जसरी समुद्रमा ठूलो जहाजलाई सानो पतवारले चलाउँछ, त्यसरी नै जिब्रो पनि एउटा सानो अङ्ग भएर यसले ठूलो भूमिका निर्वाह गर्दछ (याक ३:२-६) । यसले कसैलाई बचाउन पनि सक्छ, मार्न पनि सक्छ । यसलाई गलत तरिकाले प्रयोग गरियो भने विनाश निम्तिन्छ, तर बुद्धिमानीपूर्वक प्रयोग गरियो भने फलिफाप ल्याउँछ । जिब्रो यतिसम्म शक्तिशाली हुन्छ । असल कामको निम्ति प्रयोग गरिँदा यो सर्वोत्तम चीज हो भने गलत कामको निम्ति प्रयोग गरिँदा यो दशा हो । कडा जिब्रो भएको मानिसले कलह निम्त्याउँछ । जसरी सबैले नरम भोजनलाई रुचाउँछन्, त्यसरी नै बोली पनि नरम नै रुचाइन्छ ।
हामीले परमेश्वरको अनुग्रहात्मक वचनद्वारा अनन्त जीवन पाएका छौं । हामीले जिब्रोलाई भलाइको निम्ति, र जिब्रो दिनुभएका परमेश्वरको निम्ति प्रयोग गर्नुपर्छ । उत्पत्तिको पुस्तकमा हेर्ने हो भने सर्पले उत्पत्तिदेखि नै जिब्रोलाई झूट बोल्ने काममा प्रयोग गऱ्यो (उत २:१६-१७; ३:१-६) । साथै छली जिब्रोमा बहकिनु पनि पाप हो । हामीले परमेश्वरको वचनमा केन्द्रित रहेर विश्वासको जीवन जिउनुपर्छ । यद्यपि परीक्षा आइपर्दाचाहिँ परमेश्वरको वचनभन्दा पनि तर्कसङ्गत बोली नै अझ आकर्षक लाग्न सक्छ । यदि कोही गुलियो प्रलोभनमा पऱ्यो भने उसले परमेश्वरको वचनलाई बिर्सन्छ, र उसलाई खराब कुराहरू राम्रो लाग्न थाल्छ । त्यसैले हामीहरू होशियार रहनुपर्छ ।
यदि कसैले गनगनाउन थाल्छ भने उसले दियाबलसको निमन्त्रणा पाइसक्यो भन्ने कुरा हो । गनगन र गुनासोतिर कान थापियो भने परमेश्वरप्रतिको धन्यवादी मन हराउँछ (१ कोर १०:९-१२) । गुनासो मिसिएको एक शब्दले नजिकको सन्त हुँदै सबै सन्तहरूमा असन्तुष्टि फैलाउँछ । परमेश्वरको वचन नसुनी खालि गनगन मात्र गर्ने जिब्रोलाई हामीले कदापि पछ्याउनुहुँदैन ।
परमेश्वरका छोरा-छोरीले अरूमाझ कलह अथवा परीक्षा निम्त्याउने कुवाक्य बोल्नुहुँदैन, तर अरूलाई अनुग्रह मिल्ने बोली बोल्नुपर्छ (एफि ४:२९) । हामीलाई उद्धार गर्नुभएका परमेश्वरसमक्ष जब हामी धन्यवादको बोली बोल्छौं, तब हाम्रा दाजुभाइ-दिदीबहिनीहरू राम्रा देखिनुहुन्छ र हाम्रो सत्यता पनि राम्रो देखिन्छ । “हाम्रा दाजुभाइ-दिदीबहिनीहरूचाहिँ निःस्वार्थ मनद्वारा एक आत्मा बचाउन तनमनले प्रयत्न गर्ने साँचो स्वर्गदूत हुनुहुन्छ ।” “हामीहरू पीर, चिन्ता नहुने स्वर्गीय राज्यमा जाँदैछौं । यो साँच्चै कति खुशीको कुरा हो !” हामीले सधैँ यस्तो बोली बोल्यौं भने ‘म साँच्चै खुशी छु’ भन्ने मन आउँछ । वास्तवमा यो नै नरम जिब्रो हो ।
कठोर बोलीभन्दा सधैँ अरूलाई खुशी दिलाउने बोली, नम्र र अनुग्रहात्मक बोली बोल्ने गरौं (हितो १५:१-२) । परिवारमा पति-पत्नीबीच अथवा छोरा-छोरीबीचको झगडा पनि बोलीबाटै सुरु हुन्छ । सामाजिक जीवनमा र मण्डलीको जीवनमा पनि अर्को व्यक्तिको रीसलाई शान्त गराउन नम्र र अनुग्रहात्मक बोली बोल्नु नै प्रेम हो । जहाँ मीठा र सुन्दर बोली बोलिन्छ, त्यहाँ हाँसोको फूल फुल्छ । आपसमा मीठो र सुन्दर बोली बोल्नाले साँच्चै नै खुशीको बहार ल्याउँछ नि, होइन र ?
अब हाम्रो जिब्रोले परमेश्वरलाई खोज्ने, उहाँमा आशा राख्ने र उहाँसमक्ष पश्चात्तापको प्रार्थना गर्ने बनाऔं (रोम १४:११) । कर उठाउनेले पश्चात्तापको प्रार्थना गऱ्यो तर फरिसीले चाहिँ आफूमा गर्व गऱ्यो (लूक १८:१०-१४) । एउटा जिब्रोले परमेश्वरलाई प्रसन्न तुल्याउने बोली बोल्यो भने अर्को जिब्रोले चाहिँ मुक्तिबाट वञ्चित गराउने बोली बोल्यो । त्यस कर उठाउनेले “म पापी हुँ” भन्ने बोली बोल्दा परमेश्वरले उसको नम्र निवेदनलाई स्वीकार्नुभयो । परमेश्वरलाई धन्यवाद चढाउँदा, उहाँसमक्ष सहयोगको निम्ति बिन्ती गर्दा, पश्चात्ताप गर्दा र प्रार्थना गर्दा जिब्रो सबैभन्दा सुन्दर रूपमा प्रयोग भएको हुन्छ ।
आँखाले नदेखेको, कानले नसुनेको र मानिसले मनमा नसोचेको सुन्दर स्वर्गीय राज्यको उत्तराधिकारचाहिँ परमेश्वरलाई प्रेम गर्ने र उहाँको वचन पालन गर्नेहरूलाई दिइने प्रतिज्ञा गरिएको छ (यूह १४:२३-२४; १ कोर २ :९) । हामीले चाहिँ मुक्ति पाएका हुनाले हाम्रो जिब्रो सधैँ प्रफुल्लित हुनुपर्छ । परमेश्वरले हामीलाई मुक्ति दिनुभएर स्वर्ग सक्ने गराउनुभएको छ । यसकारण निरन्तर प्रार्थना गरौं, र पिता आन साङ होङज्यूको महिमा गर्दै प्रशस्त फलको आशिष् बटुलौं ।