उत्पत्ति १:२६मा परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभएको छ ।
तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । …” उत १:२६, SNB
परमेश्वरलाई विश्वास गर्ने मानिसहरूका लागि यो वचनचाहिँ सुल्झाउन नसकिने पजल बनेको छ । धेरै मानिसहरूले लामो समयदेखि परमेश्वरलाई एक व्यक्तिको रूपमा मात्र बुझ्दैआएकाले उनीहरूलाई ‘हामी’ भन्ने शब्दको अर्थ बुझ्न गाह्रो पर्छ । त्यसैले तीमध्ये कसैले, उत्पत्तिको पुस्तकमा उल्लेखित ‘हामी’ले त्रिएक अर्थात् पिता, पुत्र र पवित्र आत्मालाई जनाउँछ भन्दै जिद्दी गर्छन् । तर उत्पत्तिको पुस्तकमा उल्लेखित ‘हाम्रै’ले त्रिएक परमेश्वरलाई जनाउन सक्दैन ।
उत्पत्तिको पुस्तकमा उल्लेखित ‘हामी’चाहिँ त्रिएक हुन नसक्नुको कारण
मानिसचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका हुन् । यदि हामीले उत्पत्तिको पुस्तकमा उल्लेखित ‘हामी’ भन्ने शब्दलाई त्रिएक भनेर परिभाषित गऱ्यौं भने हामीले परमेश्वरको इच्छालाई नै बङ्ग्याउन पुग्छौं ।
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत १:२७
परमेश्वरले आफ्नै स्वरूपमा मानिस बनाउनुहुँदा नर र नारी सृष्टि भए । नर र नारी सृष्टि भएका हुनाले परमेश्वर पनि नर र नारी स्वरूपमा हुनुहुन्छ भन्ने कुरा हो । यदि उत्पत्ति अध्याय १मा उल्लेखित ‘हामी’ले त्रिएकलाई जनाउँछ भने पिता, पुत्र र पवित्र आत्मामध्ये एक जनाले चाहिँ नारी स्वरूप धारण गरेको हुनुपर्ने । तर त्रिएकलाई नारीको रूपमा वर्णन गरिएको वचन बाइबलमा कहीँ पनि छैन ।
अझ भन्नुपर्दा, यदि त्रिएक परमेश्वरको स्वरूपमा मानिस सृष्टि भएको हो भने यो पृथ्वीमा ३ थरीका मानिस हुनुपर्ने । तर नर र नारी गरी दुई थरीका मानिस मात्र सृष्टि भए भनेर बाइबलमा लेखिएको छ ।
त्रिएक भन्नाले तीन रूप एक हो
बाइबलमा भनिएको ‘त्रिएक’को साँचो अर्थचाहिँ पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भन्ने कुरा हो । यसकारण त्रिएक परमेश्वरलाई बहुवचनमा अभिव्यक्त गर्नै मिल्दैन । बाइबलका थुप्रै वचनहरूद्वारा पनि त्रिएक भनेको एकै परमेश्वर हुनुहुन्छ भनेर गवाही दिइएको छ । पुरानो करार बाइबलले येशूज्यू नै परमेश्वर हुनुहुन्छ भनेर गवाही दिएको छ (यूह ५:३९) । साथै बालकको रूपमा जन्मनुहुने येशूज्यू नै पिता यहोवा परमेश्वर हुनुहुन्छ भनेर पनि अगमवाणी गरिएको छ ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, … यशै ९:६
यो वचनमा उल्लेखित ‘बालक’ले, मानिसको रूपमा आउनुभएका येशूज्यूलाई जनाउँछ । यद्यपि पुरानो करारमा चाहिँ केवल यहोवा परमेश्वरलाई मात्र ‘पिता’ भनिन्थ्यो । पुत्र येशूलाई पिता भनिएको वचनले पनि, येशूज्यू र यहोवाचाहिँ एकै परमेश्वर हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ ।
पुत्र र पवित्र आत्मा पनि एकै अस्तित्व हुनुहुन्छ । प्रकाश अध्याय १९मा उल्लेखित थुमा र दुलही(थुमाकी पत्नी)लाई प्रकाश अध्याय २२मा चाहिँ ‘पवित्र आत्मा र दुलही’ भनेर अभिव्यक्त गरिएको छ ।
“किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” प्रका १९:७
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” … प्रका २२:१७
यहाँ थुमाले येशूज्यूलाई जनाउँछ (यूह १:२९) । यी दुई वचनहरूलाई दाँजेर हेर्दा, येशूज्यू र पवित्र आत्मा एकै र उही हुनुहुन्छ भनी जान्न सकिन्छ ।
यसरी ‘त्रिएक’ भन्ने शब्दबाट जान्न सकिएजस्तै, पिता, पुत्र र पवित्र आत्माचाहिँ एकै र उही परमेश्वर हुनुहुन्छ । फेरि भन्नुपर्दा, पिता परमेश्वरले युगअनुसार पुत्रको भूमिका र पवित्र आत्माको भूमिका निभाउनुभएको मात्र हो । संसारको सृष्टि गरिँदा पिता, पुत्र र पवित्र आत्मा छुट्टाछुट्टै अस्तित्वमा हुनुहुन्नथ्यो । तर त्रिएक भनिएजस्तै एकमात्र अस्तित्वमा हुनुहुन्थ्यो । यदि पिता परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले ‘हामी’ भन्नुहुने थिएन । यसले, परमेश्वरचाहिँ एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।
‘हामी’ भन्ने शब्दले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछ
यदि ‘हामी’ले त्रिएकलाई जनाउँदैन भने कसलाई जनाउँछ होला ? परमेश्वरको स्वरूपमा सृष्टि भएका नर र नारीलाई हेरेमा यसको उत्तर पत्ता लाग्छ । नर स्वरूपको मानिसले नर स्वरूपका परमेश्वरको अस्तित्वलाई दर्शाउँछ भने नारी स्वरूपकी मानिसले चाहिँ नारी स्वरूपकी परमेश्वरको अस्तित्वलाई दर्शाउँछ । बाइबलमा नर स्वरूपका परमेश्वरलाई ‘हाम्रा पिता’ भनिएको छ ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ …’ ” मत्ती ६:९
यदि नर स्वरूपका परमेश्वर हाम्रा पिता हुनुहुन्छ भने नारी स्वरूपकी परमेश्वरचाहिँ को हुनुहुन्छ होला ? ‘हाम्री माता’ हुनुहुन्छ ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६
उत्पत्ति १:२६मा उल्लेखित ‘हामी’ भन्ने शब्दले त्रिएकलाई जनाउँदैन तर पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछ । यदि हामी, पिता परमेश्वर मात्र अस्तित्वमा हुनुहुन्छ भनी सोच्दछौं भने उत्पत्तिको पुस्तकमा उल्लेखित ‘हामी’ भन्ने शब्दचाहिँ कहिल्यै सुल्झाउन नसकिने पजल बन्न पुग्छ । जब हामीले बाइबलसम्बन्धी हाम्रो पुरानो विचारधारालाई हटाउँछौं, तब बल्ल ‘हामी’ भन्नुहुने परमेश्वरलाई हामीले ठीकसँग चिन्न सक्नेछौं ।