अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ?

4900भ्यु
विषयसूची

सबै सन्तानहरूको परिश्रम र एकताद्वारा विश्वभरि सुसमाचारका फलहरू प्रशस्त फलिरहेका छन् । हामीले आपसमा सहयोग गर्दै पितालाई प्रसन्न तुल्याउने प्रेम व्यवहारमा लागू गरेकोले परमेश्वरले हामीलाई असल परिणाम दिनुभएको हो ।

कुनै मानिसले, “अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ?” भनेर सोध्दा येशूज्यूले असल सामरीको दृष्टान्तद्वारा जवाफ दिनुभयो । बाटोमा डाँकूहरूको फेला परी अधमरो पारिएको मानिसलाई देखेर पूजाहारी र लेवीहरू तर्केर गए । तर यात्रामा रहेका एक जना सामरी भने त्यस मानिसलाई देखेर दयाले भरिए, अनि तिनले त्यस मानिसको हेरचाह गरे । यी तीन जनामध्ये कसले अनन्त जीवन प्राप्त गर्न सक्छ होला ? दया देखाउने सामरीले (लूक १०:२५-३७) ।

अरूमाथि दया देखाउनु महत्त्वपूर्ण कुरा हो । तर परमेश्वरको आज्ञालाई राम्ररी पालन गर्ने पूजाहारी र लेवीहरूचाहिँ त्यो मानिसलाई देखेर तर्केर गए । आज्ञाबारे गहिरिएर सोच्ने हो भने त्यसमा प्रेम समाविष्ट छ, तर प्रेम नभएका ती पूजाहारी र लेवीहरूले देखावटी रूपमा मात्र आज्ञा पालन गरे । त्यसैले बाइबलमा विश्वास र आशा आवश्यक छ, तर सर्वोत्तमचाहिँ प्रेम नै हो र प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो भनेर जोड दिइएको छ । (१ कोर १३:१३; रोम १३:८-१०) ।

स्वर्गमा पाप गरेर मर्न निश्चित भएका आत्माहरूलाई बचाउन दयालु परमेश्वर यो पृथ्वीमा आउनुभयो । अमरणशील हुनुभए तापनि उहाँले हाम्रो निम्ति काँडाजस्तै शरीर धारण गर्नुभयो र हाम्रो पापको प्रायश्चितको निम्ति क्रूसमा बलि हुनुभयो । योजस्तै हामी पनि हाम्रा सियोनका परिवारप्रति दयालु हुनुपर्छ । दयालु भएन भने सियोनका परिवारलाई खोज्न सकिँदैन र प्रचार गर्न पनि सकिँदैन । दयालु मनले मरिरहेका आत्माप्रति विचारशील हुन अभिप्रेरित गर्दछ । दयालु भएन भने सोचविचारै नगरी बोल्न पुगिन्छ र थाहै नपाई अरूलाई चोट पुऱ्याउन पुगिन्छ, तर दयालु भयो भने अरूलाई चोट पुऱ्याउने बोलीहरू नबोली अरूप्रति विचारशीर हुन पुगिन्छ । यो नै प्रेम हो ।

पिताले भन्नुभयो, “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” (यूह १३:३४) । पिताले हामीलाई बचाउन आफैलाई बलिदान गर्नुभएकोले उहाँको प्रेम बलिदानपूर्ण छ । पिताले गर्नुभएजस्तै, हामीले पनि प्रत्येक आत्मालाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ । त्यसो गरेमा बल्ल उनीहरूलाई बचाउन सकिन्छ । परमेश्वरले बलिदान होइन, दया चाहनुहुन्छ, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढी चाहनुहुन्छ (होशे ६:६) । परमेश्वरलाई चिनेमा उहाँबाट प्रेम सिक्न सकिन्छ । “आफ्नो शरीर जलाउनलाई दिए तापनि यदि प्रेम छैन भने केही लाभ हुँदैन” भनेर बाइबलमा लेखिएको छ । अरू मानिसहरूलाई अनन्त जीवन पाउने गराएर स्वर्गतर्फ डोऱ्याउनु नै सबैभन्दा महान् प्रेम हो । यस्तो प्रेमचाहिँ सहनशील र दयालु हुन्छ, यसले अरूको न डाह गर्छ न त शेखी नै गर्छ (१ कोर १३:१-७) ।

हिजोआज धेरै विपत्तिहरू झरिरहेकाले मानिसहरू विभिन्न कठिनाइमा जिइरहेका छन् । सबै मानिसहरू मृत्यु, शोक र पीडा नभएको, अनन्त जीवन र खुशी मात्र पोखिने स्वर्गीय राज्यमा जान चाहन्छन् । तर तिनीहरूलाई स्वर्ग डोऱ्याउने सत्यता थाहा नभएकोले त्यहाँ जान सक्दैनन् । त्यसैले तिनीहरू परमेश्वरको प्रेम पाउने र उहाँको वचन सुन्ने तृष्णाको अनिकालमा पर्छन् (आमो ८:११-१३) । दयाले भरिएको मनद्वारा हामीले अनन्त जीवनको आशिष् समाविष्ट निस्तार-चाडबारे परिश्रमसाथ प्रचार गर्नुपर्छ । हामीले परमेश्वरको वचन सुनाउने मात्र होइनकि उनीहरू वचनमा आज्ञाकारी हुने विश्वासको स्थानमा नपुगुञ्जेल प्रेमद्वारा हेरचाह गर्नुपर्छ । अनि दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुनलाई परमेश्वरको सारा हातहतियार धारण गर्दै सन्तहरूलाई पनि त्यसै गर्न सहयोग गर्नुपर्छ (एफि ६:१०-१७) । तसर्थ हामीले परमेश्वरको वचनमा ध्यान दिनुपर्छ (१ तिमो ६:३-६) । के यो प्रेम नै एक आत्मालाई भए पनि आत्मिक भोजन खुवाएर बचाउने इच्छा भएको प्रेम होइन र ?

अनन्त जीवन प्राप्त गर्नको निम्ति हामीले के गर्नुपर्छ होला ? अनन्त जीवन प्राप्त गर्नको निम्ति निस्तार-चाड मान्नुपर्छ । जीवनको फल निस्तार-चाड नै परमेश्वरको प्रेम हो । परमेश्वरले सधैँ हामीलाई दया र प्रेमद्वारा डोऱ्याउनुभएजस्तै हामीहरू पनि प्रेमद्वारा आत्मा बचाउन हरप्रयत्न गरौं । अनन्त जीवनको आशिष्‌ समाविष्ट निस्तार-चाड सुनाएर दया देखाऔं । असल सामरीले जस्तै, हामीले दया र प्रेमको न्यानो मनद्वारा प्रत्येक आत्माको हेरचाह गऱ्यौं भने उनीहरू प्रभावित हुनेछन्, अनि सुसमाचारका प्रशस्त फलहरू फल्नेछन् । हामीलाई बचाउनुभएर सुसमाचारका कामदारहरू बनाउनुभएका पितालाई धन्यवाद चढाउँदै, प्रेम र एकताद्वारा स्वर्ग-राज्यको सुसमाचार पूरा गरौं । परमेश्वरको वचन निश्चय नै पूरा हुनेछ भन्ने कुरा विश्वास गर्दै उहाँको वचनमा आज्ञाकारी भएर प्रशस्त आशिष्, इनाम र चम्किलो स्वर्गीय मुकुट प्राप्त गर्ने होऔं ।