मत्ती अध्याय २२मा, येशूज्यूले सिकाउनुभएको स्वर्गीय विवाह-भोजको दृष्टान्त अभिलेख गरिएको छ । यो दृष्टान्तमा दुलहा र निमन्त्रित व्यक्तिहरू देखा परेका छन्, तर विवाह-भोजको मुख्य पात्र दुलही भने देखा परेकी छैनन् । येशूज्यूको पहिलो आगमनको समयमा देखा नपर्नुभएकी दुलहीचाहिँ प्रकाशको पुस्तकको अगमवाणीमा देखा पर्नुभएको छ । यसरी दुलहीचाहिँ अन्त्यका दिनहरूमा दोस्रो आगमनका येशूज्यू अर्थात् थुमा हुनुभएका पिता परमेश्वरसँगै देखा पर्नुहुने स्वर्गीय यरूशलेम अर्थात् माता परमेश्वर हुनुहुन्छ । बाइबलमा अन्त्यका दिनहरूमा स्वर्गीय विवाह-भोजको दुलहा र दुलही हुनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई ग्रहण गर्नेहरूले मात्र जीवनको पानी अर्थात् अनन्त जीवन पाउनेछन् भनेर जानकारी दिइएको छ ।
पहिलो आगमनको समयमा देखा नपर्नुभएकी विवाह-भोजको दृष्टान्तको दुलही
येशूज्यूले, हामीले मुक्ति पाउने र स्वर्ग-राज्य प्रवेश गर्ने कुरालाई विवाह-भोजमा निमन्त्रणा पाएर सहभागी हुने कुरासँग तुलना गर्नुभयो । परमेश्वरले विभिन्न किसिमका भोजहरूमध्ये विशेष गरी विवाह-भोजको विषयमा उल्लेख गर्नुको एउटा महत्त्वपूर्ण कारण छ ।
येशूले फेरि तिनीहरूलाई दृष्टान्तमा भन्नुभयो, “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन् । … तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन् । यसकारण तिमीहरू सडकहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ ।’ तब ती नोकरहरूले सडकहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो ।” मत्ती २२:१-१०
विवाह-भोजमा को-को हुनुपर्छ ? विवाह-भोज सम्पन्न हुनको निम्ति अनिवार्य रूपमा दुलहा, दुलही साथै निमन्त्रित व्यक्तिहरू हुनुपर्छ । फेरि भन्नुपर्दा, विवाह-भोज सम्पन्न हुनको निम्ति चाहिने अत्यावश्यक व्यक्ति भनेकै दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरू हुन् ।
मत्ती अध्याय २२मा उल्लेखित विवाह-भोजको दृष्टान्तमा राजाको छोरा भएका दुलहा देख्न सकिन्छ । यहाँ राजाको छोराले परमेश्वरका पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई जनाउँछ । अर्को, पाहुनाको रूपमा निमन्त्रणा पाएकाहरूले चाहिँ येशूज्यूलाई ग्रहण गरेर स्वर्ग प्रवेश गर्ने सन्तहरूलाई जनाउँछ । यसरी विवाह-भोजको दृष्टान्तमा दुलहा र पाहुनाहरू देख्न सकिन्छ ।
तर विवाह-भोजमा हुनुपर्ने मुख्य पात्र, दुलही भने देख्न सकिँदैन । दुलहीविना विवाह-भोज सम्पन्न हुनै सक्दैन । तैपनि येशूज्यूले किन दुलहीको विषयमा उल्लेख नगर्नुभएको होला ? के स्वर्गीय विवाह-भोजमा दुलही नहुनुभएकोले होला त ? होइन । त्यसको कारणचाहिँ २,००० वर्षअघि येशूज्यूको पहिलो आगमनको समयमा दुलही देखा पर्ने अगमवाणी नभएकोले गर्दा हो ।
अन्त्यका दिनहरूमा देखा पर्नुहुने विवाह-भोजको दृष्टान्तको दुलही
त्यसोभए विवाह-भोजको दृष्टान्तको दुलही कहिले देखा पर्नुहुन्छ होला ? बाइबलमा येशूज्यू दोस्रो पल्ट आउनुहुँदा अर्थात् अन्त्यका दिनहरूमा दुलही प्रकट हुनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” प्रका १९:७-९
बाइबलको यो दृश्यमा, येशूज्यूको पहिलो आगमनको समयमा देखा नपर्नुभएकी दुलही अर्थात् थुमाकी पत्नी, दुलहा हुनुभएका थुमासँगै विवाह-भोजमा देखा पर्नुभएको छ । यो दृश्यमा निमन्त्रणा पाएकाहरू अर्थात् पाहुनाहरू पनि देख्न सकिन्छ । त्यसैले स्वर्गीय विवाह-भोजमा दुलहा र पाहुनाहरू मात्र नभएर दुलही पनि अनिवार्य हुनुपर्छ । येशूज्यूले हाम्रो मुक्ति र स्वर्ग प्रवेश गर्ने कुरालाई विभिन्न भोजहरूमध्ये विवाह-भोजमा प्रवेश गर्ने कुरासँग दृष्टान्त गर्नुभयो । तसर्थ परमेश्वरले २,००० वर्षअघि नै हामीलाई दुलहीको अस्तित्वबारे जानकारी दिनभयो ।
त्यसोभए प्रकाश अध्याय १९को अगमवाणीमा उल्लेखित दुलहा हुनुभएका थुमाचाहिँ को हुनुहुन्छ होला ? बाइबलमा येशूज्यूलाई थुमाको रूपमा वर्णन गरिएको छ (यूह १:२९) । अनि प्रकाश अध्याय १९मा चाहिँ थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । किनभने पहिलो आगमनको समयभन्दा फरक, थुमाचाहिँ दुलहीसँगै देखा पर्नुहुने भएकोले हो । तसर्थ प्रकाश अध्याय १९मा उल्लेखित थुमाले दोस्रो आगमनका येशूज्यूलाई सङ्केत गर्दछ । अनि निमन्त्रणा पाउने पाहुनाहरू अर्थात् अनन्त जीवनको आशिष् पाउनेहरूचाहिँ परमेश्वरका प्रजाहरू हुन् । त्यसोभए दोस्रो आगमनको समयमा देखा पर्नुहुने थुमाकी पत्नी अर्थात् उहाँकी दुलहीचाहिँ को हुनुहुन्छ होला ?
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०
स्वर्गदूतले प्रेरित यूहन्नालाई थुमाकी पत्नी अर्थात् दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम देखाए । योचाहिँ दुलहीको अर्थ सहर भन्ने कुरा होइन । जसरी प्रकाशको पुस्तकमा स्वर्गीय विवाह-भोजको दुलहालाई थुमा भनेर वर्णन गरे तापनि उहाँ वास्तविक जनावर हुनुहुन्न, त्यसरी नै दुलही पनि वास्तविक सहर हुनुहुन्न । तर बाइबलमा उहाँलाई स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिएको छ । त्यसोभए बाइबलमा स्वर्गीय यरूशलेमले कसलाई जनाएको होला ?
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६
माथि अर्थात् स्वर्गको यरूशलेमचाहिँ हाम्री माता हुनुहुन्छ । तसर्थ दुलही देखा पर्नुहुनेछ भन्ने प्रकाशको पुस्तकको अगमवाणीचाहिँ, स्वर्गमा रहनुभएकी माता परमेश्वर यो पृथ्वीमा देखा पर्नुहुनेछ भन्ने कुराको गवाही दिने अगमवाणी हो । त्यसैले दुलहीलाई स्वर्गबाट तलतिर झरिरहेको यरूशलेम भनेर अभिव्यक्त गरिएको हो ।
थुमा पिता परमेश्वर हुनुहुन्छ, र उहाँकी दुलहीचाहिँ यरूशलेम माता हुनुहुन्छ । थुमा अर्थात् दोस्रो आगमनका येशूज्यू हुनुभएका पिता परमेश्वर र दुलही हुनुभएकी माता परमेश्वर सँगै देखा पर्नुभएर सन्तानहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुहुने सम्बन्धमा प्रकाश अध्याय २२मा, अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही सँगै देखा पर्नुहुनेछ भनेर गवाही दिइएको छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७
अन्त्यका दिनहरूमा देखा पर्नुहुने पवित्र आत्मा र दुलहीको उद्देश्यचाहिँ जीवनको पानी अर्थात् अनन्त जीवन दिनको निम्ति हो । त्यसैले बाइबलमा थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् भनिएको छ (प्रका १९:९) । हामीले अनन्त जीवन प्राप्त गर्नको निम्ति पिता परमेश्वरलाई मात्र होइनकि माता परमेश्वरलाई पनि ग्रहण गर्नुपर्छ । त्यसो गरेमा हामीहरू विवाह-भोजको पाहुना भएर, जीवनको पानी ग्रहण गरी अनन्त स्वर्गीय राज्यमा प्रवेश गर्न सक्छौं (प्रका १९:९) ।
अन्त्यका दिनहरूमा जीवनको पानीको मूल हुनुभएकी माता परमेश्वर
येशूज्यू दोस्रो पल्ट आउनुहुँदा पिता परमेश्वर र माता परमेश्वर हुनुभएका पवित्र आत्मा र दुलही देखा पर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । तर धेरै ख्रीष्टियानहरूले येशूज्यूको दोस्रो आगमनको दिन नै अन्तिम इन्साफको दिन हो भनेर गलत तरिकाले सोचिरहेका छन् । यो सोचाइचाहिँ येशूज्यूले बाइबलमार्फत सिकाउनुभएको कुराभन्दा बिलकुलै फरक छ ।
त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन् । जब यी कुरा हुन थाल्छन् तब खडा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ । लूक २१:२७-२८
माथिको वचनमा ‘तिमीहरू’ भन्नाले चेलाहरूजस्तै ख्रीष्टलाई ग्रहण गरेका सन्तहरू हुन् । तसर्थ ‘तिमीहरूको उद्धार’को दिनले परमेश्वरका प्रजाहरू स्वर्गीय राज्य प्रवेश गर्ने अन्तिम इन्साफको दिनलाई जनाउँछ (२ पत्र ३:१२-१३; एफि ४:३०) । यद्यपि येशूज्यूले इन्साफको दिनमा आउनेछु भनेर भन्नुभएको होइनकि त्यो दिन नजीकिँदै गर्दा आउनेछु भनेर भन्नुभएको हो । त्यसैले थुमा हुनुभएका येशूज्यूचाहिँ अन्तिम इन्साफको दिन नजिक आइरहेको अन्तिम युगमा देखा पर्नुहुनेछ र दुलही पनि त्यही समयमा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । पछिल्ला दिनहरूमा थुमा र उहाँकी पत्नी अर्थात् पवित्र आत्मा र दुलही, शरीर धारण गरेर यो पृथ्वीमा आउनुहुनेछ र आत्मिक रूपमा तिर्खाइरहेका सबै मानिसहरूलाई जीवनको पानी लिन आमन्त्रण गर्नुहुनेछ ।
पुरानो करारमा जकरिया अगमवक्ताले पनि अन्त्यका दिनहरूमा जीवनको पानी दिनुहुने दुलहीको विषयमा अगमवाणी गरेका थिए ।
त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ । जक १४:८
प्रकाशको पुस्तकमा स्वर्गीय यरूशलेम हुनुभएकी दुलहीले जीवनको पानी दिनुहुनेछ भनेर गवाही दिइएको छ । साथै जकरिया अगमवक्ताले पनि यरूशलेमबाट जिउँदो पानी निस्केर आउने विषयमा गवाही दिएका छन् । यो नै जकरिया अध्याय १४मा उल्लेखित यरूशलेमले प्रकाशको पुस्तकमा उल्लेखित दुलही अर्थात् स्वर्गीय मातालाई जनाउँछ भन्ने अर्थ हो । जकरिया अगमवक्ताले जिउँदो पानीको मूल यरूशलेममा सबै मानिसहरू आउनेछन् र यरूशलेममा नआउनेहरूले चाहिँ विपत्ति भोग्नेछन् भनेर लगातार अगमवाणी गरेका छन् ।
तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मान्नलाई यरूशलेममा जानेछन् । सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्ये जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन । मिश्रदेशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्नेछैन । पमप्रभुले तिनीहरूमाथि पनि त्यही रूढी ल्याउनुहुनेछ, जुन रूढी छाप्रो–वासको चाड नमान्नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्छ । जक १४:१६-१८
“परमप्रभुले यरूशलेमलाई स्थापित गर्नुहुनेछ”
मानव-जातिलाई स्वर्गीय माता अन्त्यका दिनहरूमा यो पृथ्वीमा आउनुहुनेछ भन्ने कुरा त परैजाओस् उहाँ अस्तित्वमा हुनुहुन्छ भन्ने कुरासमेत थाहा थिएन । त्यसोभए कसले हामीलाई स्वर्गीय माता चिनाइदिनुहुन्छ होला ?
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ । यशै ६२:६-७
यरूशलेमको महिमा पृथ्वीभरि फैलिन्छ भन्ने अगमवाणीचाहिँ स्वर्गीय यरूशलेम अर्थात् हाम्री मातासम्बन्धी अगमवाणी हो । यद्यपि बाइबलमा परमप्रभु हुनुभएका हाम्रा स्वर्गीय पिताले स्वर्गीय मातालाई स्थापित गर्नुहुनेछ भनिएको छ । परमेश्वरले पनि उत्पत्तिको पुस्तकमा आदम र हव्वाद्वारा माता परमेश्वरको विषयमा गवाही दिनुभएको छ ।
मानिसले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो । तिनलाई स्त्री भनिनेछ । किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् ।” उत २:२३
आदमले “यो त मेरै हाडको हाड र मासुको मासु हो” भन्दै हव्वा तिनको एउटै शरीर हुन् भनेर गवाही दिए । अनि तिनले आफ्नी पत्नीको नाउँ राखे जसको शाब्दिक अर्थ ‘जीवन’ हो ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । उत ३:२०
हिब्रू भाषामा ‘हव्वा’ नाउँको अर्थ जीवन हो । ‘जीवन’ भन्ने अर्थमा कसले स्त्रीलाई ‘हव्वा’ भन्ने नाउँ दिएको होला ? ती व्यक्ति नै आदम हुन् । बाइबलमा आदम र हव्वाको इतिहासचाहिँ केवल सामान्य विगतको इतिहासको रूपमा मात्र अभिलेख गरिएको छैन । बाइबलमा परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका आदम र हव्वाले अन्त्यका दिनहरूमा आउनुहुने पिता परमेश्वर र माता परमेश्वरलाई सङ्केत गर्दछ (रोम ५:१४) । शबाथ-दिनभन्दा अघिल्लो दिन अर्थात् छैटौँ दिनमा आदम र हव्वा सृष्टि भए भन्नुको अर्थचाहिँ अनन्त विश्राम नजिक आउँदा आदमको रूपमा सङ्केत गरिनुभएका स्वर्गीय पिता अर्थात् दोस्रो आगमनका ख्रीष्टचाहिँ स्वर्गीय मातासँगै देखा पर्नुहुनेछ भन्ने कुरा हो । बाइबलमा आदमले आफ्नी पत्नी हव्वाको विषयमा गवाही दिएको इतिहासले स्वर्गीय पिता स्वयम्ले पनि हव्वाको रूपमा सङ्केत गरिनुभएकी स्वर्गीय माताको गवाही दिनुहुन्छ भन्ने कुरा दर्शाउँछ ।
यी सम्पूर्ण अगमवाणीअनुसार, यो युगमा पवित्र आत्मा हुनुभएका स्वर्गीय पिता आन साङ होङज्यूले दुलही अर्थात् स्वर्गीय माताको विषयमा गवाही दिनुभयो । उहाँले हामीलाई अनन्त जीवन प्राप्त गर्नको निम्ति स्वर्गीय मातालाई विश्वास गरेर पछ्याउनुपर्छ भनेर पनि सिकानुभयो । तसर्थ स्वर्गीय पिता स्वयम्ले गवाही दिनुभएको स्वर्गीय मातालाई ग्रहण गरेर अनन्त जीवनको आशिष् पाई स्वर्ग प्रवेश गर्ने होऔं ।