बाइबलमा उल्लेखित ‘यरूशलेमबाट जीवनको पानी निस्केर आउनेछ’ भन्ने अगमवाणीको साँचो अर्थ

2541भ्यु

बाइबलमा, यरूशलेमबाट जीवनको पानी निस्केर आउनेछ, र सारा समुद्रतिर नित्य बगिरहनेछ भनेर अगमवाणी गरिएको छ ।

त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ । जक १४:८

प्यालेस्टाइनमा अवस्थित यरूशलेमचाहिँ उपत्यकाहरूले घेरिएको सहर हो, र यो अग्लो ठाउँमा अवस्थित भएकोले यहाँ प्राकृतिक पानीको अलि अभाव छ । तीमाथि विश्वका अन्य क्षेत्रहरूको तुलनामा यो ठाउँमा चाहिँ वार्षिक वर्षा पनि धेरै नै न्यून छ । पार्थिव यरूशलेमको यस्तो बिजोग अवस्थालाई मध्यनजर गरिहेर्दा, यरूशलेमबाट जीवनको पानी नित्य बगिनिस्कनेछ भनिएको बाइबलको अगमवाणीलाई ठीकसँग बुझ्नु र आत्मिक जीवनको पानीको महत्त्वबारे सोच्नु मात्र पनि चुनौतीपूर्ण कुरा हो । जीवनको पानी बगिनिस्कने मुक्तिको शरणस्थान यरूशलेम कहाँ छ, र बाइबलको अगमवाणीको साँचो अर्थ के हो भन्नेबारे अध्ययन गरौं ।

जीवनको पानी दिनुहुने परमेश्वर

बाइबलमा आत्मिक जीवनको पानीले परमेश्वरको वचन (जुन आत्मिक जीवनको निम्ति अत्यावश्यक छ) र पवित्र आत्मा (जुन सत्यताको वचनद्वारा सन्तहरूमाथि झारिएको थियो) दुवैलाई जनाउँछ (आमो ८:११-१२; यूह ७:३७–३९) । शारीरिक जीवन निर्वाह गर्नका लागि पानी आवश्यक परेजस्तै, आत्मिक जीवन निर्वाह गर्नको निम्ति जीवनको पानी आवश्यक पर्छ । प्रत्येक युगमा जीवनको पानीचाहिँ केवल मुक्तिदाताले मात्र दिन सक्नुहुन्छ भनेर बाइबलमा लेखिएको छ ।

पिताको युगमा यहोवा परमेश्वरले जीवनको पानी दिनुभयो ।

“मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन् ।” यर २:१३

पिताको युगमा यहोवा परमेश्वरलाई विश्वास गर्नेहरूले मात्र जीवनको पानी पाए । त्यसै गरी पुत्रको युगमा चाहिँ मुक्तिदाता येशूज्यूले जीवनको पानी दिनुभयो ।

अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” यूह ७:३७-३८

येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो । … तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन । जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ !” यूह ४:१०-१४

पुत्रको युगमा मुक्तिदाता येशूज्यूलाई ग्रहण गरेकाहरूले मात्र जीवनको पानी पाउन सके । त्यसैले त येशूज्यूले सामरी स्त्रीलाई “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो” भन्नुभयो ।

जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही

पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७

पिता र पुत्रको युगमा मुक्तिदातालाई सही तरिकाले चिनेर विश्वास गरेकाहरूले जीवनको पानी पाए । त्योजस्तै यस पवित्र आत्माको युगमा चाहिँ पवित्र आत्मा र दुलहीलाई चिनेर विश्वास गर्नेहरूले मात्र जीवनको पानी पाउन सक्छन् । त्रिएकअनुसार हेर्दा प्रकाश अध्याय २२मा उल्लेखित पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । त्यसोभए पवित्र आत्मा सँगसँगै हामीलाई जीवनको पानी दिनुहुने दुलहीचाहिँ को हुनुहुन्छ होला ?

तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” … परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । प्रका २१:९-१०

स्वर्गदूतले यूहन्नालाई दुलही देखाउनेछु भने, र स्वर्गदेखि तलतिर झरिरहेको यरूशलेम देखाए । फेरि भन्नुपर्दा, प्रकाश अध्याय २२मा उल्लेखित जीवनको पानी दिनुहुने दुलही नै यरूशलेम हुनुहुन्छ । यो वचनचाहिँ, भविष्यमा जीवनको पानी यरूशलेमबाट बगिनिस्कनेछ भनिएको जकरियाको पुस्तकको अगमवाणीसँग मेल खान्छ । जीवनको पानी दिन पवित्र आत्मा हुनुभएका पिता परमेश्वरसँगै देखा पर्नुहुने दुलही को हुनुहुन्छ भन्ने कुरा हामीले जान्यौं भने यरूशलेमलाई जीवनको पानीको मूल भनेर अगमवाणी गरिनुको साँचो अर्थ हामीले बुझ्न सक्नेछौं ।

‘जीवनको पानी यरूशलेमबाट बगिनिस्कनेछ’ भन्ने अगमवाणीको अर्थ

स्वर्गीय यरूशलेम वास्तवमा को हुनुहुन्छ भन्नेबारे प्रेरित पावलले यसरी लेखेः

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

तिनले माथिको यरूशलेम ‘हाम्री आमा’ हुन् भनेर गवाही दिए । यहाँ ‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ । येशूज्यूले परमेश्वरलाई ‘हाम्रा पिता’ भन्नुभएर हामीलाई पिता परमेश्वरको बारेमा सिकाउनुभयो । त्यसै गरी, येशूज्यूको शिक्षालाई पछ्याएका प्रेरित पावलले स्वर्गमा आत्मिक आमा, अर्थात् माता परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रष्ट्याउँदै ‘हाम्री आमा’ भनेर लेखे ।

यसकारण प्रकाश अध्याय २१मा स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी ‘थुमाकी पत्नी’ र प्रकाश अध्याय २२मा उल्लेखित ‘दुलही’ले माता परमेश्वरलाई जनाउँछ । अन्त्यको समयमा पवित्र आत्मा हुनुभएका पिता परमेश्वर र माता परमेश्वर एकसाथ देखा पर्नुभएर जीवनको पानी दिनुहुन्छ । हामीले सुरुमै निश्चित गरेजस्तै “त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ” भन्ने अगमवाणीचाहिँ अन्त्यको समयमा जीवनको पानीको मूल हुनुभएकी स्वर्गीय यरूशलेम सम्बन्धी अगमवाणी हो ।

त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ । जक १४:८

योचाहिँ प्यालेस्टाइनमा अवस्थित भौतिक यरूशलेमसम्बन्धी अगमवाणी होइन । तर अन्त्यको समयमा स्वर्गीय यरूशलेम माताले विनाविश्राम वर्षैभरि जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । माता परमेश्वरले दिनुहुने जीवनको पानीको विषयमा इजकिएल अगमवक्ताले पनि यसरी अगमवाणी गरे :

तब ती मानिसले मलाई फर्काएर मन्दिरको प्रवेशद्वारमा ल्याए, र मैले मन्दिरको सँघारको मुन्तिर पानी आइरहेको र पूर्वतिर बगिरहेको देखें (किनभने मन्दिर पूर्वतिर फर्केको थियो) । पानी मन्दिरको दक्षिणबाट, वेदीको दक्षिणपट्टिबाट बगिरहेको थियो । तब तिनले मलाई उत्तरको मूल ढोका भएर बाहिर ल्याए, र पूर्वतिर फर्केको बाहिरी ढोकामा घुमाएर ल्याए, र पानीचाहिँ दक्षिणतिरबाट बगिरहेको थियो । जब ती मानिस एउटा नाप्ने टाँगो हातमा लिएर पूर्वतिर गए, तब तिनले एक हजार हात नापे, र गोलीगाँठासम्म गहिरो पानीबाट मलाई हिँड्न लगाए । तिनले अरू एक हजार हात नापे र मलाई घुँडासम्मको पानीबाट हिँड्न लगाए । तिनले अरू एक हजार हात नापे र मलाई कम्मरसम्मको पानीबाट हिँड्न लगाए । तब तिनले अरू एक हजार हात नापे, तर अब त्यो तर्न नसकिने नदी भयो, किनभने पानी बढेको थियो, र त्यो पौड्न सक्ने गहिरो भएको थियो– वारपार गर्न नसकिने त्यो एउटा नदी भएको थियो । इज ४७:१-५

यहाँ उल्लेखित मन्दिरचाहिँ यरूशलेम मन्दिर हो । यरूशलेम मन्दिरबाट बगेको जीवनको पानी सुरुमा गोलीगाँठासम्म गहिरो थियो, तर निरन्तर बग्दैजाँदा त्यो पानी घुँडासम्म, र कम्मरसम्म पुग्यो । त्यसपछि त कसैले वारपार गर्न नसक्ने गहिरो नदी भयो । योचाहिँ यरूशलेमको वास्तविकता हुनुभएकी माता परमेश्वरबाट बगिनिस्कने जीवनको पानीको शक्तिसम्बन्धी अगमवाणी हो । स्वर्गीय यरूशलेमबाट सुरु भएको जीवनको पानीको वचन अहिले सारा संसारमा फैलिएको छ, र त्यसले सारा संसारलाई पुनर्जीवित पारिरहेको छ ।

जीवनको पानीको मूल हुनुभएकी यरूशलेमचाहिँ हामीलाई अनन्त जीवन दिनुहुने माता परमेश्वर हुनुहुन्छ

तिनले मलाई भने, “यो पानी पूर्वको इलाकातिर बग्छ, र त्यहाँदेखि तल अराबामा जान्छ, जहाँ त्यो खारा समुद्रमा पस्छ । जब त्यो खारा समुद्रमा रित्तिन्छ, तब त्यहाँको पानी ताजा बनिन्छ । त्यो नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू बस्नेछन् । त्यहाँ अनगन्ती माछा हुनेछन्, किनभने त्यो पानी त्यहाँ बग्छ र नुनिलो पानीलाई ताजा बनाइदिन्छ । यसैले जहाँ त्यो नदी बग्छ, त्यहाँ जेसुकै पनि बाँच्नेछ । … नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन् । तिनीहरूका पात ओइलाउनेछैनन् । तिनीहरूका फलहरू कहिल्यै शेष हुनेछैनन् । तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्थानदेखि तिनीहरूमा पानी बग्छ । तिनीहरूका फल खानाको निम्ति र तिनीहरूका पातचाहिँ आरोग्यको लागि हुनेछन् ।” इज ४७:८-९, १२

जीवनको पानी जहाँ बग्छ, त्यहाँको समुद्र ताजा हुन्छ र सबै जीवित प्राणीहरू बाँच्नेछन् भनिएको छ । बाइबलमा समुद्रले संसारका मानव-जातिलाई जनाउँछ (प्रका १७:१५) । स्वर्गीय माताको जीवनको पानीमा, मानव-जातिलाई अनन्त जीवन दिने अद्भुत शक्ति छ । साथै जीवनको पानी पाएर हुर्केका रूखका पातहरूले आत्मालाई आरोग्य प्रदान गर्ने औषधीको काम गर्नेछ पनि भनिएको छ । इजकिएलको पुस्तकमा गरिएजस्तै अगमवाणी प्रकाशको पुस्तकमा पनि देख्न सकिन्छ ।

तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए । त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की त्यस सहरका सडकको बीचबाट बगिरहेको थियो । त्यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्थ्यो । त्यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्ति थिए । प्रका २२:१-२

जीवनको पानी बगिनिस्कने सिंहासन नै यरूशलेम हो (यर ३:१७) । इजकिएलको पुस्तकको अगमवाणीजस्तै प्रकाशको पुस्तकमा पनि, ‘जीवनको पानीको नदीको किनारमा रहेको जीवनको वृक्षले महिनैपिच्छे बाह्र किसिमका फलहरू फलाउनेछ र त्यसको पात जाति-जातिहरूलाई निको पार्नका निम्ति हुनेछन्’ भनिएको छ । त्यसोभए जीवनको पानी ग्रहण गरेकाहरूले कस्तो महिमा पाउनेछन् होला ?

त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन् । प्रका २२:५

यहाँ ‘तिनीहरू’ भन्नाले स्वर्गीय यरूशलेम माताबाट जीवनको पानी ग्रहण गर्ने सन्तहरू हुन् । तिनीहरूले जीवनको पानी पाउनेछन्, र स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।

बाइबलमा देखिएजस्तै, जीवनको पानीको मूल हुनुभएकी यरूशलेमले माता परमेश्वरलाई जनाउँछ । अनि माता परमेश्वरबाट जीवनको पानी ग्रहण गर्नेहरूले अनन्त स्वर्गीय राज्यको आशिष् पाउनेछन् । तर ठीक विपरीत, यो अन्त्यको समयमा स्वर्गीय माताबाट बगिनिस्केको जीवनको पानी ग्रहण नगर्नेहरूले अनन्त जीवन, मुक्ति, महिमा र स्वर्गीय आशिष् पाउनेछैनन् भनेर बाइबलले चेताउनी दिएको छ । बाइबलका यी शिक्षाहरूलाई मनन गर्दै, स्वर्गीय यरूशलेमलाई ठीकसँग चिनेर जीवनको पानी ग्रहण गर्ने हामीहरू हुन सकौं ।