असल कुरा र खराब कुरा

8758भ्यु
विषयसूची

आखिरी दिनहरूमा मानिसहरू घमण्डी हुने, आफैलाई मात्र माया गर्ने, रिसाहा, झगडालु, र छिमेकीहरूको वास्ता नगर्ने त्यस्तो समय आउनेछ भनेर बाइबलमा चेताउनी दिइएको छ (२ तिमो ३:१-५) । परमेश्वरले हामीलाई यस भ्रष्ट संसारको ढाँचामा नचल्नू तर माथिका कुराहरूमा मन लगाउनू भन्ने शिक्षा दिनुभएको छ । सन्तानहरू आफ्ना बुबा-आमाको स्वरूपमा मिल्दछन् । उदात्त बलिदानद्वारा मानव-जातिलाई बचाउनुभएका पिताको प्रेम पाएका सन्तान भएअनुरूप हामीले सधैँ परमेश्वरको मन धारण गर्नुपर्छ, र सुकर्मद्वारा परमेश्वरको महिमा गर्नुपर्छ ।

परमेश्वरले सन्तानहरूको पापमय स्वरूपलाई सुन्दर स्वरूपमा परिवर्तन गराउँदैहुनुहुन्छ । दृष्टान्तमा जसरी मछुवाले असल माछा र खराब माछालाई छुट्ट्याएर असल जतिलाई भाँडामा जम्मा गर्छ, र खराब जतिलाई बाहिर फाल्छ, त्यसरी नै परमेश्वरले पनि असल मानिसहरू र खराब मानिसहरूलाई छुट्ट्याउनुनेछ (मत्ती १३:४७-५०) । स्वर्गचाहिँ जो कोही प्रवेश गर्न सक्ने ठाउँ होइन तर असल, नम्र र सुन्दर मानिस, आफूभन्दा अरूलाई श्रेष्ठ ठान्ने मानिस, र परमेश्वरको आज्ञा पालन गर्ने मानिसहरू मात्र प्रवेश गर्न सक्ने ठाउँ हो (मत्ती २५:३१-४६) ।

परमेश्वरको वचन हाम्रो जीवन हो, हाम्रो आत्मा र स्वर्गीय राज्यको महिमा हो (यूह ६:६३; १२:४८-५०) । परमेश्वरको वचनको नजिक रहनु भनेकै परमेश्वरको नजिक रहनु हो । परमेश्वरको पवित्र वचन सुनेर त्यसलाई पालन गऱ्यो भने आशिष् पाइन्छ, र सुन्दर स्वर्गीय राज्यमा परमेश्वरको साथमा सदासर्वदा रहन सकिन्छ ।

पिताले “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर, र तिमी अनन्तकाल बाँच्नेछौ” भनी सिकाउनुभएको छ (लूक १०:२५-२८) । आफ्ना छिमेकीको मन नदुखाउनु, उनीहरूलाई खुशी बनाउनु, उनीहरूलाई कठिनाइ आइपर्दा सान्त्वना दिनु र उनीहरूले केही राम्रो गर्दा प्रशंसा गरिदिनु … के यो नै छिमेकीलाई गरिने प्रेम होइन र ? हामीले अरूलाई मनमा चोट लाग्ने बोली बोल्नुहुँदैन, रिस उठाउनुहुँदैन तर उनीहरूको क्रोधलाई शान्त पार्ने बोली मात्र बोल्नुपर्छ । अनि अरूलाई बचाउन हामीले सुकर्म धेरै गर्नुपर्छ । हाम्रो सुकर्म देखेर उनीहरूले सत्यताको वचन सुन्नेछन् र यसरी सुसमाचारको फल फल्नेछ ।

“शैतानको विरोध गर, र शत्रुजस्तै ठानेर घृणा गरेका दाजुभाइ-दिदीबहिनीलाई प्रेम गर” भनिएको छ । प्रेम गर्नु भनेकै क्षमा गर्नु हो । हामीले आफ्ना दाजुभाइ-दिदीबहिनीलाई क्षमा गऱ्यौं भने परमेश्वरले पनि हाम्रा पापहरू क्षमा गरिदिनुहुनेछ, र हामीलाई स्वर्ग लैजानुहुनेछ (मत्ती ६:१४-१५) । यदि हामीले अरूको आलोचना नगरी उनीहरूलाई क्षमा गरिदियौं भने परमेश्वरले हामीलाई इन्साफ गर्नुहुनेछैन, तर हामीलाई खाँदीखाँदी पोखिने गरी आशिष् दिनुहुनेछ भनिएको छ (लूक ६:३७-३८) । छोरा-छोरीले बुबा-आमालाई प्रसन्न तुल्याउने असल कामहरू गरे भने बुबा-आमाले ती छोरा-छोरीलाई मन पर्ने चीज किनिदिनुहुन्छ । योजस्तै यदि हामी पनि परमेश्वरबाट प्रशस्त आशिष् पाउन चाहन्छौं भने हामीले पनि असल सन्तान बन्न प्रयत्न गर्नुपर्छ ।

आत्मिक कुमाले हुनुभएका परमेश्वरले हामीलाई स्वर्गीय राज्यमा प्रयोग हुने उपयुक्त भाँडो बनाउन विभिन्न आकार दिँदैहुनुहुन्छ (यशै ६४:८; यर १८:१-४) । स्वर्ग प्रवेश गर्नको निम्ति हामीहरू असल भाँडो बन्नुपर्छ भनिएको छ । परमेश्वरको आज्ञा पालन गर्ने र उहाँको वचन पालन गर्नेहरू सुन्दर र कोमल हृदयमा नयाँ गरी जन्मनेछन् । परमेश्वरले हामीलाई “एकले अर्कालाई क्षमा गर्नू” भन्नुहुँदा हामीले एकले अर्कालाई क्षमा गर्नुपर्छ, अनि “असल जीवन जिउनू” भन्नुहुँदा हामीले असल जीवन जिउनुपर्छ । परमेश्वरको यस्तो निर्देशनलाई पछ्याएमा मात्र हामीले स्वर्गमा भव्य स्वागत पाउनेछौं (२ पत्र १:३-४) ।

हामीले पापीलाई पश्चात्ताप गराएर स्वर्गको राज्यमा डोऱ्याउँदा परमेश्वर सबैभन्दा खुशी हुनुहुन्छ । त्यसैले मर्न लागेका धेरै आत्माहरूलाई पश्चात्ताप गराएर स्वर्गका धर्मीजनमा परिवर्तन गराई पितालाई सुन्दर फलहरू धेरै चढाऔं । परमेश्वरको वचन राम्ररी पालन गर्नेहरूलाई परमेश्वरले प्रशस्त फल दिनुहुन्छ (यूह १५:३-५) ।

असल र सुन्दर स्वरूपमा एकताबद्ध हुँदा परमेश्वरले अनन्त जीवनको आशिष् खन्याउनुहुन्छ (भज १३३:१-३) । त्यसैले हामीहरू प्रेमद्वारा एकताबद्ध होऔं । विपत्तिको डर र त्रासमा जिइरहेका यस संसारका मानिसहरूलाई विपत्तिबाट सुरक्षित रहन सकिने ठाउँ सियोनमा डोऱ्याएर अनन्त जीवन दिलाउने प्रेम बाँड्ने सुकर्म धेरै गरौं । परमेश्वरको वचन नै जीवन हो भन्ने कुरालाई विश्वास गरेर यसलाई व्यवहारमा लागू गरौं । अनि परमेश्वरका बहुमूल्य भाँडो भएर, परमेश्वरलाई प्रसन्न तुल्याउँदै स्वर्गमा सदासर्वदा चम्कने परमेश्वरका असल सन्तान बनौं ।