संसार सृष्टि भएदेखि अहिलेसम्म परमेश्वरले सारा मानव-जातिको मुक्तिको निम्ति मुक्तिको कार्य गर्दैआउनुभएको छ । यो कार्यलाई पूरा गर्नको निम्ति परमेश्वरले सम्पूर्ण समयलाई तीन युगमा विभाजन गर्नुभएको छ : पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग । परमेश्वरले प्रत्येक युगमा आफ्ना प्रजालाई जीवनको पानी दिनुभएको छ । पिताको युगमा यहोवा परमेश्वरले जीवनको पानी दिनुभयो, र पुत्रको युगमा येशूज्यूले जीवनको पानी दिनुभयो ।
“मेरा प्रजाले दुई वटा पाप गरेका छन् : मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन् ।” यर २:१३
“तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन । जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ !” यूह ४:१४
पवित्र आत्माको युगमा चाहिँ, पवित्र आत्मा र दुलहीको रूपमा देखा पर्नुभएका पिता परमेश्वर र माता परमेश्वरले जीवनको पानी दिनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७
जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ परमेश्वर
त्यसोभए पवित्र आत्मा र दुलही को हुनुहुन्छ होला ? दुई वटा वचनलाई तुलना गरिहेरौं ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७
सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “… तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु । … म त्यसका परमेश्वर हुनेछु, …” प्रका २१:५-७
प्रकाश अध्याय २२मा ‘पवित्र आत्मा र दुलही’ले तिर्खाएकाहरूलाई जीवनको पानी सित्तैँमा दिनुहुन्छ भनेर लेखिएको छ, अनि प्रकाश अध्याय २१मा चाहिँ ‘परमेश्वर’ले तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट सित्तैँमा दिनुहुन्छ भनेर लेखिएको छ । त्यसैले जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ, आत्मिक अनिकालले ग्रस्त भएका मानव-जातिलाई अनन्त जीवन दिनुहुने परमेश्वर हुनुहुन्छ ।
पवित्र आत्मा पिता परमेश्वर हुनुहुन्छ
प्रकाश अध्याय २२मा उल्लेखित ‘पवित्र आत्मा र दुलही’लाई प्रकाश अध्याय १९मा चाहिँ ‘थुमा र उहाँकी पत्नी’ भनेर व्यक्त गरिएको छ ।
किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । प्रका १९:७
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” प्रका २२:१७
यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, थुमा र पवित्र आत्माचाहिँ एकै हुनुहुन्छ भनी जान्न सकिन्छ । बाइबलमा ‘संसारको पाप उठाइलैजाने थुमा’ले येशूज्यूलाई जनाउँछ (यूह १:२९) । तर प्रकाश अध्याय १९मा उल्लेखित थुमाले, दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । किनभने पहिलो आगमनमा भन्दा फरक, उहाँकी दुलही पनि सँगै देखा पर्नुभएको छ । यसर्थ प्रकाश अध्याय १९मा उल्लेखित थुमाले दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ ।
साथै बाइबलले येशूज्यू नै अनन्तका पिता अर्थात् परमेश्वर हुनुहुन्छ भनेर पनि गवाही दिएको छ ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । … यशै ९:६
येशूज्यू नै यहोवा परमेश्वर हुनुभएकोले प्रकाश अध्याय २२मा उल्लेखित पवित्र आत्माचाहिँ दोस्रो आगमनका येशूज्यू, अर्थात् पिता परमेश्वर हुनुहुन्छ ।
दुलहीचाहिँ माता परमेश्वर
त्यसोभए पवित्र आत्मासँगै देखा पर्नुभएर जीवनको पानी दिनुहुने दुलहीचाहिँ को हुनुहुन्छ होला ?
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०
स्वर्गदूतले प्रेरित यूहन्नालाई दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु भनेर स्वर्गीय यरूशलेम देखाए । यसकारण दुलहीले स्वर्गीय यरूशलेमलाई जनाउँछ । त्यसोभए बाइबलमा स्वर्गीय यरूशलेमले कसलाई जनाउँछ होला ?
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६
माथिको अर्थात् स्वर्गको यरूशलेमचाहिँ ‘हाम्री माता’ हुनुहुन्छ । अर्थात् स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी दुलही नै स्वर्गमा वास गर्नुहुने हाम्री आत्मिक आमा अर्थात् माता परमेश्वर हुनुहुन्छ भन्ने वचन हो । माता परमेश्वर पवित्र आत्माकी दुलहीको रूपमा यो पृथ्वीमा शरीरमा देखा पर्नुहुनेछ ।
यसकारण प्रकाश २२:१७मा ‘पवित्र आत्मा’को रूपमा अगमवाणी गरिनुभएका पिता परमेश्वर, र ‘दुलही’को रूपमा अगमवाणी गरिनुभएकी माता परमेश्वरले अन्त्यका दिनहरूमा हामीलाई जीवनको पानी दिनुहुनेछ भन्ने वचन हो । पवित्र आत्माको युगमा, पवित्र आत्मा र दुलहीको रूपमा देखा पर्नुभएका पिता परमेश्वर र माता परमेश्वरलाई ग्रहण गर्ने सन्तहरूले जीवनको पानी पाउन सक्छन् ।
पवित्र आत्मा र दुलहीलाई ग्रहण गर्ने तरिका
वर्तमान पवित्र आत्माको युगमा मुक्ति पाउनको निम्ति, जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीलाई खोजेर भेट्नु महत्त्वपूर्ण छ । त्यसको लागि सर्वप्रथम हामीले पवित्र आत्मा र दुलही कस्तो स्वरूपमा देखा पर्नुहुन्छ, र जीवनको पानी भनेको वास्तवमा के हो भन्ने कुरा जान्नुपर्छ ।

पवित्र आत्मा र दुलही शरीरमा आउनुहुन्छ
प्रकाशको पुस्तकमा उल्लेखित पवित्र आत्मा र दुलहीचाहिँ स्वर्गीय विवाह भोजका दुलहा र दुलही हुनुहुन्छ (प्रका १९:७-९) । बाइबलमा लेखिएको स्वर्गीय विवाह भोजको दृष्टान्तलाई हेर्ने हो भने त्यसको मुख्य केन्द्रबिन्दु भनेकै मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गर्नुभई जीवनको पानी दिनुहुने कुरा हो ।
येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो, “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, …” तब ती नोकरहरूले सडकहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो । मत्ती २२:१-१०
अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” यूह ७:३७-३८
दुलहा हुनुभएका येशूज्यू २,००० वर्षअघि, बाइबलको अगमवाणीअनुसार शरीरमा यो पृथ्वीमा आउनुभयो र आत्मिक रूपमा तिर्खाएकाहरूलाई स्वर्गीय विवाह भोजमा निमन्त्रणा दिनुभयो । अन्तिम समयमा पनि यो घटना दोहोरिनेछ भनेर अगमवाणी गरिएको छ ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” … अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” प्रका १९:७-९
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७
पछिल्ला दिनहरूमा पवित्र आत्मा र दुलहीले तिर्खाएकाहरूलाई स्वर्गीय विवाह भोजमा जीवनको पानी पिउन निमन्त्रणा दिनुहुन्छ । त्यसोभए पवित्र आत्मा र दुलही कस्तो स्वरूपमा देखा पर्नुहुन्छ होला ? येशूज्यूजस्तै पवित्र आत्मा र दुलही पनि शरीरमा आउनुभएर मानव–जातिलाई स्वर्गीय विवाह भोजमा डोऱ्याउनुपर्छ ।
जीवनको पानीको सत्यता, नयाँ करार निस्तार-चाड
बाइबलमा जीवनको पानीले प्रथमतः जीवन दिलाउने परमेश्वरको वचनलाई जनाउँछ (आम ८:११) । दोस्रोमा यसले, परमेश्वरको नजिक आएर जीवनको सत्यता ग्रहण गर्ने सन्तहरूले पाउने पवित्र आत्माको आशिष्लाई जनाउँछ (यूह ७:३७-३९) ।
नयाँ करारको समयमा सन्तहरूलाई दिइने जीवनको पानीको सत्यता नै ‘अनन्त करार’ हो भनेर यशैया अगमवक्ताले गवाही दिएका छन् ।
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ । अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ । आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन । … कान थाप, र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् । म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम ।” यशै ५५:१-३
परमेश्वरले तिर्खाएकाहरू सबैलाई विनापैसा पानी दिनुहुनेछ, र आफ्ना प्रजाको आत्मालाई बचाउन उहाँले तिनीहरूसित अनन्त करार बाँध्नुहुनेछ भनिएको छ । अर्थात् जीवनको पानीसँग दृष्टान्त गरिएको परमेश्वरको वचन नै अनन्त करार हो । हिब्रूको पुस्तकका लेखकले यो अनन्त करारको विषयमा निम्नानुसार लेखे :
अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले हिब्रू १३:२०
नयाँ करारको समयमा अनन्त करारको रगतले, येशूज्यूको रगतलाई जनाउँछ । यसकारण अनन्तको करार भनेको येशूज्यूको रगतद्वारा स्थापित नयाँ करार हो । यो नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भनेर येशूज्यूले सिकाउनुभएको छ ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, …” … यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूका २२:१५-२०
येशूज्यूले निस्तार-चाडको दाखमद्यलाई नयाँ करार भन्नुभयो, र निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गरेको कुरा बताउनुभयो । अर्थात् येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको अनन्त करारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । नयाँ करार निस्तार-चाडमा, अनन्त जीवनको आशिष् समावेश छ ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” यूह ६:५३-५४
अनन्त जीवन पाउनलाई हामीले येशूज्यूको देह खानुपर्छ र रगत पिउनपर्छ भनेर येशूज्यूले भन्नुभयो । त्यसोभए येशूज्यूले केद्वारा आफ्ना प्रजालाई उहाँको देह खान र रगत पिउन दिनुभयो त ? नयाँ करार निस्तार-चाड । नयाँ करार निस्तार-चाड नै अनन्त जीवनको सत्यता अर्थात् जीवनको पानी हो भन्ने कुरामा शङ्कै छैन ।
यसकारण तिर्खाएकाहरूलाई जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीले, नयाँ करार निस्तार-चाड लिएर आउनुपर्छ । मण्डलीको इतिहासलाई हेर्दा, नयाँ करार निस्तार-चाडचाहिँ ई.सं. ३२५मा निकेयाको धार्मिक सम्मेलनद्वारा रद्द गरियो । परिणामस्वरूप करीब १,६०० वर्षसम्म कसैले पनि निस्तार-चाड मान्न सकेनन् । लामो समयसम्म हराएको जीवनको सत्यता नयाँ करार निस्तार-चाडलाई पछिल्ला दिनहरूमा पुनर्स्थापन गरी मानव-जातिलाई बचाउन पवित्र आत्मा र दुलही यो पृथ्वीमा शरीरमा आउनुभयो । नयाँ करार निस्तार-चाडद्वारा जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही अर्थात् पिता परमेश्वर र माता परमेश्वरको निमन्त्रणालाई स्वीकार्ने पालो, अब तपाईंको हो ।