नम्र होओ,
उचित समयमा म तिमीहरूलाई उच्च पार्नेछु

5709भ्यु
विषयसूची

मानिस जो कोही पनि उच्च हुन चाहन्छ । एकले अर्कालाई उच्च पार्न नसक्दा आपसमा चित्त दुखाइ र बेमेल हुने अवस्थाहरू धेरै हुन्छन् ।

हामी सन्तानहरूले संसारको ज्योति भएर परमेश्वरबाट प्रशस्त प्रेम पाउन सकून् भनेर परमेश्वरले हामीलाई नम्रता सम्बन्धी शिक्षा दिनुभएको छ । उहाँ स्वर्गका राजा र सर्वोच्च परमेश्वर हुनुभएकोले उहाँ होचिएर नम्र हुनुपर्ने कारण नै छैन । तापनि परमेश्वर एक आम मानिसको रूपमा यो पृथ्वीमा आउनुभएर कोमलता र नम्रताको उदाहरण देखाउनुभयो । “मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु” भन्नुहुँदै (मत्ती ११:२८-२९), उहाँ हामीलाई यो पृथ्वीमा नम्र हुन सिकाउनुहुन्छ, र उचित समयमा उहाँले हामीलाई उच्च पार्ने प्रतिज्ञा गर्नुभएको छ (१ पत्र ५:६) ।

के सन्तानहरू होचिँदा परमेश्वरलाई खुशी लाग्ने भएकोले उहाँले हामीलाई नम्र हुन भन्नुभएको हो र ? नम्रता भनेको हामीलाई स्वर्गमा उच्च पार्ने प्रक्रिया हो । नम्र भएमा आदर र प्रेम पाउन सकिन्छ । नम्रतापूर्वक परमेश्वरको भय मानेमा महिमा, धन र जीवन पाउन सकिन्छ (हितो १५:३३; २२:४) ।

नम्र हुन नसक्दा हरेक किसिमका विवाद र दुष्ट कार्यहरू उत्पन्न हुन्छन् । घमण्डी मानिसले अरूको कुरा सुन्दैन । उसले आफ्नै मात्र हित खोज्दै, आफूलाई धर्मी ठान्छ । यस्तो स्वभावलाई फालेर नयाँ गरी नजन्मिएसम्म स्वर्ग जान सकिँदैन । यस्ता हामीलाई सुन्दर स्वरूपमा परिवर्तन गराउन परमेश्वरले आफ्नो पवित्र देह र रगत हामीलाई दिनुभयो (यूह ३:३) । परमेश्वरसँग एउटै शरीर भएका हामीहरूको मन पनि एउटै हुनुपर्छ, र नम्रतापूर्वक हामीले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्छ । हामीले आफ्नै मात्र हित खोज्नुहुँदैन तर अरूको हितलाई पनि हेर्नुपर्छ (फिलि २:२-९) ।

परमेश्वरले नम्रहरूलाई बचाउनुहुन्छ र नम्रहरूको इच्छा सुन्नुहुन्छ (अयू २२:२९; भज १०:१७) । प्रेमको फल फलाउनलाई हामीहरू नम्र हुनुपर्छ । नम्रताविना प्रेम हुन सक्दैन । सबै मानिसहरू पापले गर्दा मृत्युको भागीदार भएका छन् । तर परमेश्वरले हाम्रो पापको निम्ति सट्टामा निस्तारको थुमाको रूपमा रगत बगाउनुभएकोले हामीले अनन्त जीवन पाउन सकेका छौं । यसकारण सबै मानिसहरूलाई निस्तार-चाड मान्न प्रोत्साहन गर्दै अनन्त जीवन दिलाउनु नै सबैभन्दा महान् प्रेम हो । परमेश्वरले हामीलाई यो प्रेम सबैसित बाँड्न भन्नुभएको छ । नम्र भएमा मात्र यो प्रेम बाँड्न सकिन्छ ।

प्रेरित पावल विभिन्न पक्षमा सबैभन्दा सक्षम मानिस थिए । तिनको शैक्षिक योग्यता, धन, अधिकार, सम्मान र रोमी नागरिकता देखेर त्यो समयका मानिसहरूले तिनको लालसा गर्थे । यद्यपि परमेश्वरबाट बोलावट पाएर सुसमाचार प्रचार गर्न थालेदेखि तिनले घमण्डलाई त्यागेर नम्रता र आँसुमा प्रचार गरे (प्रे २०:१७-२०) । ठन्डी, नग्नता, भोक र पिटाइ सहनुपरे तापनि स्वर्गको मूल्यलाई बुझेका हुनाले तिनले त्यो कष्टलाई कष्टको रूपमा लिएनन्, तर केवल मण्डली र सन्तहरूको मात्र फिक्री गरे ।

परमेश्वरले यो पृथ्वीमा आउनुभएर सुसमाचार प्रचार गर्नुहुँदा सतावट भोग्नुभएजस्तै, परमेश्वरका उत्तराधिकारी भएका हामीले पनि यो पृथ्वीमा दुःख भोग्नुपर्छ (रोम ८:१६-१८) । इनाम पाउनेहरूले, अरूले भन्दा कडा परिश्रम गर्छन् । सुसमाचारको कार्यमा पावलले जस्तै परिश्रम गर्नेहरूले स्वर्गमा ठूलो इनाम पाउनेछन् ।

बाइबलमा देखा परेका पात्रहरूले नम्रताद्वारा विजय हासिल गरे, र घमण्डका कारण ठूलो नोक्सान बेहोरे । परमेश्वरबाट बोलावट पाएका शाऊल जब इस्राएलका राजा बने, तब तिनले नम्रतालाई भुलेर परमेश्वरको वचनमा अनाज्ञाकारी हुने पाप गरे । तिनलाई राजा तुल्याएकोमा परमेश्वरले पछुतो गर्नुभयो र तिनलाई छोडिदिनुभयो (१ शमू १५:१०-१९) । परिणामस्वरूप एउटा हानिकारक आत्माले शाऊललाई पक्र्यो, र उनको राजपद नम्र दाऊदलाई दिइयो ।

बाइबलमा यस्ता घटनाहरू लेखिनुको कारणचाहिँ “सन्तहरूमाथि अधिकार नगर, तर नम्रतापूर्वक उनीहरूको सेवा गर । उनीहरूको सेवा गऱ्यौ भने तिमीहरू स्वर्गमा उच्च पारिनेछौ” भन्ने परमेश्वरको प्रतिज्ञा हामीलाई थाहा दिनको निम्ति हो । जब हामी परमेश्वरको महिमित स्वरूपमा परिवर्तन हुन्छौं, तब परमेश्वरले हामीलाई उच्च पार्नुहुनेछ र ‘राजकीय पूजाहारी’ बनाउनुहुनेछ (फिलि ३:२०-२१; १ पत्र २:९) । प्रेम सेलाएको यस संसारमा नम्रतापूर्वक धेरै मानिसहरूको सेवा गरी प्रेमको वचन सुनाऔं । यसो गरेर, सारा संसारका मानिसहरूबाट समेत परमेश्वरका छोरा-छोरी भन्ने प्रशंसा पाउँदै, आन साङ होङ परमेश्वरको महिमा चम्काउने सियोनका प्रजा हामी सबै जना हुन सकौं ।