इनाम पाउनु साँच्चै खुशीको कुरा हो । परिश्रम गर्नेहरूले नै इनाम पाउँछन् । यो संसारमा धेरै थरीका इनामहरू छन् । त्यसोभए अनन्त र असीमित स्वर्गीय राज्यमा झन् कति धेरै इनामहरू छन् होला ?
बाइबलमा इनामसम्बन्धी वचनहरू धेरै छन् । जो परमेश्वरको नजिक आउँछ, उसले परमेश्वर हुनुहुन्छ र उहाँलाई लगनशीलताका साथ खोज्नेहरूलाई उहाँले प्रतिफल(इनाम) दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ भनेर बाइबलमा लेखिएको छ । विश्वासका पुर्खाहरू सबै जना स्वर्गीय इनामको निम्ति दौडे । नोआले परमेश्वरको वचनलाई पूर्ण विश्वास गरेर जहाज बनाए । तिनले विश्वासद्वारा परमेश्वरको वचन पालन गरेका हुनाले, परमेश्वरले जलप्रलयद्वारा संसारको इन्साफ गर्नुहुँदा तिनी र तिनको परिवार बचाइए । मोशाचाहिँ फारोकी छोरीका छोराको उच्च महिमा उपभोग गर्न सक्ने स्थानमा थिए, यद्यपि तिनले मिश्रको राजमहलमा पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका प्रजासँग थिचोमिचोमा पर्न रोजे । किनभने तिनीहरू सबैले अनन्तसम्म रहने स्वर्गीय इनामतर्फ आफ्नो दृष्टि लगाएका थिए (हिब्रू ११:६-२६) ।
स्वर्ग गयौं भने हामी सबैले इनाम पाउनेछौं । परमेश्वरले हाम्रो निम्ति इनाम तयार पार्नुभएर, प्रत्येकलाई उसले गरेअनुसार इनाम दिनुहुनेछ भनिएको छ (प्रका २२:१२) । परमेश्वरले हामीलाई नोआको जस्तो आज्ञाकारिताको इनाम दिनुहुनेछ, र मोशाको जस्तो धैर्यताको इनाम पनि दिनुहुनेछ । साथै अब्राहामको जस्तो विश्वासको इनाम, याकूबले जस्तै आशिष्को मूल्य जानेको इनाम, दाऊदको जस्तो साहसको इनाम र सोलोमनको जस्तो बुद्धिको इनाम दिनुहुनेछ । यसै गरी गिदोनको जस्तो योद्धाको इनाम, दानिएलका ३ जना साथीहरूको जस्तो विश्वासको इनाम, यहोशूको जस्तो साहसको इनाम, पत्रुसको जस्तो ईमानदारिताको इनाम, प्रेरित पावलको जस्तो जोशको इनाम, फलको इनाम, नम्रताको इनाम, भक्तिको इनाम, त्यागको इनाम, विचारशीलताको इनाम, आज्ञा पालनको इनाम, सरसफाइको इनाम, सेवाको इनाम, प्रेमको इनाम … जस्ता थुप्रै इनामहरू परमेश्वरले दिनुहुनेछ । प्रचारकलाई एक गिलास चिसो पानीले मात्र सत्कार गऱ्यो भने पनि उसले आफ्नो इनाम कदापि गुमाउनेछैन भनिएको छ । त्यसोभए परमेश्वरसँगै सुसमाचारमा सहकार्य गरेका सियोनका प्रजालाई परमेश्वरले झन् कति ठूलो इनाम दिनुहुनेछ होला ?
हराएकालाई खोज्न पिता यो पृथ्वीसम्म आउनुभयो, र उहाँले जस्तोसुकै परिस्थितिमा पनि सुसमाचार प्रचार गर्नुभयो । परमेश्वर ज्योति हुनुभएकोले ज्योतिका सन्तान भएका हामीहरूले परमेश्वरको प्रेम र सत्यताको ज्योति धेरै मानिसहरूमाझ चम्काउनुपर्छ । चाहे मानिसहरूले सुनून्, चाहे नसुनून्, यदि हामीले इनाम दिनुहुने परमेश्वरप्रतिको दृढ विश्वासद्वारा समय र बेसमयमा वचन प्रचार गऱ्यौं भने परमेश्वरले हामीलाई इनाम दिनुहुनेछ (२ तिमो ४:१-८) । हामीले नयाँ करारको सुसमाचार प्रचार गऱ्यौं भने नरकको भागीदार भएका आत्माहरूले अनन्त जीवन पाएर स्वर्ग जान सक्नेछन्, र राजकीय पुजाहारी भई स्वर्गको उत्तराधिकार पनि प्राप्त गर्नेछन् । हामीले गर्ने सबै कार्यहरू हामीलाई स्वर्ग लैजाने र इनाम दिलाउने कार्यहरू हुन् ।
हामीलाई यस्तो मूल्यवान् कार्य गर्न दिनुभएकोमा, र स्वर्ग जान सक्ने गराउनुभएकोमा हामीले परमेश्वरलाई धन्यवाद चढाउन कहिल्यै बिर्सनुहुँदैन । एसावले जन्मसिद्ध ज्येष्ठाधिकार पाएर पनि त्यसको मूल्यलाई नबुझेर बेवास्ता गरेका हुनाले अन्ततः त्यसको मूल्य बुझेका याकूबले त्यो आशिष् तिनीबाट खोसे । शाऊलले पनि परमेश्वरको वचनलाई बेवास्ता गरेका हुनाले अन्ततः परमेश्वरको वचनलाई अमूल्य ठानेर पालन गर्ने दाऊदले तिनको राजसिंहासन ओगटे । स्वर्गका जेठो सन्तान भएका हामीले यस्तो महान् आशिष्लाई कदापि बेवास्ता गर्नुहुँदैन, तर पिताले चाहनुभएको दिशातिर दौडिनुपर्छ, र उहाँको व्यवस्था पालन गर्नुपर्छ । तब हामीले स्वर्गको मुकुट पाउनेछौं (१ कोर ९:२४-२७; २ तिमो २:३-६) । कष्ट र कठिनाइका समयहरू आउन सक्छन्, यद्यपि हामीले भविष्यमा पाउने महिमासँग यी वर्तमान कष्टहरू तुलना गर्न पनि योग्यको छैन । धार्मिकताको निम्ति सताइनेहरूले स्वर्गमा ठूलो इनाम पाउनेछन् (रोम ८:१८; मत्ती ५:१०-१२) । प्रेरित पावल पनि बोलावटको इनामको निम्ति स्वर्गतर्फ अन्त्यसम्मै दौडे (फिलि ३:१२-१४) । “तिमीसँग जे छ, त्यसलाई पक्रिराख” र “जसले मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु” भन्ने परमेश्वरको वचनलाई विश्वास गर्दै अन्त्यसम्मै सुसमाचारको मिसन पूरा गरौं (प्रका ३:११; २:२६) ।
परमेश्वरले हामीलाई नयाँ करारद्वारा उहाँसित एउटै शरीर बनाउनुभई अनन्त स्वर्गीय राज्यतिर डोऱ्याउँदैहुनुहुन्छ । उहाँले हामीलाई “तिमीहरू मसँगै विशाल ब्रह्माण्डमा र आकाशगङ्गामा भएका प्रत्येक ताराहरूको भ्रमण गर्नेछौ” भन्नुभएको छ । अनन्त महिमा उपभोग गरिने स्वतन्त्रताको राज्य, युद्ध नहुने तर प्रेमले भरिएको राज्य, दिनहुँ नयाँ कुरा सृष्टि हुने, र खुशी पोखिने राज्य ! यदि हामी यस्तो सुन्दर राज्यमा जान चाहन्छौं भने हामीले दाग र खोटरहित हुनलाई सक्दो प्रयत्न गर्नुपर्छ (२ पत्र ३:६-१४) । ‘ठूलो इनाम पाउनलाई मैले के गर्नुपर्छ ?’ भनेर आजैदेखि विचार गर्दै, ठूलो इनाम पाउनका निम्ति सक्दो प्रयत्न गरौं । हराएका स्वर्गीय परिवारहरू सबै खोजेर, प्रेमद्वारा उनीहरूको हेरचाह र सेवा गर्दै उनीहरूलाई स्वर्गतिर डोऱ्याई, परमेश्वरले तयार पार्नुभएका प्रशस्त इनामहरू पाउने हामी सबै जना हुन सकौं ।