वर्ग-राज्य पुनः खोजिदिनुभएर उहाँको प्रेम हामीलाई दिनुभयो । हामीलाई मृत्युपूर्ण पापबाट बचाउने परमेश्वर शरीर धारण गरेर आउनुभई हाम्रो सट्टामा क्रूसमा टाँगिनुभयो, र फेरि दोस्रो पल्ट पनि शरीर धारण गरेर आउनुभएर नयाँ करारको सत्यता खोजिदिनुभई जीवनको फल खुवाउनुभएर हामीलाई बचाउनुभयो । यो अनुग्रह कति महान् छ ।

हाम्रो नागरिकता स्वर्गमा छ (फिलिप्पी ३:१९-२१) । स्वर्गमा विराजमान परमेश्वर हाम्रा पिता हुनुभएकाले उहाँका सन्तान भएका हामीहरू पनि उहाँसँगै जिउनुपर्छ । नयाँ करार निस्तार-चाडद्वारा परमेश्वरले “तिमीहरू मेरा सन्तान हौ” भन्नुभएर हामीमा आफ्नो छाप लगाउनुभई हामीलाई उहाँको एउटै शरीर र एउटै परिवार बनाउनुभयो । शोक नहुने, पीडा नहुने, मृत्यु नहुने स्वर्ग-राज्य हाम्रो गृहनगर भएको कुरा कति खुशीको कुरा हो नि, होइन र ? परमेश्वरका सन्तान भएर स्वर्ग-राज्यमा सदासर्वदा जिउने कुरा, कति खुशीको कुरा होइन र ? यो खुशीलाई हृदयमा खोपेर हर्षोल्लासका साथ स्वर्गको बाटोमा हिँडौं । अनि हामीले भेट्ने सबै मानिसहरूलाई यो अद्भुत ठाउँ, अनन्तको गृहनगरको सँगै यात्रा गर्न आमन्त्रण गर्दै यो खुशीको खबर सुनाऔं ।

आफ्नो गृहनगर फर्कने बेला भएपछि सबैले घर जान तयारी गर्छन्। त्योजस्तै, स्वर्ग जाने मानिसहरूले पनि तयारी गर्नुपर्छ । परमेश्वरले, हामी अहिले जस्तो छौं त्यस्तै स्वरूपमा लैजानुहुने होइनकि, उहाँले हामीलाई परिवर्तन गर्नुहुन्छ भन्नुभएकाले हामीहरू सुन्दर स्वरूपमा परिवर्तन हुनुपर्छ । “असल जीवन जिउनू, धैर्यवान हुनू, भक्तिपूर्ण जीवन जिउनू, गनगन नगर्नू, आलोचना नगर्नू, दाजुभाइ-दिदीबहिनीलाई आफूलाई जस्तै प्रेम गर्नू ।” हाम्रा पिताले हामीलाई खार्नको निम्ति उहाँको वचनद्वारा हामीलाई सधैँ प्रेमद्वारा शिक्षा दिनुहुन्छ ।

सियोनका सन्तानहरू अनन्त जीवन दिने भोजन, परमेश्वरको वचन खाएर जिउनुपर्छ (यशै ५४:१३, यूह ६:२७) । परमेश्वरले हामीलाई नम्र होओ भन्नुहुन्छ भने हामीहरू नम्र हुनुपर्छ । अनि राम्रो जीवन जिउनू भन्नुहुन्छ भने राम्रो जीवन जिउनुपर्छ । हाम्रा पिता प्रेम हुनुहुन्छ भने उहाँका सन्तानहरू पनि प्रेम हुनुपर्छ । हामी असभ्य हुनुहुँदैन, हामी विनम्र हुनुपर्छ, हामी सधैँ विचारशील हुनुपर्छ, हामी रिसाउन धिमा हुनुपर्छ र हामी सहनशील हुनुपर्छ (१ कोर १३:४-१३) । योचाहिँ, आफूलाई लत्याएका पापीहरूलाई बचाउन यो पृथ्वीमा आउनुभएर हाम्रो पापको सट्टा क्रूसमा बलिदान हुनुभएका, प्रेम हुनुभएका परमेश्वरले दिनुभएको शिक्षा हो ।

हामीहरू परमेश्वरले हामीलाई सृष्टि गर्नुभएअनुसारै सुन्दर रूपमा परिवर्तन होऔं । बाइबलमा हामीलाई, कुमाले हुनुभएका परमेश्वरको हातमा भएको माटो भनेर भनिएको छ (यशै ६४:८; यर १८:२-६) । उहाँले हामीलाई सुन्दर स्वर्ग-राज्यमा जिउन सक्ने स्वरूपमा सृष्टि गर्दैहुनुहुन्छ भने हामीहरू केवल उहाँको वचनमा आज्ञाकारी भयौं भने हुन्छ । परमेश्वरले हामीलाई स्वर्गीय यरूशलेम मन्दिरको एकदमै उत्कृष्ट सामग्री बनाउँदैहुनुहुन्छ । हामीले परमेश्वरको वचनअनुसार आफूलाई भक्तिमा तालिम दिएर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गेरी, अरूलाई आफूभन्दा उत्कृष्ट ठानी विचारशील र नम्र भयौं भने परमेश्वरले हामीलाई कुनै पनि खोट नभएको पूर्ण अस्तित्वको रूपमा स्वर्ग-राज्यमा भव्य स्वागत गर्नुहुनेछ (मत्ती १३:४७-५०; १ तिमो ४:६-८; २ पत्र ३:६-७) ।

नोआ र लोतले मानिसहरूलाई मुक्तिको मार्गमा डोऱ्याएर धार्मिक कार्य गरेजस्तै, हामीहरू पनि सम्पूर्ण मानव-जातिलाई सियोनमा आओ भन्दै लगनशीलतापूर्वक सुनाऔं (२ पत्र २:४-९) । प्रचारको कार्यचाहिँ आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने धार्मिक कार्य हुनुको साथै पितालाई पछ्याउने कार्य हो । यहाँहरूले पाउनुभएको अन्तिम झरी पवित्र आत्माको शक्तिद्वारा कृपया मानिसहरूलाई साहसका साथ सुनाउनुहोस् । परमेश्वरका सन्तानहरूले निश्चय नै मुक्तिको सोर सुन्नेछन् । पवित्र आत्माको पानी पनि यत्तिकै राख्यो भने घट्दैजान्छ, तर त्यसलाई खन्यायो भने जीवित मूल बन्नेछ । आफ्नो छिमेकदेखि लिएर सारा संसारभरि ईमानदारितापूर्वक सुसमाचार सुनाएर धेरै आत्माहरूलाई बचाउने प्रेमका सन्तान बन्नुहोस् भन्ने चाहन्छु । अनि स्वर्ग जाने खुशीमा यस पृथ्वीका सम्पूर्ण कठिनाइहरू जित्न सक्ने बल प्राप्त गर्नुहुनेछ भन्ने आशा गर्दछु ।