पुरानो करार बाइबलमा परमेश्वरलाई हिब्रू भाषामा ‘एलोहिम’ भनेर उल्लेख गरिएको छ । विशेष गरी, उत्पत्तिको पुस्तकमा परमेश्वरले आफूलाई ‘हामी’ भनेर व्यक्त गर्नुभएको छ । परमेश्वरलाई ‘एलोहिम’ भनिने बहुवचन शब्दमा व्यक्त गरिएको, अनि उहाँले आफूलाई “हामी” भन्नुभएका बाइबलीय अभिलेखहरूचाहिँ धेरै बाइबलविद्हरूका लागि लामो समयदेखि जटिल पजल बन्दैआएको छ । उत्पत्ति अध्याय १मा उल्लेखित ‘हामी’ भन्ने शब्दका व्याख्यानहरू धेरै छन् । कसैले यसलाई त्रिएक भन्छन्, त कसैले यसलाई परमेश्वर र स्वर्गदूतबीचको वार्तालाप भन्दै जिद्दी गर्छन् । तर कसैले पनि यसबारे स्पष्ट उत्तर दिन भने सकेका छैनन् ।
उत्पत्तिको पुस्तकमा लेखिएको रहस्यमय शब्द, ‘हामी’
तर परमेश्वरले भन्नुभयो, “हामी मानिस (आदम) लाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” (उत्पत्ति १:२६) । … बाइबलको अर्थ लगाउने मानिसहरूका निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा पजल बन्दैआएको छ । Mysteries of Bible (बाइबलभित्रका रहस्यहरू, Reader’s Digest Association Inc, पेज नं. २१)
बाइबलमा एलोहिमको साँचो अर्थ के हो ? एलोहिम भनेको, मानव-जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएका पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वरले संसारको सृष्टिको सुरुआतदेखि नै सँगै कार्य गर्नुहुँदै मानव-जातिलाई मुक्तिमा डोऱ्याइरहनुभएको छ ।
‘एलोहिम’को अर्थ परमेश्वरहरू
एलोहिम (אֱלֹהִים) को अर्थ परमेश्वरहरू हो । अधिकांश मानिसहरूले विश्वास गरेजस्तै, यदि परमेश्वर एक जना मात्र हुनुहुन्छ भने बाइबलमा परमेश्वरलाई एकवचनमा मात्र अभिव्यक्त गरिएको हुनुपर्छ । तर अचम्मको कुराचाहिँ बाइबलको मूल ग्रन्थमा ‘परमेश्वर’ भन्ने शब्दलाई एलोहिम भन्ने बहुवचनमा व्यक्त गरिएको छ । हिब्रू भाषामा, ‘परमेश्वर, ईश्वर’लाई एकवचनमा अभिव्यक्त गर्दा ‘एल्’ अथवा ‘एलोहा’ भनिन्छ । तर परमेश्वरलाई अभिव्यक्त गर्नलाई ‘एलोहिम’ शब्द करीब २,५०० पटक प्रयोग गरिएको पाइन्छ ।
बाइबल पवित्र आत्माको प्रेरणा पाएका अगमवक्ताहरूद्वारा लिखित पुस्तक हो, जसले मुक्तिदाता परमेश्वरको विषयमा गवाही दिएको छ (२ पत्र १:२१; यूह ५:३९) । तर यस्तो बाइबलमा ‘परमेश्वर’ भन्ने शब्दलाई करीब २,५०० पटकसम्म बहुवचनमा अभिव्यक्त गरिनुको कारण के होला ? साथै बाइबलमा परमेश्वरले आफूलाई ‘हामी’ भन्ने बहुवचन सर्वनामले पनि सम्बोधन गर्नुभएको छ ।
तब परमेश्वर (एलोहिम) ले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।” … [सरल नेपाली बाइबल] उत १:२६
यदि मानव-जातिलाई सृष्टि गर्नुभएका सृष्टिकर्ता (एलोहिम) परमेश्वरचाहिँ ‘पिता’ मात्र हुनुभएको भए उहाँले “म मानिसलाई मेरै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुपर्थ्यो । तर परमेश्वर (एलोहिम) ले “हामी” भन्नुभयो । यो नै, परमेश्वरलाई जनाउने एलोहिम चाहिँ वास्तवमा बहुवचन शब्द हो भन्ने कुराको स्पष्ट प्रमाण हो ।
एलोहिमचाहिँ पिता परमेश्वर र माता परमेश्वर
यदि हामीले लगातार पिता परमेश्वर मात्र हुनुहुन्छ भनेर सोचिरह्यौं भने उत्पत्ति अध्याय १मा लेखिएको विषयवस्तु बुझ्न गाह्रो हुनेछ । तर यदि हामीले, पिता परमेश्वर मात्र हुनुहुन्छ भन्ने अडिग सोचाइलाई फालेर बाइबलमा लेखिएअनुसारै विश्वास गऱ्यौं भने यो बुझ्न केही गाह्रो छैन । निम्न वचनद्वारा यस पजलको उत्तर पत्ता लगाऔं ।

यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत १:२७
परमेश्वरले मानिसलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । यो नै परमेश्वर पनि नर र नारी स्वरूपमा हुनुहुन्छ भन्ने अर्थ हो । मानिसहरूले नर स्वरूपका परमेश्वरलाई मात्र चिनेका हुनाले तिनीहरूले लामो समयदेखि परमेश्वरलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । त्यसोभए नारी स्वरूपकी परमेश्वरलाई चाहिँ हामीले के भनेर पुकार्नुपर्छ होला ? निश्चय नै ‘माता’ भनेर पुकार्नुपर्छ । यसरी पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ । त्यसैले परमेश्वरले “हामी मानिसलाई हाम्रै स्वरूपमा बनाऔं” भन्नुभएको हो । तसर्थ यावत् थोक सृष्टि गर्नुभएका, र मानव-जातिलाई उद्धार गर्नुहुने परमेश्वरचाहिँ एलोहिम अर्थात् पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
‘हामी’ भन्नुभएका परमेश्वरको कार्य
पिता परमेश्वर र माता परमेश्वरले संसारको सृष्टिदेखि नै मुक्तिको कार्य सधैँ सँगै गर्दैआउनुभएको छ । आदिमा उहाँहरूले आकाश र पृथ्वी सँगै सृष्टि गर्नुभयो (उत १:१-२६), र त्यस बेलादेखि मुक्तिको कार्यलाई निरन्तरता दिनुभयो । नोआका वंशजहरूले बाबेलको धरहरा बनाएका दृश्य हेरौं ।
र भन्नुभयो, “अब यी मानिसहरू एउटै जाति हुन् र एउटै भाषा बोल्छन् । यो त तिनीहरूले के गर्ने हुन्, त्यसको सुरु मात्र हो, अब तिनीहरूले आफूले चाहेको सबै कुरा गर्न सक्नेछन्, हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून् ।” यसरी परमेश्वरले तिनीहरूलाई सारा पृथ्वीमा छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर बनाउन बन्द गरे । त्यो सहरको नाम बेबिलोन राखियो, किनभने त्यहाँ परमप्रभुले सबै मानिसहरूका भाषामा खलबल गरिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट पारिदिनुभयो । [सरल नेपाली बाइबल] उत ११:६-९
परमेश्वरले “हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं” भन्नुभयो । यहाँ ‘हामी’ भन्ने शब्दले परमेश्वरलाई जनाउँछ । किनकि पद ७मा “हामी तिनीहरूका भाषामा खलबली पारिदिऔं” भनिएको छ तर पद ९मा चाहिँ परमप्रभुले अर्थात् परमेश्वरले तिनीहरूका भाषामा खलबल गरिदिनुभयो भनिएको छ ।
अर्थात् पिता परमेश्वर र माता परमेश्वरले ‘बाबेलको धरहरा’ बनाउने कार्यलाई सँगै रोकिदिनुभयो भन्ने वचन हो । अगमवक्तालाई नियुक्त गरेर पठाउनुहुँदा पनि पिता परमेश्वर र माता परमेश्वरले सँगै कार्य गर्नुभयो ।
तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने ?” अनि मैले भनें, “म हाजिर छु । मलाई पठाउनुहोस् !” यशै ६:८
यहाँ ‘परमप्रभुको यो आवाज’ भन्नाले परमेश्वरको आवाज हो । तर परमेश्वरले “मेरो निम्ति को जाने ?” नभन्नुभएर “हाम्रा निम्ति को जाने ?” भन्नुभयो । निश्चय नै बाइबलीय अभिलेखहरूमा पिता परमेश्वरको नाउँलाई प्रतिनिधिको रूपमा लेखिएको त छ, तर पिता परमेश्वर र माता परमेश्वरले सृष्टिको सुरुदेखि नै सँगै कार्य गरिरहनुभएको दृश्य देख्न सकिन्छ ।
एलोहिम परमेश्वर ‘एउटै’ भनेर लेखिनुको कारण
कतिपय मानिसहरू बाइबलमा परमेश्वरलाई ‘एक जना’ भनेर अभिव्यक्त गरिएको हुनाले (१ तिमो २:५; ६:१५) उहाँहरू कदापि दुई जना हुन सक्नुहुन्न भन्दै जिद्दी गर्ने गर्छन् । तर बाइबलको वचनलाई राम्ररी अध्ययन गर्ने हो भने एलोहिम परमेश्वरलाई एक व्यक्ति रूपमा अभिव्यक्त गरिनु खासै विरोधाभास कुरा होइन । एलोहिम परमेश्वरको विषयमा अझ स्पष्टसँग बुझ्नको निम्ति हामीले पहिला, परमेश्वरको स्वरूपमा सृष्टि भएका आदम र हव्वाको बारेमा हेर्नुपर्छ । निश्चय नै आदम र हव्वा दुई फरक मानिस हुन्, तर बाइबलमा उनीहरूलाई एउटै मानिस भनेर व्यक्त गरिएको छ ।
एक जना मानिसद्वारा संसारमा पाप आयो, … आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् । … यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गऱ्यो भनेता … रोम ५:१२-१५
यहाँ ‘एक जना मानिसको अपराध’ले आदमको पापलाई जनाउँछ । तर वास्तवमा पहिला पाप गर्नेचाहिँ आदम थिएनन्, तर हव्वा थिइन् । त्यसैले ‘हव्वा, एक जना स्त्रीको अपराध’ अथवा ‘आदम र हव्वा दुई जना मानिसको अपराध’ भनेर लेखिनुपर्नेथियो । तर बाइबलमा चाहिँ, आदम एक जना मानिसको अपराध भनेर लेखिएको छ । यो नै, आदम र हव्वा दुई जना मानिसचाहिँ वास्तवमा एउटै शरीर हुन् भन्ने अर्थ हो ।
जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो । मानिसले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो । तिनलाई स्त्री भनिनेछ । किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् ।” यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन् । उत २:२२-२४
परमेश्वरको स्वरूपमा सृष्टि भएका आदम र हव्वा यस्ता थिए भने तिनीहरूको वास्तविकता हुनुभएका परमेश्वर पनि यस्तै हुनुपर्छ । परमेश्वर पनि पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना परमेश्वर हुनुभए तापनि उहाँहरूलाई समग्रमा एउटै परमेश्वर भन्न सकिन्छ । बाइबलमा आदम र हव्वा दुई जनाले सँगै गरेका पापलाई आदम एक जनाले गरेको पाप भनेर लेखिएजस्तै, पिता परमेश्वर र माता परमेश्वरले सँगै गर्नुभएको कार्यलाई पिता परमेश्वर एक जनाले गर्नुभएको कार्य भन्न सकिन्छ ।
परमेश्वरलाई चिनेर ग्रहण गर्नेहरूले पवित्र आत्मा र जीवनको पानीको आशिष् पाउनेछन् (होशे ६:३; यूह ४:१०), तर परमेश्वरलाई नचिन्नेहरूले मुक्ति पाउनेछैनन् भनेर बाइबलमा लेखिएको छ (२ थेस १:८; होशे ४:१, ६) । बाइबलले गवाही दिएको एलोहिम अर्थात् पिता परमेश्वर र माता परमेश्वरलाई सही तरिकाले चिनेर ग्रहण गरेमा जीवनको पानीको आशिष् पाउन सकिन्छ (प्रका २२:१७) ।