अगमवाणीको वचनअनुसार

3040भ्यु
विषयसूची

बाइबल अगमवाणीका वचनहरूको संग्रह हो । परमेश्वरले भविष्यमा हुन आउने कुराहरूलाई संसारको सृष्टिअघिदेखि नै पूर्वनिर्धारण गर्नुभएर, बाइबलमा अगमवाणी गर्नुभएबमोजिम मुक्तिको कार्यलाई डोऱ्याउँदै हुनुहुन्छ । मानव जीवन पनि अगमवाणीअनुसारै पूरा हुन्छ । यसकारण अगमवाणीलाई विश्वास नगर्नेहरू कदापि मुक्ति पाउन सक्दैनन् ।

परमेश्वर हाम्रा ज्योति हुनुहुन्छ । ज्योतिका सन्तानहरूले सारा संसारमा गएर निस्तार-चाड जीवनको ज्योति चम्काएकाले आन साङ होङ परमेश्वरको मुक्तिको ज्योति देखेर सारा संसारका मानिसहरू ओइरिएर आइरहेका छन् । “जाति-जातिहरू ओइरिएर आउनेछन्” र “थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ” भन्ने अगमवाणीको वचन पूरा भइरहेको छ (यशै ६०:१-२२) । हुन त संसारभरि थुप्रै मण्डलीहरू त छन्, तर बाइबलका अगमवाणीहरू पूरा भइरहेको मण्डलीचाहिँ पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिने, अनि मुक्तिदाता हुनुभएका पवित्र आत्मा परमेश्वरको नाउँ पुकार्ने हाम्रो ‘परमेश्वरको मण्डली’ मात्र हो ।

हामीले अगमवाणीको वचनलाई विश्वास गर्नैपर्छ । परमेश्वरले “मेरो मुखबाट निस्केको वचन व्यर्थै फर्कनेछैन, तर पूरा हुनेछ” भन्नुभएको छ (यशै ५५:११) । बाइबलको वचन पढ्ने र सुन्ने मात्र होइनकि त्यसलाई पालन पनि गर्नेहरू धन्यका हुन् भनिएको छ (प्रका १:३) ।

बाइबलचाहिँ मुक्तिको मार्ग जानकारी दिने पुस्तक हो । के गरेमा विपत्ति आउँछ, र के गरेमा मुक्ति पाइन्छ भन्ने कुरा परमेश्वरले बाइबलमा बताइदिनुभएको छ । स्वर्गमा मृत्युजन्य पाप गरेर धपाइएका हामीप्रति दया गर्नुभएर परमेश्वर हामीजस्तै शरीर धारण गरी आउनुभयो । अनि जीवनको सत्यता रहेको निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडद्वारा स्वर्ग जाने चम्किलो बाटो देखाइदिनुभयो । हुन त परमेश्वर हाम्रो पापको निम्ति सट्टामा बलि हुनुभयो, यद्यपि स्वर्गमा प्रवेश त्यो दिनसम्म हामीले पश्चात्ताप गर्नुपर्छ, र परमेश्वरको वचन पालन गर्दै नयाँ करारको मार्गमा हिँड्नुपर्छ । हामीले सुन्दर प्रेमको मन लिनुपर्छ, र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर,” “आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान,” “अरूप्रति विचारशील होओ,” र “धैर्य गर” भन्ने बाइबलका शिक्षाहरूलाई पालन गर्नुपर्छ । तब मात्र हामीहरू स्वर्ग जान सक्नेछौं ।

हामीले परमेश्वरको वचनमा कान लगाउनुपर्छ, र हामीलाई मुक्तिको मार्ग थाहा हुनुपर्छ । जसरी मानिसहरूले मौसम पूर्वानुमान खबर हेरेर त्यसैअनुसार तयारी गर्छन्, त्यसरी नै हामीले पनि चेताउनीको वचनमा ध्यान दियौं भने हामीले ती विपत्तिको निम्ति पूर्वतयारी गर्न सक्नेछौं । बाइबलमा, विपत्ति आउनेबारे मात्र अगमवाणी गरिएको छैन तर ती विपत्तिबाट बच्ने तरिका समेत जानकारी दिइएको छ । साँचो अगमवक्ताहरूले चाहिँ आनाकानी नगरी मानिसहरूलाई परमेश्वरको वचन बेलैमा सुनाएर सचेत गराउँछन्, कठिन समयको निम्ति पूर्वतयार गराउँछन् र मुक्तिमा डोऱ्याउँछन् ।

परमेश्वरको नाउँमाथि विश्वास गर्ने र आदर गर्नेहरूमाथि आरोग्यताको सूर्य चम्कन्छ भनिएको छ । विपत्तिबाट बचाउने औषधी भनेकै परमेश्वरको छाप निस्तार-चाड हो (मला ४:१-३; प्रका ७:१-३; यूह ६:२७) । नयाँ करार निस्तार-चाड मानेमा परमेश्वर हामीभित्र रहनुहुने भएकोले यदि विपत्ति हाम्रो नजिक आयो भने पनि हामीमा भएको परमेश्वरको देह र रगत देखेर त्यो हामीबाट तर्केर जान्छ । यसरी, परमेश्वरको प्रतिज्ञामा रहनेहरूलाई नयाँ आकाश र नयाँ पृथ्वी अर्थात् अनन्त स्वर्गको राज्य दिइने अगमवाणी पनि निश्चय नै पूरा हुनेछ (२ पत्र ३:१०-१३) ।

हामीलाई अनन्त जीवन दिलाउने र स्वर्गमा प्रवेश गराउने अगमवाणीको वचनलाई विश्वास गरेर हामीहरू सत्यतामा आएका छौं । यसकारण हामीले मुक्तिको निम्ति तयारी गर्नुपर्छ, र विपत्तिमा परेर मर्न लागेका मानिसहरूलाई निस्तार-चाडको जीवनको भोजन बाँड्नुपर्छ (मत्ती २४:३७-४४; इज ३:१७-१९) । यस्तो जीवनको सत्यतालाई हामीले एउटा वचन मात्र भए पनि चाँडो सुनायौं भने उनीहरूले पनि त मुक्तिको निम्ति तयारी गर्न पाउनेछन् नि, होइन र ?

सियोनचाहिँ परमेश्वरले जीवनको भोजन अर्थात् निस्तार-चाडको रोटी र दाखमद्य दिनुहुने ठाउँ हो । यसकारण हामीले ढीला नगरी मानिसहरूलाई सियोनमा आमन्त्रण गर्नुपर्छ (यर ४:५-६) । धेरै मानिसहरूलाई धार्मिकतामा डोर्‍याउनेहरू स्वर्गमा ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन् भनेर बाइबलमा भनिएको छ (दान १२:१-३) । त्यो महिमालाई कसैले पनि खोस्न सक्दैन । तसर्थ धेरै आत्माहरूलाई अनन्त स्वर्गतिर डोऱ्याएर सदासर्वदा चम्कने साँचो अगमवक्ता हामी सबै जना हुन सकौं ।