परमेश्वर एक जना मात्र हुनुहुन्छ भनिएकोले कसरी दुई जना हुन सक्नुहुन्छ र ?

9251भ्यु

प्रायः मानिसहरूले परमेश्वर एक जना मात्र हुनुहुन्छ भनेर सोच्ने गर्छन् । बाइबलमा परमेश्वर एक जना हुनुहुन्छ भनेर धेरै पल्ट उल्लेख गरिएकोले पिता परमेश्वर मात्र हुनुहुन्छ भनेर सोच्नुचाहिँ स्वाभाविक हो ।

किनकि परमेश्वर एउटै हुनुहुन्छ, … १ तिमो २:५

युग-युगका राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस् । … १ तिमो १:१७

यी वचनहरूले परमेश्वर एक जना हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ, तर केवल यो वचनको आधारमा मात्र परमेश्वर एक जना हुनुहुन्छ भनेर भन्न सकिँदैन । आम सोचाइभन्दा फरक, बाइबलमा चाहिँ पिता परमेश्वरका साथै माता परमेश्वरको विषयमा पनि गवाही दिइएको छ ।

परमेश्वरले ‘हाम्रै’ भन्नुको कारण

येशूज्यूको शिक्षाअनुसार धेरै ख्रीष्टियानहरूले परमेश्वरलाई ‘पिता’ भनेर पुकार्छन् (मत्ती ६:९) । यदि पिता परमेश्वर मात्र हुनुहुन्छ भने, उहाँले सधैँ आफूलाई एकवचनमा अभिव्यक्त गर्नुपर्छ । तर उत्पत्ति अध्याय १मा परमेश्वरलाई बहुवचनद्वारा अभिव्यक्त गरिएको छ ।

अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं …” उत १:२६

किन परमेश्वरलाई एकवचनको सट्टा बहुवचनमा अभिव्यक्त गरिएको होला ? यदि परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले, “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुपर्थ्यो । तर परमेश्वरले स्पष्टसित बहुवचनमा ‘हाम्रै’ भन्नुभयो । यो नै परमेश्वर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ हो ।

एक जना मानिस आदमद्वारा बुझ्न सकिने एकमात्र परमेश्वर

परमेश्वरको विषयमा सही तरिकाले बुझ्नको निम्ति आदम र हव्वाको बारेमा अध्ययन गर्नुपर्छ । आदम र हव्वाचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका मानिसहरू हुन् । अर्को शब्दमा भन्नुपर्दा, उनीहरू वास्तविक परमेश्वरको नकल हुन् ।

आदम र हव्वा दुई फरक व्यक्तिको रूपमा अस्तित्वमा थिए । तर बाइबलमा उनीहरूलाई एक व्यक्तिको रूपमा उल्लेख गरिएको छ ।

एक जना मानिसद्वारा संसारमा पाप आयो, … आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् … किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे … रोम ५:१२-१५

यहाँ ‘एक जना मानिसको अपराध’ले आदमको पापलाई जनाउँछ । वास्तवमा पहिला पाप गर्नेचाहिँ हव्वा थिइन् (उत ३:६) । त्यसैले ‘हव्वा’ एक जनाको अपराध वा आदम र हव्वा दुई जनाको अपराध भनिनुपर्ने थियो । तर बाइबलमा एक जना मानिस आदमको अपराध भनेर भनिएको छ । योचाहिँ आदम र हव्वा दुई जना भए पनि, उनीहरूलाई एक जना मानिएकोले गर्दा हो । हव्वालाई सृष्टि गरिएको प्रक्रियाचहिँ माटोबाट बनाइएको आदमभन्दा फरक थियो । हव्वाचाहिँ आदमको करङबाट बनाइएकी थिइन् । त्यसैले बाइबलमा आदम र हव्वा एउटै शरीर हुन् भनिएको छ ।

जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई … यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन् । उत २:२२-२४

बाइबलमा आदम र हव्वाले सँगै गरेको कार्यलाई आदम एक्लैले गरेको कार्य भनिएको छ । त्यसैले ‘हाम्रै’ भनेर अभिव्यक्त गरिनुभएका परमेश्वरको कार्यलाई पिता परमेश्वर एकलैले गर्नुभएको कार्य भनेर पनि अभिव्यक्त गर्न सकिन्छ । यद्यपि ‘हाम्रै’ भनेर पुकारिनुभएका परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ (उत १:२६-२७) । आदम र हव्वालाई एक जना मानिस आदमको रूपमा वर्णन गरिएजस्तै, पिता परमेश्वर र माता परमेश्वरलाई पनि एक जना परमेश्वरको रूपमा वर्णन गर्न सकिन्छ । यसकारण बाइबलमा परमेश्वरलाई, पिता परमेश्वर र माता परमेश्वर दुवै अस्तित्वमा हुनुहुन्छ भनेर उल्लेख गरिएको छ र

‘एकमात्र परमेश्वर’ भनेर पनि उल्लेख गरिएको छ । ‘एकमात्र’ भन्ने शब्दको अर्थचाहिँ पिता परमेश्वर मात्र हुनुहुन्छ भन्ने कुरा होइन । किनभने परमेश्वरचाहिँ पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ ।