सचेत रहो ! जागा रहो !

2954भ्यु
विषयसूची

परमेश्वरको अगमवाणी द्रुत गतिमा पूरा भइरहेको छ । हामीले वर्तमान समयमा घटिरहेका घटनाहरूलाई हेरेर यो युगलाई ठीकसँग छुट्ट्याउनुपर्छ, र स्वर्गतिर जोडले अगि बढ्नुपर्छ भनेर जानकारी निर्देशन दिएको छ (लूक १२:५४-५७) । अगमवाणीका वचनहरू पढ्नु र सुन्नु पनि महत्त्वपूर्ण त छ, तर त्योभन्दा महत्त्वपूर्णचाहिँ ती वचनहरूलाई लगनशीलताका साथ पालन गर्नु हो (प्रका १:३) । आशिष्‌मा सहभागी हुनका निम्ति हामीले परमेश्वरका सम्पूर्ण आज्ञालाई लगनशीलताका साथ पालन गर्नुपर्छ (व्य २८:१-१४) ।

बाइबलमा, मानिसको पुत्रको आगमन नोआका दिनहरूजस्तै हुने भएकोले हामीलाई सचेत र जागा रहन आग्रह गरिएको छ (मत्ती २४:३७-४४) । नोआको समयमा मानिसहरू यति विद्रोही र दुष्ट भए, कि परमेश्वरले दुष्टहरू सबैलाई नाश गर्नुभयो, तर नोआ र तिनका परिवारलाई मात्र बचाउनुभयो । परमेश्वरले नोआलाई “पूरै पृथ्वी डुब्नेसम्म आकाशबाट पानी पर्ने भएकोले तैंलेचाहिँ एउटा जहाज बनाउनू, र मानिसहरू र पशुहरू दुवैलाई जहाजमा ल्याउनू” भन्ने वचन दिनुहुँदा नोआले विश्वासद्वारा उहाँको वचन पालन गरे, र परिणामस्वरूप तिनी र तिनका परिवार बचाइए ।

सङ्कष्ट र विनाश आउँदैपिच्छे परमेश्वरले भागेर जाने ठाउँ जानकारी दिँदैआउनुभएको छ । सदोम र गमोरामा दुष्टता बढ्ता भएकोले परमेश्वरले त्यसलाई आगोद्वारा नष्ट गर्न लाग्नुहुँदा पनि लोत र तिनका छोरीहरू स्वर्गदूतहरूको निर्देशनअनुसार सोअर सहरतिर भागे, र बचाइए । त्यसै गरी यरूशलेम विनाश हुनुअघि पनि, परमेश्वरले त्यो सहर विनाश हुनेछ भनी अगमवाणी गर्नुभयो, र उहाँको वचन विश्वास गरेर पेल्ला सहरतिर भाग्नेहरू सबै बचाइए ।

वर्तमान यस पवित्र आत्माको युगमा परमेश्वरले हामीलाई सियोनतिर भागेर जान भन्नुभएको छ । सियोनमा सर्वशक्तिमान् परमेश्वर नै हाम्रा संरक्षक र किल्ला हुनुभएकोले विपत्ति आए तापनि हामीहरू भयभीत हुनुपर्दैन (यशै ३३:२०-२४; यर ४:५-६; भज ३२:७; ९१:७-१०) । परमेश्वरले हामीलाई आगोबाट पनि बचाउने र पानीबाट पनि बचाउने प्रतिज्ञा गर्नुभएको छ (यशै ४३:१-३) । शद्रक, मेशक र अबेद्‌नगोले सुनको मुर्तिलाई दण्डवत् गर्न इन्कार गर्दा तिनीहरू आगोको भट्टिमा फ्याँकिए । तापनि तिनीहरूका शिरको रौँ पनि खहरिएन, र तिनीहरूका लुगामा आगोको गन्धसमेत थिएन (दान ३:१४-३०) । त्यसै गरी निस्तार-चाड मानेका इस्राएलीहरूले लाल समुद्र तर्दा पनि, अनि यर्दन नदी तर्दा पनि परमेश्वरले तिनीहरूलाई सुरक्षा गर्नुभएर कनानसम्म डोऱ्याउनुभयो ।

भट्टीझैँ दन्कने दिन आउँदा परमेश्वरको नाउँको आदर गर्नेहरूमाथि धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ, र सन्तहरू गोठलाई छोडेर निस्केका बाछाजस्तै उफ्रनेछन् भनिएको छ (मला ४:१-२) । निस्तार-चाडद्वारा परमेश्वरको पवित्र देह र रगत हामीभित्र रहने भएकोले विपत्ति हाम्रो नजिक आए तापनि परमेश्वरको देह र रगत देखेपछि त्यो तर्केर जान्छ । यसकारण हामीलाई निस्तार-चाड प्रदान गर्नुभएका परमेश्वरको नाउँलाई हामीले पुकार्नुपर्छ । पिताको युगमा यहोवा नाउँ पुकार्नेहरूले उद्धार पाए, पुत्रको युगमा येशू नाउँ पुकार्नेहरूले उद्धार पाए । यस पवित्र आत्माको युगमा चाहिँ आन साङ होङ नाउँ पुकार्नेहरूले उद्धार पाउनेछन् (रोम १०:१३-१५) ।

विपत्ति आउनुअघि, हामीले संसारका मानिसहरूलाई सुरक्षित शरणस्थानबारे जानकारी दिनुपर्छ (२ पत्र ३:६-१४) । हाम्रो साथमा रहनुहुने आन साङ होङ परमेश्वरको नाउँ पुकार्न लगाएमा उनीहरूले पनि मुक्ति पाउनेछन् । कालले कसलाई कतिखेर लैजान्छ भन्ने कुरा थाहा छैन । यस्तो अवस्थामा यदि हामीसित परमेश्वरको सुरक्षा छैन भने यो कति डरलाग्दो कुरा हो ! हामीले परमेश्वरको वचन सुनायौं भने सुन्ने र बुझ्नेहरू पनि बाँच्नेछन्, अनि हामी सुनाउनेहरू पनि बाँच्नेछौं (इज ३:१७-२१) ।

इतिहासमा हेर्ने हो भने परमेश्वरको नाउँद्वारा विजय हासिल गरेका मानिसहरू धेरै थिए । जवान ठिटो दाऊदले परमेश्वरमा भरोसा गर्दै साहसका साथ बडेमानको गोल्यतको सामना गरे । “म त सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु” भनेका दाऊदको त्यो विश्वास देख्नुभएर परमेश्वरले, दाऊदले प्रहार गरेको ढुङ्गालाई गोल्यतको निधारमा गाडिने गराउनुभयो (१ शमू १७:३२-५०) ।

हाम्रो साथमा पनि परमेश्वर हुनुभएकोले हामीले डर मान्नैपर्दैन । यस्तो अमूल्य जीवनको वचनलाई निडरका साथ सुनाऔं । सुसमाचार सुनाउनेहरूका पाउ, अनि शुभ समाचार सुनाउने ओठ साँच्चै कति सुन्दर छन् ! हामी पनि यस्ता सुन्दर ओठ र सुन्दर पाउहरू बनौं । “भोलिको धाक नलगा” भनिएकोले ती दयालाग्दा आत्माहरूलाई चाँडै पश्चात्ताप गराएर सियोनतिर डोऱ्याई पितालाई खुशी दिलाउने सन्तान बनौं (हितो २७:१; लूक १५:७) । छिमेकीहरूमाझ प्रेम बाँडेर धेरै आत्माहरूलाई परमेश्वरको काखमा डोऱ्याई, आकाशका ताराहरूजस्तै स्वर्गमा सदासर्वदा चम्कने र प्रशस्त आशिष् पाउने हामीहरू हुन सकौं ।