सुसमाचारको कार्यलाई कष्टले पछ्याउँछ । शारीरिक रूपमा बच्चा जन्माएर हुर्काउन कठिन भएजस्तै, एक आत्मा बचाउने सुसमाचारको कार्य पनि उस्तै हो । यद्यपि सुसमाचारको परिणाम असल हुने भएकोले यसलाई असल कष्ट भनिन्छ ।
परमेश्वरको मानिसको रूपमा नयाँ गरी जन्मिएर परिवर्तन हुने प्रक्रिया कष्टकर हुन्छ । सम्पूर्ण मानव-जातिले स्वर्गमा जघन्य पाप गरेर यस पृथ्वीमा आउनुपरेकोले पापको दागलाई कष्टविना पखाल्न सकिँदैन । कष्ट भोगेर पापहरू पखाल्दै परमेश्वरको स्वरूपमा परिवर्तन भएमा स्वर्ग जान सकिन्छ । तर एक-अर्काको विकासलाई बढावा दिने पारस्परिक रूपमा लाभदायक सम्बन्ध भए तापनि दृष्टिकोणमा भिन्नताका कारण कहिलेकहीँ मतभेद उतपन्न हुन सक्छ ।
परमेश्वरले ‘ख्रीष्टको जस्तै मनस्थिति लिन र आफ्नो मनलाई ख्रीष्टको मनमा परिवर्तन गराउन’ भन्नुभएको छ । हामीले हाम्रो विचारलाई मान्यता दिँदा मात्र राम्रो मान्ने स्वार्थी मानसिकतालाई फालेर एक आत्मा बचाउन आफैलाई बलिदान गर्नुभएका परमेश्वरको जस्तै मन लिनुपर्छ । दाजुभाइहरू एकतामा बस्नु कति मनोहर कुरा हुन्छ ! परमेश्वरले एकतामा बस्नेहरूलाई आशिष् र अनन्त जीवन दिनेछु भन्नुभएको छ (भज १३३:१-३) । स्वर्ग जानको निम्ति आजको दिनसम्म पनि हामीले सम्पूर्ण मनद्वारा एक आत्मा बचाउन प्रयत्न गरिरहेका छौं । तसर्थ हामी एक आपसमा एकतामा रहनुपर्छ ।
मानिसहरूमध्ये कतिपयको स्वभाव कोकजस्तै हुन्छ र कतिपयको चाहिँ पानीजस्तै हुन्छ । कोकको बोतललाई हल्लाएर बिर्को खोल्यो भने फिँज निस्किएर छेउछाउको मानिसहरूलाई समेत छिटा पर्ने अवस्था हुन्छ । तर पानीलाई हल्लाए तापनि त्यसबाट फिँज निस्किँदैन, अनि त्यसले अरूलाई समस्या दिँदैन । हामीहरू कोकजस्तै अधीर स्वभाव होइनकि पानीजस्तै शान्त स्वभाव होऔं ।
हामीभित्र परमेश्वरको पवित्र आत्मा हुनुका साथै छिट्टै उत्तेजित भएर रिसाउने, कलह गर्ने र सहन नसक्ने जस्ता पापमय स्वभावहरू पनि छन् । हामीचाहिँ पवित्र आत्मामा जिउनुपर्छ (गला ५:१३-२६) । कसैले मनमा चोट पुऱ्यायो भने पनि त्यो व्यक्तिलाई सेवाको मनद्वारा क्षमा गर्नुपर्छ । अरूलाई आफूभन्दा श्रेष्ठ ठानेमा अरूको सेवा गर्न सकिन्छ । परमेश्वरले “तिमीहरूले अरूको अपराध क्षमा गऱ्यौ भने स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ” भन्नुभयो (मत्ती ६:१४) । नयाँ गरी जन्मेमा मात्र स्वर्गीय राज्य प्रवेश गर्न सकिन्छ भनेर परमेश्वरले भन्नुभएकोले स्वर्गमा जानको लागि हामीले अनिवार्य रूपमा पापमय स्वभावहरू फालेर पवित्र आत्मालाई पछ्याउनुपर्छ र सधैँ एकता र मेलमिलापमा रहनुपर्छ ।
परमेश्वरले हामीहरू ठूलो भाँडा भयौं कि भएनौं भनेर जाँच्नका लागि हामीलाई चिन्तित तुल्याउने सन्तानहरूसँगै राखिदिन पनि सक्नुहुन्छ । हाम्रो वरिपरि असल सन्तानहरू मात्र भए भने आफूलाई ठूलो भाँडा बनाउने मौका हुदैँन । तर कठिनाइको समयमा पनि धैर्य गर्दै प्रेमद्वारा एक-अर्कालाई अँगाल्यो भने स्वर्गमा राजकीय पूजाहारी बन्न सकिनेछ ।
हामीहरू एउटै शरीर हौं । शिर हुनुभएका ख्रीष्टको एउटै शरीरभित्र नाक, कान, आँखीभौं र हात-खुट्टाको भूमिका निभाउने सन्तानहरू हुनुभए तापनि सबैको भूमिका महत्त्वपूर्ण छ (१ कोर १२:१२-२७) । अरूलाई तुच्छ ठान्दै आफूलाई उच्च ठान्ने कुनै कारण नै छैन । परमेश्वरले खुट्टाको पैतालालाई समेत अमूल्य ठान्नुभएर “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर !” भन्नुभयो (रोम १०:१३-१५) ।
रिस उठे तापनि त्यसलाई सहेर, ‘स्वर्गीय पिता मेरो यो स्वभावप्रति खुशी हुनुहुन्छ कि चिन्तित हुनुहुन्छ ?’ भनेर पहिला सोच्नुपर्छ । हाम्रो पापमय स्वरूपलाई परमेश्वरको सुन्दर स्वरूपमा परिवर्तन गराउनको निम्ति परमेश्वर यस पृथ्वीमा आउनुभयो । परमेश्वर हुनुभए तापनि कमाराको रूप धारण गरेर स्वयम् बलिदान हुनुभएका ख्रीष्टको मन हामीहरूले लिनुपर्छ । त्यसो गरेमा बल्ल एकताबद्ध भएर स्वर्ग जान सकिन्छ ।
हामीचाहिँ पवित्र आत्माको इच्छाभित्र पवित्र मन्दिर हुनलाई एकसाथ निमार्ण हुँदैजान्छौं (एफि २:१९-२२) । परमेश्वरले हामीलाई एकतामा रहेर स्वर्ग आओ भन्नुभएकोले एकतामा रहनको निम्ति कदापि इन्कार गर्नुहुँदैन । हाम्रो स्वभाव सुन्दर रूपमा परिवर्तन भएमा बल्ल हामी पूर्ण स्वर्गदूत बन्नेछौं । परमेश्वरले हाम्रो हीन शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेभएकोले एकताबद्ध होऔं, र परमेश्वरको सन्तानको रूपमा असल कार्य गर्दै उदाहरणीय सन्तान बनौं (फिलि ३:१७-२१) ।