पिताले एक पटक यसो भन्नुभएको थियो, “सेनाहरू तुरहीको आवाजमा अघि बढ्छन्, र परमेश्वरका सन्तानहरूचाहिँ अगमवाणीको आवाजमा अघि बढ्छन् ।” वर्तमान समयमा संसारले विभिन्न सञ्चारमाध्यम र वातावरणविद्हरू मार्फत थुप्रै चेताउनीमूलक सन्देशहरू पठाइरहेको छ । यस्तो समयमा हामीले “यस्ता कुराहरू हुनेछन्” भन्नुहुने परमेश्वरको अगमवाणीमा कान लगाएर ‘कसो गर्नुपर्छ ?’ भनी सोच्नुपर्छ ।
बाइबलमा, जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन् भन्ने वचन दिइएको छ (मत्ती २४:७-८) । त्यो अगमवाणी अहिले पूरा भइरहेको देख्दा, अब हामीले गर्नुपर्ने काम भनेको नै लगनशीलतापूर्वक बाँकी रहेका स्वर्गीय परिवारका सदस्यहरूलाई खोजेर पश्चात्तापमा डोऱ्याउनु हो जस्तो लाग्छ । यशैया अगमक्तामार्फत, परमेश्वरले “हेर परमप्रभुले पृथ्वीलाई उजाड गर्नुहुनेछ । उहाँले त्यसलाई विनाश पारेर त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पार्नुहुनेछ ।” भन्नुभयो र त्यसो हुनुको कारणचाहिँ तिनीहरूले सदासर्वदाको करार तोडेकाले गर्दा हो भनेर भन्नुभयो (यशै २४:१-५) । ती दयालाग्दा आत्माहरूलाई बचाउने एकमात्र उपाय भनेको नै अनन्त करार, नयाँ करार हो । तिनीहरूलाई यत्तिकै नछोडीकन तिनीहरूलाई चाँडै सियोनमा डोऱ्याउने कार्य नै अहिले हामीले गर्नुपर्ने कार्य हो (यर ४:५-६) ।
यदि पहरादारले चोर आइरहेको देख्दादेख्दै पनि तुरही फुकेन भने के हुन्छ त ? विपत्ति नजिकिँदै गरेको देखेका हामीहरूचाहिँ चेताउनीको तुरही फुक्ने पहरादारहरू हौं । हामीले हाम्रा छिमेकीहरूलाई सुरक्षित स्थान सियोनमा आउन भन्नुपर्छ । मृत्युको संघारमा रहेका पापी हामीहरूलाई परमेश्वरले आफ्नो देह र रगतद्वारा बचाउनुभयो । उहाँले क्रूसको त्यो पीडा सहनुभएर आफैलाई बलिदान गर्नुभई हामीलाई बचाउनुभयो । प्रेम हुनुभएका परमेश्वरको उदाहरणलाई पछ्याउँदै हामीले पनि दयालाग्दा आत्माहरूलाई सियोनमा डोऱ्याएर पश्चात्तापमा डोऱ्याउनुपर्छ । “सुरक्षित स्थान सियोनमा आओ” भनेर चाँडो सुनाऔं । पहिल्यै सुनाइसकेको भए तापनि, मानिसहरू प्रायः एक पटक सुनेको कुरा बिर्सने गर्छन् । त्यसैले तिनीहरूलाई बारम्बार व्याकुलतापूर्वक र सहृदयले सुनाउनेहरूले दाना फल फलाउँछन् ।
प्रेम छ भने मात्र हामीले त्यो खबर सुनाउन सक्छौं, प्रेम छैन भने मुखबाट एक शब्द पनि निस्किँदैन । असल सामरीले यात्राको क्रममा, मर्न लागेको मानिसलाई बचाएको कारण नै तिनमा ती मानिसप्रतिको दयाको भाव भएकोले गर्दा थियो । पूजाहारी र लेवीचाहिँ त्यस मानिसलाई देखेर पनि त्यहाँबाट तर्केर गए । यो नै प्रेम नभएको मानिस हो । तर त्यही बाटो भएर गएका सामरीले जब त्यस मानिसलाई रगतमा लतपतिएको देखे तिनको मनमा त्यस मानिसप्रति दया जागेर आयो । असल मानिसले अरूको पीडालाई पनि आफ्नै पीडाजस्तै ठान्छ । त्यसैले तिनले त्यस मानिसलाई आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा लगे र त्यो मानिस निको नहोउञ्जेल तिनले घाउहरूमा पट्टी बाँधिदिएर त्यसको हेरचाह गरे (लूका १०:२५-३७) । हामीहरू सबै जना ती असल सामरीजस्तै दयालु व्यक्तिहरू बनौं ।
बाइबलमा, हामीलाई जागा बस भनिएकोले (मर्क १३:३३-३७) नयाँ करारका कामदार भएका हामीले आफूले आफूलाई सुसमाचार सुनाउने कार्यमा अझ बढी समर्पित गर्नुपर्छ । “होस्, भोलि गर्छु” भनेर भन्नुको सट्टा, बरु आजै लगनशीलतापूर्वक कार्य गरौं (हितो २७:१) । विपत्तिको यो युगमा, निस्तार-चाडचाहिँ एउटा औषधि हो । पिताले पनि “विपत्तिहरू धेरै झर्दा निस्तार-चाड झन् धेरै सुनाउनू” भन्ने वचन दिनुभएको छ । हामीबाट विपत्ति पार गराउने एकमात्र तरिका भनेको नै परमेश्वरको देह र रगत हो । परमेश्वरको देह र रगत ग्रहण गर्न सकिने निस्तार-चाड मान्न लगाएर धेरै मानिहरूलाई बचाऔं । धेरै मानिसहरूलाई परमेश्वरकहाँ डोऱ्याउनेहरूको नाउँ स्वर्ग-राज्यमा ताराहरूजस्तै चम्कनेछन् भनेर अभिलेख गरिएको छ (दानि १२:३) ।
हामीले आफूले आफूलाई, परमेश्वरमाथि विश्वास गर्न र सुसमाचार सुनाउनदेखि बाधा पुऱ्याउने वा आफ्नो विश्वासलाई नै हल्लाउने स्थानमा राख्नुहुँदैन । परमेश्वरले आदमलाई असल र खराबको ज्ञान दिने रूखको फल नखानू भनेर आज्ञा गर्नुभएको थियो, तर तिनमा जिज्ञासा जागेर तिनले अन्ततः त्यस रूखको नजिक गई निषेध गरिएको फल खाए । नजिक गयो भने देखिन्छ र देखेपछि छलमा पर्न पुगिन्छ । त्यसैले एक चोटि पनि नजानु र एक चोटि पनि नहेर्नु नै बेस हुन्छ । परमेश्वरले, उहाँको वचन राम्ररी पालन गर्ने, आफूलाई तयार राख्ने र ठीक-ठीक समयमा भोजन खुवाउनेहरूलाई स्वर्ग-राज्य उत्तराधिकारस्वरूप सुम्पनुहुनेछ (मत्ती २४:३७-४७) । मानिसहरूलाई, विपत्तिबाट बाँच्ने एकमात्र तरिका निस्तार-चाडको विषयमा लगनशीलतापूर्वक सुनाएर मान्न लगाउनु नै त्यसको लागि तयारी गर्ने एक भाग हो ।
हामी, अरू कसैको नभएर हाम्रा स्वर्गीय परिवारका सदस्यहरूको खोजी गरिरहेका छौं । बुबा-आमाले, आफ्नो सन्तान कतै हरायो भने भोक र थकान सबै बिर्सेर उसको नाम बोलाउँदै व्यग्रतापूर्वक उसको खोजी गर्नुहुन्छ । आधा अधुरो मन लिएर खोज्ने मानिस कोही पनि हुँदैन । अनि आफ्नो हराएको सन्तान भेट्टाएपछिको उहाँहरूको त्यो खुशी शब्दद्वारा वर्णन नै गर्न सकिँदैन । हामीले पनि त्यस्तै मन लिएर सुसमाचार सुनाउनुपर्छ । विपत्ति झर्नुअगावै एक आत्मालाई भए पनि मुक्तिको मार्गमा डोऱ्याऔं । अनि धेरै मानिसहरूलाई पश्चात्ताप गराएर हातमा हात समाई सबै सँगै स्वर्गमा जाऔं ।