नयाँ गरी जन्मेमा मात्र स्वर्गीय राज्य प्रवेश गर्न सकिन्छ

3645भ्यु
विषयसूची

सन्तहरूसँग कुरा गर्दा सबैको चाहना एउटै छ भन्ने कुरा थाहा पाउन सकिन्छ । उनीहरू प्रेममा बाँधिएर सुसमाचारको प्रशस्त फल फलाउन र सुन्दर स्वरूपमा परिवर्तन भएर स्वर्गीय राज्य प्रवेश गर्नको निम्ति निरन्तर प्रयत्न गर्छन् । प्रेम हुनुभएका परमेश्वरका सन्तानहरूको विशेषता नै प्रेम हो । उनीहरूले आफ्नो लागि मात्र असल कुराहरूको चाह गर्दैनन् तर सबैलाई खुशी मिल्ने कुराको चाह गर्छन् ।

छोरा-छोरीहरू बुबा-आमासँग मिल्दोजुल्दो भएजस्तै, परमेश्वरका छोरा-छोरीहरू पनि परमेश्वरसँग मिल्ने प्रेमको स्वरूपमा नयाँ गरी जन्मिनुपर्छ (१ यूह ४:७-८; यूह ३:३) । परमेश्वरले हामीलाई दिनुभएको प्रेमचाहिँ, स्वर्गमा मृत्युजन्य पाप गरेर अनन्त मृत्युमा जानुपर्ने सन्तानहरूको सट्टामा स्वयम्‌ले मृत्यु भोग्नुभएर आफ्नो अमूल्य रगतद्वारा हामीलाई बचाउनुभएको सर्वोत्तम प्रेम हो । यस्तो प्रेम थाहा पाएकाले हामी परमेश्वरलाई विश्वास गर्छौं, र स्वर्गसम्मै उहाँलाई पछ्याउँछौ ।

परमेश्वरको महान् प्रेम पाएका हामीलाई अब अरू के चाहिन्छ र ? “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर” (यूह १३:३४) । योचाहिँ परमेश्वरले हामीलाई प्रेम गर्नुभएर अनन्त जीवन दिनुभएजस्तै हामीले केवल प्रेम पाउन मात्र खोज्नुहुँदैन तर एक-अर्कालाई प्रेम दिनुपर्छ भन्ने कुरा हो । एक-अर्काप्रति विचारशील हुँदै प्रेम बाँड्दा परीक्षामा नपरीकन खुशी हुन सकिन्छ । प्रेमचाहिँ हामीले बोलेको बोलीले अरूलाई खुशी दिलाउँछ कि चोट पुऱ्याउँछ भन्ने कुरामा विचारशील हुन्छ । परमेश्वरलाई विश्वास गर्नुअघि आफ्नो इच्छाअनुसार बोल्ने र कार्य गर्ने गरेको भए तापनि, अबचाहिँ परमेश्वरको वचनलाई पछ्याउँदै अरूलाई आफूभन्दा श्रेष्ठ ठान्दै अरूप्रति विचारशील हुनुपर्छ । यसरी एक-अर्कालाई प्रेम गर्नु नै नयाँ गरी जन्मने प्रक्रिया हो ।

नयाँ गरी जन्मिनको लागि हाम्रो मुक्तिको निम्ति प्रार्थना गरिदिनुहुँदै सट्टामा बलिदान हुनुभएका ख्रीष्टको जस्तै सुन्दर र पवित्र मन लिन आवश्यक छ । प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन तर अरूको बारेमा पहिला सोचिदिन्छ (१ कोर १३:४-७) । हामीचाहिँ परमेश्वरको सन्तान भएकाले बोली, कार्य लगायत सम्पूर्ण कुरामा संसारको नून र ज्योति हुनुपर्छ ।

स्वार्थी मनलाई प्रेमिलो मनमा परिवर्तन गराउन चुनौतिपूर्ण हुन्छ । तर गाह्रो काम गरेमा नै प्रशस्त आशिष् पाउन सकिन्छ । प्रेरित पावलले “म प्रतिदिन मर्दछु” भने । योचाहिँ शारीरिक मृत्युको विषय होइन तर प्रतिदिन घमण्ड र सांसारिक चाहना मार्ने विषय हो । किनभने पापमय स्वभावलाई मारेमा मात्र ख्रीष्टले हामीमा कार्य गर्नुभएर हामीद्वारा प्रेम बाँड्नुहुन्छ ।

हामीले निस्तार-चाडद्वारा मानिसहरूलाई अनन्त जीवन दिने साँचो प्रेम बाँडिरहेका छौं । यस्तो प्रेम बाँड्नका लागि हामीले सुन्दर मन लिएर असल कार्य गर्नुपर्छ र सुन्दर बोली बोल्दै खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्नुपर्छ । प्रेमलाई व्यवहारमा लागू गरिहेरौं । प्रेम दिने अभ्यास गर्दा त्यसलाई बानी बनाउन सकिन्छ । अनि प्रार्थना गर्दै त्यसलाई व्यवहारमा लागू गर्दा परमेश्वरले त्यो प्रयत्नलाई हेर्नुभएर परमेश्वरको सुन्दर सन्तानको रूपमा परिवर्तन गर्नुहुन्छ ।

सुसमाचारको कार्यलाई कष्टले पछ्याउँछ । तर ती कष्टहरूद्वारा अन्ततः स्वर्गीय महिमा प्राप्त गर्न सकिने भएकोले यसलाई लाभदायक कष्ट भनिन्छ । असल कार्य गर्दै कष्ट भोग्ने मानिसको नाउँचाहिँ चम्किलो गरी चम्कनेछ । अनि हराएकालाई खोज्न सामरियादेखि पृथ्वीको अन्तिम छेउसम्म जानेहरू चाहिँ स्वर्गीय राज्य पुनर्स्थापन गर्ने आत्मिक स्वतन्त्रता अभियन्ता हुन् । मर्नुबाहेक अर्को विकल्प नभएकहरूलाई बचाउने पाउहरू कति सुन्दर हुन्छन् होला ? नरकको सजाय भोग्न निश्चित भएका आत्माहरूलाई स्वर्गतर्फ डोऱ्याउनेहरूलाई परमेश्वरले झन् कति धेरै प्रेम गर्नुहुन्छ होला ! त्यसैले परमेश्वरले त्यस्ता मानिसहरूलाई राजकीय पूजाहारी बनाउनेछु भन्नुभयो ।

दिनहुँ नयाँ कुरा सृष्टि हुने स्वर्गीय राज्यमा अनन्तकाल जिए तापनि थकाई लाग्नेछैन । परमेश्वरसँग एउटै टेबिलमा खाने र पिउने, अनि आकाशगङ्गाभरि लगातार भोज हुने स्वर्गीय राज्यमा जसरी पनि जाऔं । परमेश्वरको वचनलाई विश्वास गरेर व्यवहारमा लागू गरी नयाँ गरी जन्मिने होऔं । अनि हराएका स्वर्गीय परिवार सबै खोजेर, उनीहरूलाई पनि नयाँ गरी जन्मन सक्ने गराई सबै जना सँगै स्वर्गीय राज्य प्रवेश गरौं ।