
विगत २० वर्षदेखि हरेक आइतबार आफ्नो परिवारसँगै मण्डली जाने गरेको देखेर, मानिसहरूले मलाई ‘ख्रीष्टियान धर्ममा लागेको असल मानिस’ भन्ने गर्थें । मैले येशूज्यूलाई विश्वास गरें भने उहाँले मलाई सही बाटोमा डोऱ्याउनुहुनेछ भन्ने शिक्षा पाएको हुनाले ‘ममा परमेश्वरप्रति गहिरो विश्वास छ, र ममा बाइबलीय ज्ञान पनि धेरै छ’ भनी म ढुक्क थिएँ ।
अमेरिकाको सिकागोमा इन्टर्नसिपका लागि सरेपछि मैले परमेश्वरको मण्डलीको विषयमा जान्ने मौका पाएँ । घर फर्कंदैगर्दा, परमेश्वरको मण्डलीका एक जना सदस्यसित मेरो भेट भयो । मैले उहाँलाई आफू पनि ख्रीष्टियान नै रहेको कुरा बताउँदा उहाँले मलाई “दाऊदको मूल र परमेश्वरको छापको बारेमा सुन्नुभएको छ ?” भनेर सोध्नुभयो । जीवनभर मण्डली धाएको भए पनि ती विषयमा अघि कहिल्यै नसुनेको हुनाले म ती विषयमा जान्न उत्सुक भएँ । हामीले फेरि भेट्ने वाचा गऱ्यौं र उहाँले मलाई बाइबल पढाउन थाल्नुभयो ।
परमेश्वरको मण्डलीमा बाइबल अध्ययन गर्दा म रिफ्रेस भएँ । लामो समयसम्म तिर्खाएपछि चिसो पानीले प्यास मेटिएको जस्तो महसुस भयो । मैले शबाथ-दिन र निस्तार-चाड, लगायत अन्य थुप्रै अगमवाणी र तिनका पूर्णताबारे स्पष्टसँग बुझें, तर माता परमेश्वरसँग सम्बन्धित विषयलाई भने झट्ट स्वीकारिहाल्न गाह्रो भयो । ‘सबैका बुबा र आमा हुन्छन् । पिता परमेश्वर हुनुहुन्छ भने माता परमेश्वर पनि अवश्य हुनुपर्छ’ भनेर एक ताका त्यस्तो सोचाइ पनि आएको थियो । तरै पनि ‘यदि साँच्चै नै माता परमेश्वर अस्तित्वमा हुनुहुन्थ्यो भने किन मलाई उहाँको बारेमा अघि कहिल्यै थाहा भएन ?’ भन्ने खालको शङ्काले मेरो मनलाई घरीघरी पिरोलिरहन्थ्यो ।
बाइबलका वचनहरू अध्ययन गर्दैजाँदा, माताको अस्तित्व हुनैपर्छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त भएँ । बाइबलद्वारा थाहा भयो, कि अब्राहामको उत्तराधिकारीको छनोट प्रक्रियाचाहिँ परमेश्वरको उत्तराधिकारीको छनोट प्रक्रिया रहेछ, अनि इसहाकचाहिँ स्वतन्त्र स्त्री साराको सन्तान भएकै कारण तिनले अब्राहामको सम्पत्तिको उत्तराधिकार पाउन सकेजस्तै, माता परमेश्वरका सन्तानहरूले मात्र स्वर्गको उत्तराधिकार पाउन सक्ने रहेछन् । सत्यताचाहिँ काँचजत्तिकै छर्लङ्ग थियो । माता परमेश्वरको रहस्य अहिलेसम्म प्रकट नगरिनुको खास कारण, स्वर्गीय विवाह-भोजको दृष्टान्तमा पनि लुकाएर राखिएको रहेछ ।
आन साङ होङज्यूको बारेमा पहिलो पटक सुन्दा म आश्चर्यचकित भएँ । हुन त मैले पहिलाको मण्डलीमा, ख्रीष्टको दोस्रो आगमनको बारेमा थोरै सुनेको त थिएँ, तर उहाँ यस युगमा आइसक्नुभयो भन्ने कुरा मैले कल्पना पनि गरेको थिइनँ । बाइबल जति अध्ययन गर्दैगयो, दोस्रो आगमनका ख्रीष्टले पूरा गर्नुपर्ने बाइबलका अगमवाणीहरू झन्-झन् थाहा हुँदैगयो, र ती सबै अगमवाणीहरू आन साङ होङज्यूमा पूरा भएको देखेर म तीन छक परें ।

परमेश्वर ‘शरीरमा’ फेरि आउनुभएको कुरा मलाई सुरुमै पूर्ण विश्वास गर्न अलि गाह्रो परेको थियो । तापनि म निरन्तर परमेश्वरको मण्डलीमा जानुको कारणचाहिँ त्यहाँ पालन गरिने शिक्षाहरू सबै बाइबलमा आधारित सत्यता भएकोले गर्दा हो । मैले सुरुदेखि नै आन साङ होङज्यूलाई १००% विश्वास गरेकोले होइन तर बाइबलको अगमवाणीलाई १००% विश्वास गरेकोले अन्ततः आन साङ होङज्यूलाई पूर्ण रूपमा विश्वास गर्न सकें । हरेक चोटि बाइबलको नयाँ अगमवाणीगत विषय अध्ययन गर्दा, कुनै रहस्यमय वा निचोडमा पुऱ्याउने टेलि-चलचित्रको श्रृङ्खला हेरेझैँ लाग्थ्यो । दोस्रो आगमनका ख्रीष्ट आउनुहुने समय र ठाउँबारे गरिएको अगमवाणी पूरा हुनको लागि नै भए पनि परमेश्वर शरीरमा फेरि आउनुपर्छ भन्ने कुरा महसुस गरेपछि बल्ल, आन साङ होङज्यू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त भएँ ।
म परमेश्वरको मण्डली जान थालेको कुरा थाहा पाएपछि वरपरका धेरै मानिसहरूले विरोध जनाए । किनभने तिनीहरूले ख्रीष्टको दोस्रो आगमनचाहिँ सीधै इन्साफको दिनमा हुनेछ भन्ने अडिग सोचाइ लिएका थिए । यस युगमा परमेश्वर फेरि मानिस भई आउनुहुनेछ भन्ने कुरा तिनीहरूले कहिल्यै सुनेका थिएनन् । तिनीहरूले मलाई जति धेरै विरोध गरे, त्यति नै मैले बाइबलद्वारा ख्रीष्टलाई अझ राम्ररी चिन्न र बुझ्न सकें । २,००० वर्षअघिका यहूदीहरूले, येशूज्यूलाई विश्वास गरेका सुरुको मण्डलीका प्रेरितहरूलाई विधर्मीको संज्ञा दिए तापनि येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने यथार्थता कहिल्यै परिवर्तन भएन । यो युगमा पनि त्यही कुरा दोहोरिएको छ । अन्ततः बाइबललाई पछ्याउने सत्य मण्डली नै परमेश्वरको मण्डली हो भन्ने कुरा मैले हृदयदेखि महसुस गर्न सकें ।
म परमेश्वरको मण्डलीमा जान थालेको धेरै वर्ष भइसक्यो, र म आज पनि खुशीसाथ विश्वासको जीवन जिइरहेको छु । म पहिलो चोटि परमेश्वरको मण्डलीमा जाँदा त्यहाँ निस्तार-चाडको समयमा खिचिएको सन्तहरूको सामूहिक फोटो देखेर मैले “तपाईंहरूको मण्डलीमा विभिन्न जात-वर्गका धेरै मानिसहरू आउनुहुँदो रहेछ” भनेको थिएँ । परमेश्वरको मण्डलीले सबै जात-वर्गका मानिसहरूलाई स्वागत गर्दछ । पहिले जाने गरेको मण्डलीमा कालो वर्णका जातिहरूको बाहुल्यता धेरै भएकोले मचाहिँ आफूजस्ता गोरा वर्णका सदस्यहरूसँग मात्र प्रायः नजिकिने गर्थें । तर परमेश्वरको मण्डलीमा चाहिँ विभिन्न जात-वर्गका मानिसहरूसँग म सजिलै घुलमिल हुन सकें । सन्तहरूद्वारा मैले विभिन्न संस्कृति, परिकार र भाषा सिक्ने मौका पाएँ, जसले मेरो सांस्कृतिक दृष्टिकोण र सोचाइलाई गहिरो र फराकिलो बनाइदियो । ख्रीष्टको सुसमाचारचाहिँ काला जाति, अथवा गोरा, या मिश्रित जातिका लागि मात्र होइन तर सबैका लागि हो भन्ने कुरा महसुस भयो ।
यदि तपाईंहरूलाई ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्न गाह्रो भइरहेको छ भने पहिला कुन कुरामा आफूलाई शङ्का लागिरहेको छ भन्ने कुरा जाँच गर्नुहोस्, अनि त्यसको ठोस कारण पत्ता लगाउनुहोस् । सायद आफूले माता परमेश्वरको विषयमा अघि कहिल्यै नसुनेकोले पो हो कि ? अथवा परमेश्वरको मण्डलीचाहिँ अन्य मण्डलीभन्दा फरक लागेकोले हो कि ? आफ्नो मनमा उब्जेको प्रश्नलाई गहिरिएर सोच्नुभएर त्यसको उत्तर बाइबलद्वारा खोज्नुभएमा सबै समाधान हुनेछ ।
सुरु-सुरुमा प्रश्नहरू र शङ्का-उपशङ्काहरू उब्जिनु स्वाभाविक हो, तर महत्त्वपूर्ण कुराचाहिँ त्यसलाई समाधान गर्नु हो । यसको एकमात्र समाधान नै बाइबल अध्ययन गर्नु हो । मेरो मनमा पनि सुरु-सुरुमा त अनेक प्रश्न र शङ्काहरू थिए तर मैले बाइबलद्वारा ती सबैको उत्तर पाएँ । तपाईंहरू पनि परमेश्वरको मण्डलीमा आउनुभएर मैलेजस्तै बाइबलका अगमवाणीहरू अध्ययन गर्नुभयो भने तपाईंहरूका सबै चिन्ता र शङ्काहरू हटेर जानेछन् । साथै परमेश्वरलाई महसुस गर्ने सही विश्वास र आत्मविश्वास जाग्नेछ । यसो गर्दै, माता परमेश्वरलाई पक्का विश्वास गरी स्वर्गीय राज्य जाने भन्ने कुरामा ढुक्क हुनुहोस् भन्ने चाहन्छु ।