स्वर्गीय पिता-मातालाई भेटेकोले म सबैभन्दा खुशी छु

6647भ्यु
विषयसूची

हुआन्कायोमा बाल-चिकित्सा विभागमा कार्यरत छँदा मैले सत्यता ग्रहण गरें । एक दिन, मसँग मिल्ने एक जना सहकर्मीले ब्रेक टाइममा सानो किताब पढिरहनुभएको देखें । कुन पुस्तक पढ्दैहुनुहुन्छ भनेर सोध्दा उहाँले सृष्टिअघिदेखि अस्तित्वमा रहनुभएकी माता परमेश्वरको बारेमा मलाई बताउनुभयो । उहाँले भन्नुभयो, “परमेश्वरले हव्वालाई सृष्टि गर्नुहुँदा, सोचविचार नगरी यत्तिकै बनाउनुभएन, तर नारीको स्वरूपमा अर्थात् माता परमेश्वरको स्वरूपमा बनाउनुभयो ।” ती साथीको व्याख्यान स्पष्ट थियो, र मलाई पनि माता परमेश्वर अस्तित्वमा हुनुपर्छ भन्ने लाग्यो । यो कुरा मेरो हृदयको गहिराइसम्म गुञ्जिरह्यो : ‘माता परमेश्वर अस्तित्वमा हुनुपर्छ, यो सही हो ।’ शारीरिक आमाले आफ्नो सन्तानलाई दिने अथाह प्रेमचाहिँ निश्चित रूपमा माता परमेश्वरको प्रेमबाट आएको हो भनेर मैले सोच्न पुगें । मेरो मनमा, परमेश्वर सम्बन्धी विभिन्न प्रश्नहरू उब्जिएकाले मलाई सत्यताबारे जान्न जिज्ञासा जाग्यो ।

त्यसपछि बिदाको समयमा, दोस्रो आगमनका ख्रीष्ट र माता परमेश्वरको विषयमा अध्ययन गर्नका लागि म परमेश्वरको मण्डलीमा गएँ । अपरिचित ठाउँ भएकोले मलाई अलि अप्ठ्यारो लाग्यो, तर सबै सन्तहरूले पहिलैदेखि चिनेजस्तै गरेर न्यानो मुस्कान र अँगालोद्वारा मलाई स्वागत गर्नुभयो । यसरी मैले बाइबलको वचन सिक्दैगएँ, र जति धेरै अध्ययन गऱ्यो, बाइबलको वचन झन्-झन् स्वादिलो र रहस्यमय लाग्दैगयो । दोस्रो आगमनका ख्रीष्ट आउनुहुने समय, ठाउँ र स्वरूपबारे गरिएका अगमवाणीहरू जस्ताको तस्तै पूरा भएको देखेर म छक्क परें । केवल परमेश्वरले मात्र सिकाउन सक्नुहुने सत्यताको वचनद्वारा दोस्रो आगमनका ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा थाहा पाउँदा म खुशी पनि भएँ, र भावुक पनि । यो पृथ्वीमा शरीरमा आउनुभएका साँचो परमेश्वरलाई चिन्ने ज्ञानज थोरैलाई मात्र दिइएको, र आफू पनि त्यो थोरैमा पर्न पाएकोमा म एकदमै खुशी थिएँ । त्यसै गरी, परमेश्वर शरीरमा दोस्रो पल्ट आइसक्नुभएर कष्टकर बलिदानको बाटो हिँड्नुभयो भन्ने यथार्थता सुनेर म भावुक भएँ । स्वर्गमा पाप गरेका पापीहरूको निम्ति परमेश्वरले बलिदानद्वारा स्थापना गर्नुभएको निस्तार-चाडको सत्यताले मलाई ज्यादै प्रभावित गरायो । केवल परमेश्वरले मात्र हाम्रा सबै पापहरू क्षमा गर्न सक्नुहुने भएकोले मैले त्यही दिन बप्तिस्मा लिने निर्णय गरें ।

मैले बप्तिस्मा लिएको दिनमा, आराधनापछि कोरियाली सन्तहरूले सियोनको सुगन्ध सुनाउनुभयो । माताको न्यानो स्पर्श, चम्किलो ज्योति, न्यानो भातृप्रेम र प्रत्येक सन्तहरूका भावनाहरू समाविष्ट सियोनको सुगन्ध सुनेर मैले आफूलाई धन्यको महसुस गरें । सानैदेखि मचाहिँ बुबा-आमा र मेरा दाजुभाइ-दिदीबहिनीबाट अलगिएको थिएँ, र मेरा हजुरबुबा-हजुरआमाले मलाई हुर्काउनुभएको थियो । सानोमा मलाई आफूसँगै राखेर स्याहार्न नसक्नुभएकी मेरी आमाले प्रायः यसो भन्ने गर्नुहुन्छ, “तिमीलाई आफूसँग राख्न नसकेको कुराले अझै पनि मेरो मन पोल्छ ।” सायद त्यसैले होला, आफ्नो सर्वस्व रहेका छोरा-छोरीहरूलाई सँगै स्वर्ग फर्काएर लैजान माताले बलिदानको बाटो हिँड्नुभयो भन्ने कुरा थाहा पाउँदा मेरो मन पनि भत्भती पोल्यो । हामी प्रत्येक सन्तानलाई आजको दिनसम्म पर्खनुहुने स्वर्गीय माताको महान् प्रेमप्रति म ज्यादै प्रभावित भएँ ।

तर जब मेरो वरपरका मानिसहरूले म परमेश्वरको मण्डलीमा जान थालेको कुरा थाहा पाए, तब तिनीहरूले मेरो धर्मप्रति गलत अवधारणा लिए, र अनेक किसिमका अफवाह र लाञ्छना लगाएर मेरो मन दुखाए । तिनीहरूको त्यस्तो प्रतिक्रियाको बाबजुद, हजारौँ वर्षअघि लेखिएका बाइबलका अगमवाणीहरू सबै पूरा भएको मैले महसुस गरें । यस्तो सत्यतालाई मैले कसरी इन्कार गर्न मिल्छ र ? ती कठिनाइहरूमा पनि परमेश्वरको वचनले मेरो विश्वासलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

मैले क्याथोलिक मण्डलीमा बप्तिस्मा लिएर लामो समयसम्म परमेश्वरलाई विश्वास गरेकी थिएँ । यहाँसम्म, कि पछि गएर धर्मगुरु बन्ने मेरो सोच थियो । मैले, परमेश्वरको दोस्रो आगमन नै युगको अन्त्य र इन्साफको समय हुनेछ भन्ठान्दै येशूज्यूको दोस्रो आगमनलाई पर्खिरहेकी थिएँ । यद्यपि आफ्नै मण्डलीभित्र थरी-थरीका मूर्तिहरू ठड्याइएको देख्दा मलाई धेरै अप्ठ्यारो र नैराश्यता महसुस हुन्थ्यो । म अन्य थुप्रै ख्रीष्टियान मण्डलीका सम्प्रदायहरूमा पनि गइहेरें, तर कुनै मण्डली पनि चित्तबुझ्दो लागेन । यद्यपि मलाई परमेश्वरको मण्डलीचाहिँ ती सबैभन्दा भिन्न लाग्छ, किनभने योचाहिँ सबै कुरा बाइबलको आधारमा गर्ने सत्य मण्डली हो । बाइबलमा अगमवाणी गरिएको वैधानिक मण्डली भेट्टाएकीले मेरो हृदय उत्साह र उमङ्गले गद्गद् भएको छ ।

प्रायः मानिसहरू परमेश्वरचाहिँ एक जना मात्र अर्थात् पिता परमेश्वर मात्र हुनुहुन्छ भनी विश्वास गर्छन् । तर परमेश्वरले हामीलाई सृष्टिका थोकहरूको सिद्धान्तद्वारा स्वर्गको रहस्यलाई प्रष्टसँग देखाइदिनुभएको छ । जीवनलाई विचार गर्ने हो भने, सबै जीवित प्राणीका बुबा र आमा हुन्छन् । यी सबैचाहिँ स्वर्गका कुराहरूको नकल र छाया भएकोले पिता परमेश्वर सँगसँगै माता परमेश्वर पनि निश्चय नै अस्तित्वमा हुनुपर्छ नि, होइन र ? धेरै मानिसहरूले पिता परमेश्वरलाई मुक्तिदाताको रूपमा स्वीकार गरेजस्तै, मचाहिँ बाइबलले गवाही दिएको अनन्त जीवनको जीवनदाता माता परमेश्वरलाई विश्वास गर्छु । यी सबै कुराहरू बाइबलद्वारा निश्चित गर्न सकिन्छ ।

तपाईंको लागि सबैभन्दा उत्कृष्ट ठाउँ नै परमेश्वरको मण्डली हो । यदि तपाईंले निरन्तर सत्यता अध्ययन गर्दैजानुभयो भने यस युगका मुक्तिदाता को हुनुहुन्छ भन्ने कुरा तपाईंले सजिलै जान्नुहुनेछ । साथै हामी सबैले जिउनुपर्ने आत्मिक जीवनको बारेमा पनि तपाईंले जान्नुहुनेछ । स्वर्ग पुऱ्याउने बाटो सजिलो र फराकिलो हुँदैन तर सानो र साँघुरो हुन्छ भनेर बाइबलमा लेखिएको छ । यसकारण तपाईं निरुत्साहित नभईकन यो बाटोलाई अन्तिमसम्म पछ्याउने प्रयत्न गर्नुहोस् । यदि तपाईंमा त्यस्तो कुनै जिज्ञासा छ भने अप्ठ्यारो नमानीकन आएर सोध्नुहोस् । तपाईंका सबै प्रश्नको उत्तर बाइबलमा छ ।