परमेश्वरको वचन सधैँभरि अटल रहनेछ

1351भ्यु
विषयसूची

सबै कुरा ठीक छ जस्तो लागेको बेला कठिनाइ आइपर्छ, आफू खुशी छु जस्तो लागेको बेला दुःख आइपर्छ र यसरी नै यो संसारको जीवनको समाप्त हुन्छ । मानिसहरू सबै जना उच्च र समृद्ध जीवन जिउन चाहन्छन्, यद्यपि अथक परिश्रम गरेर उच्च स्थानमा पुगे तापनि ती सबै शक्ति र प्रसिद्धि बतासले उडाएर लैजाने शरद्का पातहरूझैँ क्षणभरमै हराएर जान्छन् ।

पार्थिव महिमाचाहिँ केही बेरको लागि देखा परेर हराइजाने बिहानको तुँवालो वा पानीको फोकाजस्तै क्षणिक हुन्छ (याकू ४:१४) । हामीले प्राप्त गरेका कुराहरू सदासर्वदाको निम्ति हाम्रो हुने ठाउँचाहिँ केवल स्वर्ग-राज्य मात्र हो । परमेश्वरले “माथिका कुराहरूमा मन लगाओ” “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” भन्ने वचन दिनुभएको छ (कल ३:२; मत्ती ११:२८-२९) । परमेश्वरले हामीलाई प्रदान गर्नुभएका कुराहरू अनन्तको हो । उहाँले हामीलाई दिनुभएको जीवन अनन्तको हो, र स्वर्ग-राज्यमा हामीलाई राजकीय पूजाहारीगिरी बनाउनेछु भनी गर्नुभएको प्रतिज्ञा पनि अनन्तको हो । कष्ट नभएको, सदाकाल महिमा उपभोग गर्ने त्यो स्वर्ग-राज्य हाम्रो निम्ति तयार पारिएको छ नि, होइन र ? त्यो ठाउँ साँचो खुशी भएको ठाउँ हो । संसारको कुनै पनि कुरासँग तुलना गर्न नसकिने त्यस्तो महिमित ठाउँमा प्रवेश गर्न पाउनु हाम्रो लागि कति आशिषित र खुशीको कुरा हो भनी महसुस गर्दै एक-अर्कालाई “स्वर्ग जाने भएकोले बल गरौं” भन्दै हौसला दिऔं ।

बाइबलमा “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता” भन्ने वचनजस्तै हाम्रो जीवन पनि एकछिनको लागि सुन्दर रूपले फक्रेर ओइलाइजान्छ । घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ (यशै ४०:६-९; १ पत्र १:२३-२५) । स्वर्ग-राज्यमा कहिल्यै बुढो भइँदैन । जवान स्वरूप, खुशी र भव्यता पनि सदासर्वदा रहनेछ । त्यसैकारण अगमवक्ताहरूले स्वर्गको चाह गरेका हुन् र त्यहाँ प्रवेश गर्न आफूलाई समर्पित गरेका हुन् । हामी पनि परमेश्वरमाथि विश्वास गरेर कहिल्यै नओइलाउने अनन्त जीवन र अनन्त खुशी भएको स्वर्गमा जसरी भए पनि जाऔं ।

सोलोमनले परमेश्वरलाई एक हजार होमबली चढाएर प्रजाहरूमाथि राम्ररी शासन गर्ने बुद्धिको निम्ति बिन्ति गर्दा, परमेश्वरले प्रभावित हुनुभएर तिनलाई प्रशस्त धन-सम्पत्ति दिनुभएको थियो । यो पृथ्वीमा सोलोमनले जत्तिको भव्यता उपभोग गरेको व्यक्ति कोही पनि छैन । तिनले “मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ” (उप २:९-१०) भनेका उही सोलोमनले “सबै व्यर्थ हुन्” भनेका छन् (उप १:२-६, १४-१७) । अनि अन्त्यमा तिनले परमेश्वरको भय राख्न र उहाँको आज्ञा पालन गर्न जोड दिएका छन् (उप १२:१२-१३) । वास्तवमा भन्नुपर्दा, ज्ञान जति धेरै भयो उति नै धेरै पीडा हुन्छ, अनि जति धेरै ज्ञान हासिल गर्न खोज्यो पीडा झन् बढी हुन्छ । तर परमेश्वरको वचन पालन गऱ्यो भने भौतिक अभिलाषाहरू सबै हराएर जान्छ र स्वर्गमा गएर खुशीसाथ जिउने आशाले हाम्रो हृदयलाई आनन्दले भरिदिन्छ । स्वर्ग-राज्यमा पीडा हुँदैन, त्यहाँ केवल खुशी मात्र पोखिन्छ । त्यहाँ बिछोड हुँदैन, हामीहरू सदासर्वदा सँगै हुनेछौं । त्यो स्वर्ग जसरी भए पनि जाऔं ।

विश्वासका पुर्खाहरूले थुप्रै कष्ट भोगे र शहिद भए, तापनि स्वर्गको अनन्त इनाम प्राप्त गर्नको निम्ति उनीहरूले आफ्नो विश्वासलाई दृढ बनाइराखे (हिब्रू ११:८-१६) । हामीले पनि परमेश्वरको वचन पालन गऱ्यौं भने स्वर्गको इनाम प्राप्त गर्नेछौं । परमेश्वर हराएकालाई खोज्न र बचाउन यो पृथ्वीमा आउनुभएकाले हामीहरू पनि हराएकालाई खोज्ने कार्यमा परमेश्वरसँगै सहभागी भयौं भने हामीले प्रशस्त आशिष् पाउनेछौं (लूक १९:१०; यूह १३:१५) । हामीले परमेश्वरको वचन पालन गरेर त्यसलाई व्यवहारमा लागू गऱ्यौं भने स्वर्ग-राज्यमा महिमित इनामले हाम्रो प्रतिक्षा गरिरहेको हुनेछ (लूक १९:१५-१७; प्रका २२:११-१२) । हामीबाट त्यो आशिष् खोसेर लैजाने कोही पनि हुनेछैन ।

हामीले पाएको यो सत्यतालाई कदापि हलुका रूपमा लिनुहुँदैन । परमेश्वरले “मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ” भन्नुभयो (यूह १४:२१) । परमेश्वरले उहाँका प्रियजनहरूका निम्ति “आँखाले नदेखेको र कानले नसुनेको र मानिसले मनमा नसोचेको” सुन्दर सहर स्वर्गमा तयार पार्नुभएको छ (१ कोर २:९) । मानिसहरूलाई रत्नहरू एकदमै मनपर्ने भएकोले, बाइबलमा पनि त्यो सहर बहुमूल्य रत्नहरूले जडिएका छन् भनेर वर्णन गरिएको छ । तर हाम्रा पिताले चाहिँ ती रत्नहरूसँग तुलना नै गर्न नसकिने अत्यन्तै सुन्दर कुराहरूद्वारा त्यो ठाउँ तयार पार्दैहुनुहुन्छ (प्रका २१:१९-२१; ३:१०-१२) । प्रिय स्वर्गीय परिवारका सदस्यहरू, परमेश्वरको आज्ञा पालन गर्नेहरू र प्रशस्त फल फलाउनेहरूका निम्ति अहिले त्यो ठाउँ तयार हुँदैछ ।

यस्तो अशान्त संसारमा डर र त्रासमा जिइरहेका मानिसहरूलाई सियोनमा डोऱ्याएर साँचो सान्त्वना दिलायौं भने हामीले कति धेरै आशिष् पाउनेछौं ! हामीलाई अनन्तको आशिष् प्रदान गर्नुहुने परमेश्वरलाई धन्यवाद चढाऔं, अनि धेरै मानिसहरूलाई उहाँको काखमा डोऱ्याई स्वर्ग-राज्यमा हाम्रो नाउँ ताराजस्तै सदासर्वदा चम्कने गराऔं ।