प्रकाश १९:७मा उल्लेखित ‘थुमाकी पत्नी’चाहिँ मण्डली(सन्त) होइन र ?

5113भ्यु

प्रकाश अध्याय १९मा उल्लेखित ‘थुमाकी पत्नी’ले स्वर्गीय मातालाई जनाउँछ । तर कसै-कसैले, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ भनेर जिद्दी गर्ने गर्छन् ।

“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” प्रका १९:७

प्रकाश अध्याय १९मा उल्लेखित दुलही र निमन्त्रणा पाउनेहरू

प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा दुलहा, दुलही र निमन्त्रणा पाउनेहरू पनि छन् ।

अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” प्रका १९:९

‘निमन्त्रणा पाउनेहरू’ भनिएकोले तिनीहरू कदापि दुलहा र दुलही होइनन् । किनभने दुलहा र दुलही भनेको पाहुनाहरूलाई निमन्त्रणा दिनेहरू हुन्, निमन्त्रणा पाउनेहरू होइनन् । अर्थात् दुलही र निमन्त्रणा पाउनेहरू मूलभूत रूपमै फरक छन् ।

यदि दुलही नै सन्तहरू हुन् भने ‘निमन्त्रणा पाउनेहरू’चाहिँ को होलान् ? वास्तवमा निमन्त्रणा पाउनेहरूचाहिँ अनन्त जीवनको आशिष् पाउने सन्तहरू हुन् । यसकारण प्रकाश १९:७मा उल्लेखित ‘थुमाकी पत्नी’ले सन्तहरूलाई होइन तर सन्तहरूलाई आमन्त्रण गरेर आशिष्‌ दिनुहुने मक्तिदाता अर्थात् स्वर्गीय मातालाई जनाउँछ ।

स्वर्गीय विवाह-भोजबारे येशूज्यूको दृष्टान्त

येशूज्यूले बताउनुभएको विवाह-भोजको दृष्टान्तमा पनि सन्तहरूलाई दुलही होइन तर ‘निमन्त्रणा पाउनेहरू’ अर्थात् पाहुनाको रूपमा अभिव्यक्त गरिएको छ ।

“स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, … “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे । तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो ?’ त्यो निरुत्तर भयो । … किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन् ।” मत्ती २२:१-१४

यो दृष्टान्तमा, राजाको छोराले परमेश्वरका पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई जनाउँछ । निमन्त्रणा पाएका पाहुनाहरूले चाहिँ ‘चुनिएका’ सन्तहरूलाई जनाउँछ । अर्को दृष्टान्तमा पनि येशूज्यूले सन्तहरूलाई विवाह-भोजका पाहुनासँग तुलना गर्नुभएको छ ।

यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए । मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन् ?” येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा तिनीहरूका साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्छन् र ? जहिलेसम्म दुलहा तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन् । तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन् ।” मर्क २:१८-२०

कतिपय मानिसहरूले येशूज्यूलाई “तपाईंका चेलाहरू किन उपवास बस्दैनन् ?” भनेर सोध्दा, येशूज्यूले “दुलहा साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्दैनन्” भनेर जवाफ दिनुभयो । यसले, येशूज्यूका चेलाहरू नै विवाह-भोजका पाहुनाहरू हुन् भन्ने कुरा दर्शाउँछ । फेरि भन्नुपर्दा, येशूज्यूले सन्तहरूलाई दुलहीको रूपमा होइन तर विवाह-भोजका पाहुनाको रूपमा दृष्टान्त गर्नुभयो भन्ने अथ हो ।

तसर्थ स्वर्गीय विवाह-भोजमा थुमाकी पत्नी अर्थात् दुलहीले मण्डली(सन्तहरू)लाई होइन तर स्वर्गीय मातालाई जनाउँछ ।