वचन र ईश्वरभक्तिसँग सहमत होऊ

4288भ्यु
विषयसूची

स्वर्गका प्रजाहरू सृष्टिकर्ता परमेश्वरका छोरा-छोरीहरू हुन् । “तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्यही गर्नेथियौ” भन्ने वचनजस्तै, परमेश्वरका सन्तानहरूले चाहिँ जहाँ गए पनि परमेश्वरको सन्तान भएअनुरूपको काम गर्नुपर्छ ।

यदि कोही ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने, त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछ, अनि बुद्धि भ्रष्ट गराएर अन्ततः सत्यताबाट नै अलग गराउँछ (१ तिमो ६:३-६) । ‘परमेश्वरको वचनमा समर्पित होऊ’ भन्नाले वचनबाट अलग भएर होइन तर त्यसको नजिक रहेर जिउनू भन्ने अर्थ हो । जब हामीहरू परमेश्वरको वचनको नजिक रहेर जिउँछौं, तब हामीहरू नम्र हुनेछौं र मुक्ति पाउनेछौं । परमेश्वरको वचनअनुसार ईश्वरभक्तिको जीवन जिउनु यतिसम्म महत्त्वपूर्ण भएकोले परमेश्वरले हामीलाई यसो गर्न भन्नुभएको हो (१ तिमो ४:६-८) । पढाइ र व्यायाममा जस्तै, सबै कुरा अभ्यासद्वारा पूर्ण हुन्छ । हामीले पनि ईश्वरभक्तिलाई व्यवहारमा लागू गऱ्यौं भने हामी पनि पूर्ण अस्तित्व भएर स्वर्गमा प्रवेश गर्नेछौं ।

“मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ” भनिएको छ (मत्ती ४:४) । झुसिल्कीराहरू पात खाएर बाँचेजस्तै, परमेश्वरका प्रजाहरू परमेश्वरको वचन खाएर बाँच्दछन् । जसरी उपयुक्त भोजन नखाँदा शरीर निर्बल र कमजोर हुन्छ, त्यसरी नै आत्मिक भोजन नखाँदा आत्मा भोको र कमजोर हुन्छ । त्यसैले हामीले परमेश्वरको वचन प्रशस्तसँग खानुपर्छ, र अरूलाई पनि बाँड्नुपर्छ । परमेश्वरको वचन लगनशीलताका साथ अध्ययन गरौं, र अरूलाई पनि सारा मनले बाँडेर मुक्तिमा डोऱ्याऔं । हामीले परमेश्वरको वचनमा थपघट नगरी त्यसलाई जस्ताको तस्तै सिकाउनुपर्छ (प्रका २२:१८-१९) ।

बाइबलमा “स्वर्गको राज्य खमिरजस्तो हो, जो एक जना स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी” भनिएको छ (मत्ती १३:३३) । एउटा मात्र रोटी बनाउन पुग्ने पीठोले रोटी बनायो भने एक जना व्यक्तिलाई मात्र पुग्छ, तर त्यो मुछेको पीठोमा खमिर हाल्यो भने त्यो पीठो फुलेर धेरे मानिसलाई बाँड्न पुग्ने रोटी बन्छ । त्योजस्तै आफ्नो निम्ति मात्र सोच्ने, र अरूसँग बाँड्न नचाहने कठोर हृदय भएको मानिस पनि जब परमेश्वरको वचनले भरिन्छ, तब ऊ अरूसँग बाँडचुँड गर्न इच्छुक हुन्छ । जीवनको वचनद्वारा धेरै आत्माहरूलाई बचाउन चाहने पवित्र आत्माको आगो यसरी नै दन्कन्छ ।

सत्यता पाउनुअघि हामीले शारीरिक अभिलाषा लिएर जिएका थियौं भने पनि अबचाहिँ हामीहरू परमेश्वरका सन्तान भएका हुनाले हामीले त्यसो गर्नुहुँदैन । हामीले बप्तिस्मा लिएर ख्रीष्टभित्र अनुग्रहको स्वर्गमा आएका छौं (एफि २:१-६) । अब हाम्रो चालचलन सही छ भने हामीहरू सीधै अनन्त स्वर्गमा प्रवेश गर्न सक्नेछौं । यद्यपि अनुग्रहको स्वर्गमा आएर पनि यदि हामीहरू परमेश्वरको वचनअनुसार चलेनौं भने हामीहरू पतन हुनेछौं । त्यसैले प्रेम हुनुभएका परमेश्वरले हामीलाई परमेश्वरका सन्तान भएअनुरूपको चालचलनलाई सुधारेर स्वर्ग लैजान विभिन्न शिक्षा दिनुभएको छ । हामीहरू वचनविना दियाबलसको विरुद्धमा खडा हुन नसक्ने भएकाले परमेश्वरले हामीलाई “परमेश्वरका सारा हातहतियार धारण गर”, “वचनको तरवार उठाओ” भन्नुभएको छ (एफि ६:१०-१९) । पापी हामीहरू केही गर्न सक्दैनौं, तर परमेश्वरले चाहिँ सब थोक गर्न सक्नुहुन्छ । उहाँ सर्वशक्तिमान् परमेश्वरलाई हामीले सधैँ बिन्ती गर्नुपर्छ ।

पापमय स्वभावतिर लागेको मनचाहिँ परमेश्वरप्रतिको शत्रुता हो, र पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन् । (रोम ८:५-८) । हामीले हाम्रो शारीरिक विचारलाई, परमेश्वरको विचारभन्दा कहिल्यै पनि माथि हुन दिनुहुँदैन । यो पृथ्वीमा परदेशी र प्रवासी नै भए पनि हामीले सधैँ परमेश्वरको वचनको भय मान्नुपर्छ (१ पत्र १:१४-१७) । हामीहरू स्वर्गीय नागरिक भएका हुनाले हामीले ईश्वरभक्तिअनुसार जिउनु र परमेश्वरको वचन पालन गर्नु नित्तान्त आवश्यक छ (फिलि ३:२०-२१) । स्वर्गीय राज्य प्रवेश गर्न चाहनेहरूले परमेश्वरको वचनअनुसार चल्नुपर्छ, भक्तिपूर्ण जीवन जिउनुपर्छ र परमेश्वरको शिक्षालाई पछ्याउनुपर्छ । अहिले परमेश्वर, पापी हामीहरूको हीन शरीरलाई परमेश्वरको जस्तो महिमित शरीरमा परिवर्तन गराउने प्रक्रियामा हुनुहुन्छ । महिमित राज्यको निम्ति सुहाउने सुन्दर अस्तित्व बनाउन परमेश्वरले हामीलाई “ख्रीष्टको वचनमा ध्यान देऊ” र “आफूलाई भक्तिमा तालिम देऊ” भन्नुभएको छ ।

धेरै मानिसहरूलाई मुक्तिको मार्गमा डोऱ्याउनका निम्ति, हामी परमेश्वरको सन्तानहरू असल मन लिऔं, र असल कार्य गरौं । परमेश्वरको ईश्वरभक्तिका वचनहरूलाई प्राथमिकतामा राखौं, अनि भलाइ, प्रेम र ईश्वरभक्तिमा सक्रिय भएर लागिपर्दै, आफूलाई परिवर्तन गर्न कोसिस गरौं । त्यसो गरेमा हामीले परमेश्वरको पूर्ण महिमा गरी प्रशस्त आशिष् र फल प्राप्त गर्न सक्नेछौं ।