के प्रकाश २२:१७मा उल्लेखित ‘दुलही’चाहिँ मण्डली(सन्त) होइन र ?

16268भ्यु

प्रकाश अध्याय २२मा, पवित्र आत्मा र दुलहीले जीवनको पानी दिइरहनुभएको देख्न सकिन्छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७

कसै-कसैले प्रकाशको पुस्तकमा उल्लेखित दुलहीचाहिँ मण्डली(सन्त) हो भनेर जिद्दी गर्ने गर्छन् । तर यहाँ ‘पवित्र आत्मा र दुलही’ले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछ ।

जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ को हुनुहुन्छ होला ?

प्रकाश अध्याय २२मा उल्लेखित दुलहीको कार्यलाई हेरौं ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७

दुलहीचाहिँ जीवनको पानी दिनुहुने व्यक्ति हुनुहुन्छ । बाइबलमा मण्डलीले सन्तहरूलाई जनाउँछ (१ कोर १:२) । त्यसैले यदि दुलही नै मण्डली हो भने सन्तले जीवनको पानी दिन्छन् भन्ने अर्थ हुन जान्छ । तर के बाइबलमा सन्त(मण्डली)ले जीवनको पानी दिन सक्छन् भन्ने वचन छ र ? बाइबलमा यस्तो वचन कहीँ पनि लेखिएको छैन । जीवनको पानी दिन सक्ने शक्तिचाहिँ केवल मुक्तिदाता हुनुभएका परमेश्वरसँग मात्र छ भनेर बाइबलमा जानकारी दिइएको छ ।

पिताको युगमा जीवनको पानीको मूलचाहिँ केवल यहोवा परमेश्वर हुनुहुन्थ्यो (यर २:१३) । त्यो युगमा, परमेश्वरको वचन सुनाउने अगमवक्ताहरू धेरै थिए, तर ती अगमवक्ताहरूले जीवनको पानी दिए भन्ने वचन बाइबलमा कतै पनि लेखिएको छैन ।

त्यसै गरी पुत्रको युगमा, केवल येशूज्यूले मात्र जीवनको पानी दिनुभएको थियो (यूह ४:१४) । त्यो समयमा, परमेश्वरको वचन सुनाउने प्रेरितहरू त धेरै थिए, तर ती प्रेरितहरूले जीवनको पानी दिए भन्ने वचन बाइबलमा कतै पनि लेखिएको छैन । जुनसुकै युगमा होस्, सन्तहरूले परमेश्वरको सट्टामा जीवनको पानी दिएको अभिलेख बाइबलमा कतै पनि छैन ।

यस्तो बाइबलको अविरोध शिक्षालाई हेर्दा, प्रकाशको पुस्तकमा उल्लेखित जीवनको पानी दिनुहुने दुलहीचाहिँ कुनै सन्त होइनकि मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । त्यसैले प्रकाश अध्याय २१मा, ‘परमेश्वर’ले तिर्खाएकाहरूलाई सित्तैँमा जीवनको पानी दिनुहुन्छ भनेर लेखियो, अनि अध्याय २२मा चाहिँ ‘पवित्र आत्मा र दुलही’ले तिर्खाएकाहरूलाई सित्तैँमा जीवनको पानी दिनुहुन्छ भनेर लेखिएको हो ।

सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “… तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु । … म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ ।” प्रका २१:५-७

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७

निष्कर्षमा भन्नुपर्दा, तिर्खाएकाहरूलाई जीवनको पानी सित्तैँमा दिनुहुने पवित्र आत्मा र दुलहीचाहिँ परमेश्वर हुनुहुन्छ ।

केवल परमेश्वरले मात्र दिन सक्नुहुने जीवनको पानी

सन्त(अगमवक्ता वा प्रेरित)हरूले जीवनको पानी दिन सक्छन् भन्ने वचन बाइबलमा एउटा पनि नहुनुको कारण के होला ? हामीले मोशाको घटनामार्फत यसको कारण जान्न सक्छौं ।

मोशाले लहुरोले चट्टानमा हिर्काउँदा त्यसबाट पानी निस्केर आयो । खासमा इस्राएलीहरूलाई पानी दिने व्यक्तिचाहिँ मोशा होइनकि परमेश्वर हुनुहुन्थ्यो । तथापि दिनरात इस्राएलीहरूले कचकच र गनगन सुन्दा-सुन्दा मोशाले आखिरमा “के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔं ?” भन्ने गलत बोली बोल्न पुगे (गन्ती २०:१०) ।

त्यो समयमा मोशाले, आफूले नै ती इस्राएलीहरूलाई पानी दिएजत्तिकै गरेर बोले । समस्त इस्राएलीहरूलाई ४० वर्षसम्म उजाड-स्थानको बाटोमा डोऱ्याएका महान् अगमवक्ता नै भए पनि तिनी आफूले चाहिँ अन्त्यमा प्रतिज्ञाको देश कनानमा प्रवेश गर्न पाएनन् (व्य ३२:४८-५२) ।

परमेश्वरले दिनुभएको प्राकृतिक पानीलाई, अगमवक्ताले आफूले नै दिएजत्तिकै गरेर प्वाक्क बोल्दाखेरि तिनी कनान प्रवेश गर्न पाएनन् । झन् केवल परमेश्वरले मात्र दिन सक्नुहुने जीवनको पानी, सन्तहरूले दिन सक्छन् भन्यो भने कति ठूलो दशा लाग्छ होला ? अगमवक्ताहरूले परमेश्वरको तर्फबाट लेखेको बाइबलमा, मानिसले जीवनको पानी दिन सक्छ भन्ने वचन कहीँ पनि छैन । तसर्थ प्रकाशको पुस्तकमा उल्लेखित जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही कदापि सन्त हुन सक्नुहुन्न ।

दुलहीचाहिँ सन्तहरूकी आमा

त्यसोभए प्रकाश अध्याय २२मा, जीवनको पानी दिनुहुने दुलहीचाहिँ को हुनुहुन्छ होला ?

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” … र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०

दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ भनेर बाइबलले बताएको छ । यादि दुलही नै सन्त हो भने बाइबलमा स्वर्गीय यरूशलेमलाई हामी अर्थात् मुक्ति पाउने सन्तको रूपमा अभिलेख गरिएको हुनुपर्ने । तर गलाती अध्याय ४मा स्वर्गीय यरूशलेमलाई हाम्री आमा भनिएको छ ।

तर माथि(स्वर्ग)को यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

दुलहीले सन्तहरूलाई होइनकि हाम्री मातालाई जनाउँछ । बाइबलले परमेश्वरका प्रजालाई ‘स्वतन्त्र स्त्रीका सन्तान’ भनेर बारम्बार गवाही दिएको छ (गला ४:३१) । यसले हामीचाहिँ स्वर्गीय माताका सन्तान हौं, र हामी र स्वर्गीय माताबीच ठूलो भिन्नता छ भन्ने कुरा प्रष्ट्याइदिएको छ । तसर्थ प्रकाश अध्याय २२मा उल्लेखित ‘दुलही’चाहिँ मण्डली(सन्त) होइनकि जीवनको पानी दिनुहुने स्वर्गीय माता हुनुहुन्छ । यस पवित्र आत्माको युगमा केवल पवित्र आत्मा र दुलहीले मात्र जीवनको पानी दिन सक्नुहुन्छ ।