प्रकाश अध्याय १९ र २२मा उल्लेखित ‘थुमाकी पत्नी(दुलही)’ले स्वर्गीय मातालाई जनाउँछ । कसै-कसैले चाहिँ मण्डली(सन्त)लाई ख्रीष्टकी पत्नीको रूपमा दृष्टान्त गरिएको वचनलाई मात्र उद्धृत गर्दै, प्रकाशको पुस्तकमा उल्लेखित दुलही(थुमाकी पत्नी)ले पनि मण्डली(सन्त)लाई नै जनाउँछ भनेर जिद्दी गर्ने गर्छन् ।
पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस । किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, … पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, … एफि ५:२२-२५
ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु । एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ ।२ कोर ११:२
निश्चय नै, माथिका वचनहरूमा उल्लेखित ख्रीष्टकी पत्नीले मण्डलीलाई जनाएको कुरा सही हो । तर प्रकाश अध्याय १९ र २२मा उल्लेखित थुमाकी पत्नीले पनि मण्डली(सन्त)लाई नै जनाउँछ भन्नुचाहिँ गलत हो । बाइबलमा ‘थुमाकी पत्नी’का दुई किसिमका अर्थहरू भएकोले हामीले यसबारे सावधानीपूर्वक अध्ययन गर्नुपर्छ ।
‘थुमा’को दुई किसिमको अर्थ
बाइबलमा एउटा शब्दको प्रायः दुई किसिमको अर्थ हुन्छ । ‘थुमा’ भन्ने शब्दलाई यसको प्रतिनिधि उदाहरणको रूपमा लिन सकिन्छ ।
जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ ?” तिनले उहाँलाई भने, “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु ।” उहाँले तिनलाई भन्नुभयो, “मेरा पाठा(थुमा)हरूलाई खुवाऊ ।” यूह २१:१५
यहाँ ‘थुमा’ले सन्तहरूलाई जनाउँछ । तर अर्को वचनमा चाहिँ ‘थुमा’ले सन्तहरूलाई जनाउँदैन ।
भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” यूह १:२९
यहाँ ‘थुमा’ले येशूज्यूलाई जनाउँछ । तर अघिको वचनमा थुमाले सन्तहरूलाई जनाएको हुनाले यहाँ भनिएको थुमाले पनि येशूज्यूलाई होइनकि सन्तहरूलाई नै जनाउँछ भनेर जिद्दी गर्न मिल्छ र ? मिल्दैन । अघिको वचनमा ‘थुमा’ले सन्तहरूलाई जनाएको भए तापनि यूहन्ना १:२९मा उल्लेखित ‘थुमा’ले चाहिँ ख्रीष्टलाई जनाउँछ । यसकारण ‘थुमा’ भन्ने शब्द एउटै भए तापनि सन्दर्भअनुसार त्यसको अर्थ फरक हुन सक्छ ।
‘थुमाकी पत्नी’को दुई किसिमको अर्थ
त्यसै गरी ‘थुमाकी पत्नी’ भन्ने अभिव्यक्तिले पनि बाइबलको सन्दर्भअनुसार फरक-फरक अर्थ लिएको हुन्छ । हो, एफिसी अध्याय ५, अनि २ कोरिन्थी अध्याय ११मा ‘ख्रीष्टकी पत्नी’ले मण्डली(सन्तहरू)लाई जनाउँछ । तर निम्न वचनमा चाहिँ यसले मण्डली(सन्तहरू)लाई जनाउँदैन ।
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । … अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” प्रका १९:७-९
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रका २२:१७
प्रकाश अध्याय १९ र २२मा हेर्ने हो भने थुमा र उहाँकी दुलही(पत्नी)ले विवाह भोज लगाउनुभएर निमन्त्रित व्यक्तिहरूलाई जीवनको पानीको आशिष् दिनुहुने दृश्य छ । यहाँ, ‘निमन्त्रणा पाउनेहरू’चाहिँ विवाह-भोजमा पाहुनाको रूपमा जीवनको पानी ग्रहण गर्ने सन्तहरू हुन् । थुमाकी पत्नीले चाहिँ, जीवनको पानी दिनुहुने मुक्तिदातालाई जनाउँछ । यसकारण थुमाकी पत्नी कदापि सन्त हुन सक्दैन । थुमाकी पत्नीले चाहिँ मुक्तिदाता हुनुभएकी स्वर्गीय मातालाई जनाउँछ भनेर बाइबलमा स्पष्टसँग लेखिएको छ (प्रका २१:९; गला ४:२६) ।
बाइबलमा एउटा शब्दको दुई वा दुईभन्दा धेरै अर्थ हुन सक्छ । यसकारण यदि हामीले सन्दर्भ नै नबुझीकन एउटा शब्दले एउटा मात्र अर्थ दिन्छ भनेर जिद्दी गऱ्यौं भने हामीले बाइबलको वचनलाई उल्टापाल्टा पारी अन्ततः परमेश्वरको इच्छालाई नै बङ्गयाउन पुग्छौं ।